राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक प्रदर्शनसँगै आन्दोलनलाई नागरिक समाजतर्फ पनि विस्तार गर्न लागेको छ।
पार्टी कार्यालय चःमतिमा शनिबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेलाई प्रतिशोध साँध्ने नियतले हिरासतमा लिएको र बयान लम्ब्याइरहेको भन्दै विभिन्न राजनीतिक दल र नागरिक समाजसँग पनि संवाद, छलफल र अन्तरक्रिया गर्ने तयारी गर्ने निर्णय गरेको हो।
सहकारी ठगी र संगठित अपराध कसुरमा सभापति लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरी प्रहरीले पोखरा लगेको थियो। त्यसबेलादेखि नै रास्वपाले सडक प्रदर्शन गर्दै आएको छ।
रास्वपा केन्द्रीय समिति बैठकले राजीतिक दलहरू र नागरिक समाजसँग छलफल गर्न पार्टी उपसभापति स्वर्णिम वाग्लेलाई जिम्मा दिएको छ।
बैठकले सडक प्रदर्शनलगायत आन्दोलनको अगुवाइ उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले गर्ने निर्णय गरेको थियो। अर्यालको नेतृत्वमा सातै प्रदेशका सभापति रहने गरी आन्दोलन सञ्चालन मूल समिति बनाएको थियो।
योसँगै अब राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सम्पादकहरूसँग समेत संवाद अघि बढाउने तयारी रहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सेतोपाटीलाई जानकारी दिए।
‘पार्टी सभापतिलाई राजनीतिक प्रतिशोध साँधेर हिरासतमा लिइएको छ। बयान लम्ब्याइएको छ। सत्तामा रहेका दलहरूले हिजो रवि लामिछानेले आफैले सहकारी ठगी गरेको भन्दै आएका थिए। रवि लामिछाने नै संलग्न छन्। उनैले पैसा ल्याएका हुन्। उनकै नाममा ऋण खडा छ भन्ने उनीहरूको तर्क थियो। आज त्यो भन्न छाडेर गोर्खा मिडियातिर पुगेका छन्। यसरी प्रतिशोधपूर्ण व्यवहार गरिएको बारे हामी नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, सम्पादकहरूसँग छलफल गर्नेछौं,’ उनले भने।
उनले नागरिक समाज, बुद्धिजीवी र परिवर्तनका मुद्दा बोकेका राजनीतिक दलसँग निरन्तर संवाद, अन्तरक्रिया भइरहेको पनि बताए।
कात्तिक २ गते पक्राउ परेका लामिछानलाई गत बिहीबार (कात्तिक ८ गते) दोस्रो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
उनीमाथि सहकारीको बचत ठगी, संगठित अपराधको कसुरमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको हो।
गत बिहीबारसम्म रास्वपाले पोखराकेन्द्रित आन्दोलन र जनप्रदर्शन गर्दै आएको थियो। अब काठमाडौंकेन्द्रित प्रदर्शन गर्ने पार्टीको तयारी छ। आइतबार पनि उनीहरूले काठमाडौंको माइतीघरमण्डलमा प्रदर्शन गर्दैछन्।
शनिबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलनलाई निरन्तरता दिनेसँगै विस्तारित गर्ने तयारी गरेको छ। सभापति लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको समेत मुद्दा चलाउने तयारी भएको कार्यवाहक महामन्त्री बुर्लाकोटी बताउँछन्।
सभापति लामिछानेमाथिको अनुसन्धान लम्बिने देखेर पनि रास्वपाले सिके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत साना दलसँग छलफल गर्ने योजना बनाएको पार्टीका नेता बताउँछन्।
‘हामी विपक्षी दलहरूसँग पनि छलफल गर्छौं। उहाँहरूका धारणा बुझ्छौं,’ बुर्लाकोटीले भने। बुर्लाकोटीले सत्तापक्षका दलसँग संवादको सम्भावना नरहेको बताए। सत्तापक्ष छलफलको मनःस्थितिमा नरहेको बताए।,
‘उहाँहरू छलफलका लागि कहाँ तयार हुनुहुन्छ? उहाँहरू त रवि लामिछानेमाथि प्रतिशोध साँध्न नै उद्यत् हुनुहुन्छ। उहाँहरूको तर्क, चिन्तन छिमेकीको कुखुरा मोटो भयो, हाम्रै बिस्कुन खाएर हो भन्नेजस्तो छ। उहाँहरूले कसरी हामीसँग सम्वाद गर्नुहुन्छ,’ उनले भने।
तपाईंहरूले पहल गर्नुहोला नि भन्ने जिज्ञासामा उनले सत्तापक्षसँगको छलफलको सम्भावना नरहेको बताए।