राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले आइतबार पोखरामा आफ्नै पार्टीका सदस्यलाई कुटपिट गरी घाइते बनाएका छन्।
आफ्नै साथीहरूबाट कुटाइ खाएका रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेल हुन्।
उनी अहिले घरमै आराम गरिरहेका छन्।
उनको ओठमा दुइटा टाँका लगाइएको छ। ओठ सुन्निएको छ। आइतबार दिउँसो आन्दोलनमा जाँदा खाएको कुटाइले अहिले पनि शरीर दुखिरहेको पौडेल बताउँछन्।
‘मैले त आफ्नै साथीहरूबाट कुटाइ खाएँ। हिजोको आन्दोलनमा मलाई ठूलो चोट लागेको ओठमा हो। धेरै नै रगत बगेछ,’ उनले सेतोपाटीलाई भने, ‘अन्त पनि दुखेको छ, घरमै आराम गरिरहेको छु।’
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै पक्राउ परेका रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने समय माग्न आइतबार अदालत लगिँदै थियो।
कास्की प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको पोखराको शहिदचोकमा रास्वपा कार्यकर्ता नाराबाजी गरिरहेका थिए। प्रहरीले निषेधित क्षेत्र छाड्न बारम्बार आग्रह गरिरहेको थियो।
प्रहरीको आग्रह रास्वपा कार्यकर्ताले टेरेनन्। प्रहरीले उनीहरूलाई निषेधित क्षेत्रबाट हटाउन सकेन। आफ्नै नेताहरूले माइकिङमार्फत् ३० मिटरमाथि गएर आन्दोलन गरौं भन्दा पनि कार्यकर्ताले सुनेनन्। हुलहुज्जत र प्रहरीसँग धकेलाधकेल भएपछि प्रहरीले पानीको फोहोरा हान्न थाल्यो।
त्यहीबेला आन्दोलनमा रविका पक्षबाट नाराबाजी गरिरहेका पौडेलले मिनरल वाटरको बोतल प्रहरी भएतिर फ्याँके। प्रहरीमाथि आक्रमण गरेको भनेर उल्टै रास्वपाका कार्यकर्ताले उनलाई निर्घात कुट्न थाले।
आफ्ना कार्यकर्ता होइन घुसपैठिया हो भनेर उनलाई रास्वपाका आफ्नै साथीहरूले कुटेका हुन्। शान्तिपूर्ण आन्दोलन मात्र गर्ने नीतिविरूद्ध उनले प्रहरीलाई पानीको बोतलले प्रहार गरेपछि अरू कार्यकर्ताले उनलाई कुटेका हुन्।
‘मलाई बिहानैदेखि रिस उठेको थियो। प्रहरीले आन्दोलनमा जान चोकचोकमा रोकेको थियो,’ उनले भने, ‘मैले पानीको बोतलले प्रहरीलाई हानेर गल्ती गरें, मान्छे नचिनिकन पार्टीकै साथीहरूले मलाई कुटे।’
उनीमाथि भिडमा कुटपिट भइरहँदा प्रहरी छुट्याउन पनि गएन। मुकदर्शक बनिरहे। उनलाई कुटपिट गर्ने कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन्। उनको स्वास्थ्यबारे पनि बुझेका छैनन्।
कुटपिट हुन थालेपछि पौडेल भुइँमा ढले। उनको ओठबाट रगत बगिरहेको थियो। रास्वपाकै केही कार्यकर्ता उनको उद्धारमा लागे। बल्लतल्ल उनलाई भिडबाट निकालेर नजिकै जिल्ला प्रशासन कार्यालय गेटभित्र लगे।
‘मलाई केही साथीहरूले उद्धार गरेर लगिरहँदा पनि पछाडिबाट हाम्रै पार्टीका अरू साथीहरूले लात्ता र मुक्का हानिरहेका थिए। प्रशासन कार्यालयभित्र छिरेपछि मात्र कुटपिट बन्द भयो,’ उनले भने, ‘मेरो ओठबाट रगत आइरहेको थियो। मलाई सिडिओ कार्यालयभित्र राखेर मात्र भएन, उपचार पनि गर्नुपर्यो नि,’ उनले सेतोपाटीसँग भने, ‘मेरो उपचारमा पार्टीका साथीहरू र प्रहरी कसैले चासो लिनुभएन। अनि म आफै रगत बगाउँदै उपचार गर्न गएँ।’
