प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)ले शनिबार काठमाडौंमा खबरदारी सभा गर्दैछ।
पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो।
सरकारको गलत कदमको विरोध र गर्नुपर्ने कामको ध्यानाकर्षण गराउन माओवादी केन्द्रले खबरदारी सभा गर्न लागेको हो। माओवादी केन्द्रको बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले शनिबार बिहान ११ बजे सुन्धाराबाट जुलुस निकालिने जानकारी दिए।
उनकाअनुसार जुलुसको नेतृत्व केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्नेछन्।
'अध्यक्षसहित सबै पदाधिकारी सहभागी हुने जुलुस सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ,' उनले भने।
सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।
खबरदारी सभामा सहभागी हुन सबै कमिटीका पदाधिकारी नेता तथा कार्यकर्ताहरूलाई माओवादीले यसअघि नै आह्वान गरिसकेको छ।
विपद् व्यवस्थापनमा सरकार असंवेदनशील, गैरजिम्मेवार र योजनाविहिन देखिएको माओवादीको आरोप छ।
साथै विपदमा बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार चुकेको पनि माओवादीको भनाइ छ।
सुशासनको अभियानलाई कमजोर बनाउन षड्यन्त्र भइरहेको पनि माओवादीले जनाएको छ। यिनै एजेन्डासहित माओवादीले सरकारलाई खबरदारी गर्न लागेको हो।