प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले सय दिन पूरा गरेपछि विरोधका कार्यक्रम गर्ने बताएका छन्।
जुम्लामा सोमबार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले अहिले सरकारको हनिमुन पिरियड चलिरहेकाले खबरदारी वक्तव्य मात्रै दिएको र एक सय दिन पूरा गरेपछि विरोधका कार्यक्रम गर्ने बताएका हुन्।
‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौं। आज मात्रै हामी विपक्ष दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिंदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरू हुन्छन्,’ उनले भने।
यस्तै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा लिएर भ्रष्टाचारीको संरक्षकको रूपमा काम गरेको आरोप लगाएका छन्। आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको प्रचण्डको भनाइ छ।
‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारीलाई प्रोत्साहन गर्छ। सरकार गठनको तीन महिना पुग्दैछ, तपाइहरूले सबै देखिरहनुभएको छ,’ उनले भने।
प्रचण्डले आफू नेतृत्वको सरकारले सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको र ती व्यक्तिविरूद्ध अहिले पनि मुद्दा चलिरहेको बताए।
'तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्,’ उनले भने।