सिडिओ कार्यालयभित्र बस्दा पनि रगत बग्न नछाडेपछि उनी आफै उपचार गर्न गएका थिए। उनले स्कुटर पोखराकै मुस्ताङचोक राखेका थिए। त्यहाँसम्म एक्लै हिँडेर गए। बुद्धचोकभित्र एक अस्पताल पुगेर उपचार गरे। ओठमा दुइटा टाँका लगाए। अनि घर आए।
साँझपख रास्वपा केही कार्यकर्ताले उनलाई फोन गरेका थिए। उनले आफ्नो स्वास्थ्य अवस्था ठिकै छ भनेर जबाफ दिए। बाँकी केही भनेनन् ।
बिहान उनले केही साथीहरूलाई फोन गरेर आफूले कुटाइ खाएको र पार्टीका साथीहरूले वास्ता नगरेको गुनासो पोखे। त्यसपछि उनलाई भेट्न रास्वपा उपसभापति एवं सांसद स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ, सांसद तोसिमा कार्की लगायत उनको घर पुगे।
‘बिहान अब मैले के गरौं भनेर साथीहरूलाई फोन गरेपछि सांसदहरू मेरो घर आउनुभयो। मान्छे चिन्न हातमा केही धागो बाँध्नुपर्छ कि भनेर कुरा राखे। मैले केही बाँध्नुपर्दैन, घुसपैठ नै रहेछ भने पनि त कुट्न त भएन नि भनेर सल्लाह दिएँ,’ उनले भने।
कुटपिट जसले जसलाई गरे पनि गलत हुने कुरा आफ्ना नेताहरूलाई सम्झाएको उनले बताए।
आफ्नै पार्टी कार्यकर्ताबाट कुटाइ खाएका पौडेल अब रवि लामिछानेलाई छुटाउन माग राख्दै भएको आन्दोलनमा नजाने निर्णयमा पुगेका छन्। पार्टी सभापतिलाई सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरामा दिनहुँ प्रदर्शन गरिरहेको छ।
कुटाइ खाए पनि तत्काल रास्वपा नछाड्ने उनले बताएका छन्।
‘म अब यो आन्दोलनमा त जाँदिन होला तर पार्टीमा भने सक्रिय भइरहन्छु,’ उनले भने।
रवि लामिछाने टेलिभिजनमा कार्यरत हुँदा उनको कार्यक्रम पौडेलले निरन्तर हेर्थे। रविको कार्यक्रम देखेर नै पार्टीमा आवद्ध भएको उनले बताए।
पौडेलले पहिलो पटक रवि लामिछानेलाई कोरियामा भेटेका थिए। रवि कोरिया आउने भएपछि उनको स्वागत गर्न पौडेल एयरपोर्ट पुगेका थिए।
सभापति लामिछानेले अहिले आफूलाई बिर्सिएको हुन सक्ने उनको आकलन छ।
‘रवि दाइले मलाई बिर्सिनुभयो होला। दीपक बोहोराले चिन्नुहुन्छ कि,’ उनले भने।
लामिछानेलाई कोरियामा भेटेको केही समयपछि नेपाल आएर उनले रास्वपा पार्टी सदस्यता लिए। रास्वपामा उनी कास्कीको मादी गाउँपालिका संयोजक छन्। कोरियामा ५ वर्ष बसेर फर्केका पौडेलले २०८० जेठदेखि रास्वपामा आबद्ध थिए। उनले पार्टी सदस्यता नम्बर १५३८४ रहेको पनि खुलाए।
पोखराको काहुँखोलामा इलेक्ट्रिक्स पसल राखेका पौडेलले टेलिभिजन, फ्रिज, मोबाइल लगायतका सामग्री विक्री वितरण गर्छन्। बिग्रिएका इलेक्ट्रिक्स सामग्री पनि बनाउँछन्।
आइतबारको आन्दोलनमा रास्वपा कार्यकर्ताले आफ्नै पार्टी कार्यकर्ता पौडेललाई मात्र होइन, पत्रकार लगायत अरूलाई पनि दुर्व्यवहार र कुटपिट गरेका छन्। सहकारी पीडितका तर्फबाट आन्दोलनमा गएका एक युवालाई उनीहरूले लखेटी लखेटी कुटेका थिए।
आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार उनीहरूको निशानामा परे।
प्रदर्शनकारीले एपी वन टेलिभिजनका पत्रकार सागरराज तिमिल्सिना, प्राइम टेलिभिजन प्रत्यक्ष प्रशासरणमा जुटेकी अनिता घिमिरे, निरज तामाङ र क्यामेरा पर्सन अर्जुन भण्डारी, पोखराकै सुनगाभा डटकमका पत्रकार सुशान्त गाहा मगरमाथि आक्रमण गरेको नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले बताए।