परराष्ट्र मन्त्री आरजु राणा देउवाले सरकारको १०० दिन सफलतापूर्वक सम्पन्न भएको बताएकी छन्।
आफूले सम्हालेको मन्त्रालयमा पनि लक्ष्यअनुसार नै काम सम्पन्न भएको उनले बताइन्।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै परराष्ट्र मन्त्री राणाले भनिन्, ‘सय दिनको कार्यतालिका मेरो शतप्रतिशत कार्यान्वयन भएको रहेछ। एउटा टेण्डर कल गर्न बाँकी छ तर त्यो पनि होमवर्क तयार भइसकेको छ। हाम्रो जे जे टार्गेट थियो ति सबै पूरा भएका छन्।’
नेपालले दक्षिण र उत्तरतिर कतै पनि बढी झुकाव नराख्ने पनि उनले उल्लेख गरिन्।
‘हाम्रो विदेश नीति यही सत्यमा आधारित हुनुपर्छ। हामी स्वाधिन राष्ट्र भएर बाँचिरहेको देश हो। हाम्रो सम्बन्धलाई परराष्ट्र नीतिले लिड गर्छ। हाम्रो नीतिले नेपालीले दुःख पाउनु हुँदैन,’ उनले भनिन्, ‘जहाँ-जहाँ बस्छन् ति नेपालीहरुले त्यहाँ पनि अधिकार पाउनुपर्छ भन्ने मान्यता हाम्रो छ।’
उनले भारत भ्रमण भए पनि चीन भ्रमण भने हुन नसकेको बताइन्।
‘मित्रराष्ट्रहरूसँग राम्रो दोस्ती बनाउने र हाम्रो नन एलाइण्ड हाम्रो नीति छ। हो मेरो विदेश भ्रमण चीनमा भएको छैन तर भारतका प्रधानमन्त्रीसँगको भेटपछि चीनको परराष्ट्र मन्त्रीसँग भेट गरेका छौं,’ उनले भनिन्, ‘परेको समयमा दुवै देशले हामीलाई उत्तिकै सहयोग गरेको छ। दुई वटै देशसँग सम्बन्ध राम्रो छ। चीनले बोलायो भने म चीन भ्रमण पनि जान्छु, नजाने भन्ने कुरै हुँदैन।’
भिडिओ: