राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले कास्की हिरासतमा रहेका रवि लामिछानेको बयान लम्ब्याएर दुःख दिन खोजिएको बताएका छन्।
बिहीबार कास्कीको पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले १२५ घन्टा हिरासतमा राख्दा जम्मा ४–५ घन्टा बयान लिएको भन्दै सरकारको नियत नै सभापति लामिछानेप्रति प्रतिशोध साध्ने देखिएको बताएका हुन्।
‘रवि लामिछानेलाई राजनीतिक प्रतिशोध नै साँधिएको थियो भन्ने हाम्रो दाबी थियो। जनताका बीचमा त्यो कुरा स्थापित गराउनु थियो। हिजो साँझबाट हाम्रो दाबीको पुष्ट्याइँ भएको छ। एउटै मात्र आधार, उहाँलाई शुक्रबार दिउँसो पक्राउ गरियो। लामो सडक यात्रा गरेर उहाँलाई राति एक बजे ल्याइयो। हिजो साँझ १० बजेसम्मको हिसाब गर्दा १२५ घन्टा उहाँलाई हिरासतमा राखिएको रहेछ। १२५ घन्टामा ४–५ घन्टामात्रै बयान लिइएको छ। के उहाँलाई यहाँ दालभात खुवाउन ल्याएको हो र! तयारी थिएन पहिला? के सोध्ने भन्ने थाहा छैन?,’ उनले भने।
सरकारले पहिला थुन्ने, अनि सोध्न थाल्ने शैली अपनाएको बताए। सभापति लामिछानेको मानमर्दन र अपमानित गर्ने शैलीमा सरकार प्रस्तुत भएको पनि उनको भनाइ छ।
‘यसको एउटै मकसद केहो भने तेरो सेखी झार्दिन्छु, देखाइदिन्छु, भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ। यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिन्छ। राजनीतिक प्रतिशोध नै साँधेको हो भन्ने रास्वपाको दाबीलाई हिजो पछिल्लो वस्तुस्थितिले पुष्टि गरेको छ,’ उनले भने।
उनले बिहीबार न्यायिक प्रक्रियालाई सघाउने गरी नै सभ्य र सौम्य प्रदर्शन हुने बताए। पछिल्ला केही दिनमा घुसपैठ भएको बताउँदै त्यसलाई पार्टीका नेता–कार्यकर्ताले बेलैमा पहिचान गरेर परिस्थिति बिग्रन नदिएको बताए।
उनले प्रदर्शन रचनात्मक, सिर्जनात्मक तवरले भइरहेको दाबी पनि गरेका छन्। सहकारी ठगी र संगठित अपराध कसुरमा सभापति लामिछाने पक्राउ परेका थिए। लामिछानेलाई आज दोस्रो पटक अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ।