अक्टोबर १ मा इरानले गरेको हमलाको जबाफ इसराइलले शनिबार दिएको छ।
इरानले इसराइलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो। यसको बदलामा इसराइलले शनिबार बिहानै इसराइल र इरानको बीचमा रहेको सिरिया र इराकमा इरानद्वारा सञ्चालित समूहहरूमाथि पनि हमला गरेको छ।
इसराइलले सय वटाभन्दा बढी लडाकु विमान, जासुसी विमान, हावामै तेल भर्ने विमान र ड्रोनहरू प्रयोग गरी इरान, सिरिया र इराकका करिब बीस ठाउँमा हमला गरेको छ। खासगरी मिसाइल बनाउने कारखाना, एयर डिफेन्स सिस्टम लगायत सैनिक इलाकाहरूमा प्रहार गरेको छ।
इसराइललाई इरानमा आक्रमण गर्न जोर्डनले आफ्नो आकाश प्रयोग गर्ने अनुमति दिएको थिएन। त्यसैले ती विमानले जोर्डन छलेर सिरिया हुँदै उडान भरेका थिए। सिरिया र इराकको आकाश प्रयोग गर्नकै लागि त्यहाँ पनि इसराइलले प्रहार गरेको मान्न सकिन्छ।
तेहरान, खुजेस्तान र इस्लाम प्रान्तमा हमला भएको इरानले जनाएको छ। धेरै जसो प्रहार विफल पारेको दाबी गर्दै केही क्षति पुगेको इरानले स्वीकार गरेको छ। चार इरानी सैनिक सहिद भएको पनि जनाएको छ।
इसराइलले भने इरानको आधुनिक एयर डिफेन्स सिस्टम लगभग ध्वस्त पारेको दाबी गरेको छ। इरानी एयर डिफेन्स सिस्टमले भेट्नेभन्दा टाढा, इराकबाटै प्रहार गरिएका व्यालिस्टिक मिसाइलले इरानी डिफेन्स सिस्टम नष्ट भएको इसराइली सुरक्षा स्रोतहरूको हवाला दिँदै द इकोनोमिस्टले लेखेको छ।
इरानको रूस-निर्मित एयर डिफेन्स सिस्टम साँच्चै ध्वस्त भएको हो भने भविष्यमा हमला गर्न इसराइललाई अझ सजिलो हुनेछ।
युक्रेनसँग युद्ध जारी भएकाले रूस आफैलाई एयर डिफेन्स सिस्टम चाहिन्छ। उसले तुरून्तै इरानको डिफेन्स सिस्टमलाई दुरूस्त बनाउन मद्दत गर्न सक्दैन। भविष्यमा इसराइली लडाकु विमानले इरानको अझै भित्र पसेर बिना कुनै रोकतोक प्रहार गर्न सक्ने छन्।
इरानको मिसाइल कारखानाका १२ वटा 'प्लानेटरी मिक्सर' मा पनि इसराइलले प्रहार गरेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। यी जटिल मिक्सर चीनबाट ल्याउनुपर्ने भएकाले फेरि जडान गर्न कम्तीमा एक वर्ष लाग्ने बताइन्छ। त्यतिन्जेलसम्म नयाँ मिसाइल बनाउन नसक्ने भएकाले इरानले आफूसँग बाँकी शक्तिशाली मिसाइल पनि अब जतन गरेर प्रयोग गर्नुपर्ने हुन्छ।
हमला गरेको भोलिपल्टका स्याटलाइट तस्बिरहरू हेर्दा पनि इरानका केही ठाउँका सैन्य संरचनामा क्षति पुगेको देखिन्छ भनेर पश्चिमा मिडियाहरूले लेखेका छन्।
द वाल स्ट्रिट जर्नलका अनुसार सार्वजनिक रूपमा खासै क्षति नभएको दाबी गरे पनि आफ्ना सैन्य संरचनामा इसराइलले अचुक निशाना लगाएर प्रहार गरेको भनेर इरानले अरब राष्ट्रहरूसँग गोप्य रूपमा स्वीकार गरेको छ।
यो हमला गर्नुअघि इसराइलले अमेरिकालाई जानकारी गराएको थियो। अमेरिकाको सुझाव मान्दै आणविक भट्टी र तेल खानी-प्रशोधन केन्द्रहरूमा प्रहार नगरी उसले सैन्य संचरनामा हमला गरेको हो।
अब इरानले इसराइली हमलाको जबाफ दिन्छ कि दिँदैन भन्नेबारे चर्चा गर्नुअघि दुई देश कसरी अहिलेको स्थितिमा आइपुगे भन्ने बुझौं।
सिमाना नजोडिए पनि इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को कुद्स फोर्सले यी विदेशी समूहहरू परिचालन गर्छ।
इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेजिस्टेन्स' भनिन्छ।
इरान आफैले इसराइलमा प्रहार गर्दैन थियो। इसराइलले पनि बेला बेला इरानी आणविक वैज्ञानिकको हत्या गर्ने, ह्याक गरेर आणविक भट्टीहरूमा नोक्सान पुर्याउने र विदेशमा रहेका इरानी सैनिकलाई मार्ने गरे पनि प्रत्यक्ष रूपमा इरानी भूमिमा हमला गर्दैनथ्यो।
यसरी दशकौं देखिको इरान-इसराइलको छाया-युद्धमा इरानले परिचालन गर्ने हमासले गत वर्ष अक्टोबर ७ मा इसराइलमाथि हमला गरे पछि तनाव थपियो।भोलिपल्टैदेखि हिजबुल्लाहले इसराइलमाथि रकेट प्रहार गर्न थाले पछि टकराव झन् बढ्यो।
दुई देशबीच प्रत्यक्ष रूपमा प्रहार गर्ने शृंखलाको विजारोपण भने गत अप्रिल १ मा इसराइलले सिरियाको राजधानी दमास्कसस्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा हमला गरेपछि भएको थियो। उक्त आक्रमणमा कुद्स फोर्सका जनरल मोहम्मद रेजा जाहेदीसहित सात इरानी सैन्य अधिकृत मारिएका थिए।
त्यसको जबाफ दिँदै अप्रिल १३ मा इरानले थुप्रै मिसाइल र ड्रोनहरूबाट पहिलो पटक इसराइली भूमिमाथि आक्रमण गर्यो।
तर करिब ९९ प्रतिशत ड्रोन-मिसाइल अमेरिका, बेलायत, फ्रान्स र छिमेकी जोर्डन लगायतको सहयोगमा खसालेको दाबी इसराइलले गरेको थियो। एउटा सैन्य हवाइ अड्डामा मिसाइलले लागे पनि सामान्य क्षति मात्रै भएको थियो। त्यसबाहेक अन्त कतै केही नोक्सान भएको थिएन।
त्यसको पाँच दिनपछि खासै नोक्सान नहुने गरी इरानमा आक्रमण गरेर इसराइलले सांकेतिक जबाफ मात्रै दियो। त्यो बेला इसराइलले इरानमाथि ठूलो हमला गर्ने योजना बनाएको थियो। तर अमेरिका लगायत देशको दबाबपछि सांकेतिक आक्रमण मात्रै गर्यो। त्यसपछि केही महिना तनाव कम भएको थियो। तर पछिल्लो समय इसराइल थप आक्रामक भएपछि समस्या फेरि बढेको हो।
हमासको राजनीतिक विभागका प्रमुख ६१ वर्षीय इस्माइल हनियेको इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन इरानको राजधानी तेहरान पुगेका बेला जुलाई ३१ मा हत्या भएको थियो। त्यस्तै सेप्टेम्बर २७ मा इसराइलले हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको हत्या गर्यो। यसको बदला भनेर इरानले अक्टोबर १ मा इसराइलमाथि मिसाइल प्रहार गर्यो।
चुप लागेर बस्यो भने, इसराइलले झन् हेप्ने ठानेर इरान जबाफ दिन बाध्य भएको थियो। बदला नलिए हौसिएर इसराइलले इरानभित्रै पनि प्रहार गर्न सक्ने डर थियो। त्यस्तै आफ्नो इसारामा ज्यानको बाजी राखेर जोसँग पनि लड्ने र आफूद्वारा परिचालित हिजबुल्लाहलाई त्यत्रो संकट पर्दा चुप लागेर बस्न नहुने नैतिक दबाब पनि इरानलाई परेको हुन सक्छ। चुप लागेर बस्यो भने, हिजबुल्लाहले आफूले भनेको नमान्ने खतरा पनि इरानलाई थियो। त्यसैले इरानले अप्रिलमा गरेको भन्दा धेरै ठूलो आक्रमण अक्टोबरमा गरेको थियो।
यसका बाबजुद इसराइलमा खासै नोक्सानी भएन। तैपनि इसराइलले अप्रिलको जस्तै सांकेतिक आक्रमण मात्र गरेर बस्न मिल्ने अवस्था थिएन। इसराइलले केही गर्दैन भनेर इरानले फेरि पनि हमला गर्न सक्ने खतरा उसलाई पनि हुन्थ्यो।
अर्कातिर कडा जबाफ दिए युद्धको खतरा थियो। त्यसैले इरानले अब आक्रामक प्रहार गर्नुनपर्ने गरी जबाफ दिन इसराइललाई अमेरिकाले भनिरहेको थियो। आणविक भट्टी र तेलखानीमा प्रहार नगर्न सम्झाइरहेको थियो।
तेलखानीमा आक्रमण गर्न नदिन अमेरिकाको आफ्नै स्वार्थ पनि थियो। किनभने, हमला गरे अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्ने थियो।
अमेरिकाले साउदी अरेबियासँग कुरा गरेर उत्पादन बढाउन भन्न सक्थ्यो। यस्तोमा इरानको तेल खानीमा आक्रमण गरे पनि भाउ धेरै बढ्दैन थियो। तर यस्तो भएमा इरानले साउदी तेल खानीमै आक्रमण गर्ने खतरा भएकाले साउदीले उत्पादन बढाउने सम्भावना कम थियो।
साउदीले उत्पादन नै नबढाए पनि इरानले बदला लिन साउदी र अरू अरब राष्ट्रका तेल खानीमा आक्रमण गर्न सक्थ्यो। यस्तो भए तेलको भाउ धेरै बढ्थ्यो।
तेलको भाउ धेरै बढे अमेरिकी उपभोक्ता र अर्थतन्त्रमा नकारात्मक प्रभाव परिहाल्थ्यो। अनि नोभेम्बर ५ मा हुने निर्वाचनमा हालका राष्ट्रपति जो बाइडेनको दलकी उम्मेदवार कमला ह्यारिस हार्ने सम्भावना बढ्थ्यो। त्यसैले इरानी तेल खानीमा आक्रमण गर्न अमेरिकाले रोकेको हो।
इरानको आणविक भट्टीमै आक्रमण गरे उसले जबाफमा युद्ध नै सुरू गर्ने खतरा रहन्छ। इरान-इसराइल युद्ध भए आफू पनि तानिने भएकाले अमेरिका अहिले इरानसँग युद्ध चाहँदैन। तर अटेरी बनेर लगातार आक्रामक कदम चलाइरहेका इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फेरि पनि अमेरिकाको कुरा नसुनी आणविक भट्टीमै हमला गर्न सक्ने सम्भावना भने थियो। त्यस्तै पछिल्लो पटक अमेरिकाले थप युद्धपोत र लडाकु विमान र थाड (टर्मिनल हाइ अल्टिट्युड एरिया डिफेन्स) सिस्टम पठाएकाले हौसिएर नेतन्याहुले कडा जबाफ दिने खतरा पनि थियो।
तर पनि इसराइलले भने अमेरिकाको सुझाव अनुसार सैन्य संरचनामा मात्रै हमला गरेको छ। यो प्रहार पनि इरानले कडा आक्रमण गर्नुनपर्ने गरी गरेको देखिन्छ।
शनिबारको हमलाअघि इसराइलले अमेरिकालाई मात्रै होइन, इरानलाई पनि जानकारी गराएको थियो भनेर एक्सियसले लेखेको छ। इसराइलले कस्ता ठाउँमा हमला गर्दैछ र कस्तामा गर्दैन भनेर इरानलाई तेस्रो पक्षमार्फत जानकारी गराएको स्रोतहरूलाई उद्धृत गर्दै शनिबारै एक्सियसले जनाएको थियो। इरानले यसको जबाफ दिए, अझ इसराइली सर्वसाधारण घाइते हुने गरी वा मर्ने गरी हमला गरे, आफूले झन् कडा हमला गर्ने सन्देश समेत पठाएको थियो।
यसबाट पनि इसराइलले तनाव नबढ्ने गरी प्रहार गरेको बुझ्न सकिन्छ।
अमेरिकाले भने पनि इसराइलले गजा र पछिल्लो समय लेबननमा युद्ध विराम गरेको छैन। अहिले चाहिँ किन मान्यो भन्ने प्रश्न पनि उठ्छ।
इरान अहिले कमजोर भएको बेलामा आणविक भट्टीमा प्रहार गर्ने सुनौलो अवसर हो भन्नेमा इसराइलमा सर्वसम्मति जस्तै छ। गजामा युद्ध विराम गर्नुपर्छ भन्ने नरमपन्थीहरू समेत इरानलाई कडा प्रहार गरेर धेरै कमजोर बनाउनुपर्छ भन्ने कुरामा एकमत थिए।
इरानको तेल खानीमा प्रहार गरेर तेलको भाउ बढाएर अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउने अवसर पनि नेतन्याहुलाई थियो। ट्रम्पले इरानको आणविक भट्टीमा इसराइलले प्रहार गर्न पाउनुपर्छ भन्दै आएका छन्। उनले जितेमा इरानमाथि थप आक्रामक हुन इसराइललाई सहयोग गर्ने छन्।
तर नेतन्याहुले यसपालि अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेको माने। कडा हमला गरे अमेरिकी सहायता कटौती गर्ने भनेर बाइडेनले चेतावनी दिएका पनि हुन सक्छन्। इरानले युद्ध सुरू गरे अमेरिकी सहायता र हतियार दुवै चाहिने भएकाले नेतन्याहुले अमेरिकी आग्रह मानेका हुन सक्छन्। त्यसो हो भने, अमेरिकाले साँच्चै चाहेमा इसराइलमाथि अझै पनि दबाब हाल्न सक्छ भन्ने देखिन्छ।
यस्तोमा इसराइलले गजामा गरिरहेको अमानवीय ज्यादती रोक्न पनि बाइडेनले त्यसरी नै दबाब नहालेका हुन् त भन्ने प्रश्न पनि उठ्छ।
इरानले आणविक भट्टीका लागि पहाड र जमिनको धेरै मुनि बलिया संरचना बनाएको छ। यसमा धेरै नोक्सान पुर्याउन सक्ने शक्तिशाली बम अमेरिकासँग मात्रै छ। अमेरिकाले ती बम नदिने र आफूसँग मात्रै भएका हतियारले ती संरचनामा ठूलो क्षति पुर्याउन नसक्ने भएकाले पनि नेतन्याहुले आणविक भट्टीमा अहिले प्रहार नगरेका हुन सक्छन्।
अर्कोतर्फ, आफूमाथि प्रहार नगरोस् भनेर इसराइलको घाँटीमा तरवार जसरी राखेको हिजबुल्लाह कमजोर भएकाले अब इरानले छिट्टै आणविक हतियार बनाउन भरमग्दुर प्रयास गर्नेछ। त्यसैले अहिले नै आणविक भट्टीमा आक्रमण नगरे पनि भविष्यमा चाँडै नै इसराइलले त्यसबारे निर्णय भने लिनुपर्ने हुन्छ।
नेतन्याहुले अमेरिकाले भनेको अहिले किन माने भन्नेमा द इकोनोमिस्टले बेग्लै खालको विश्लेषण गरेको छ।
उसका अनुसार अहिले बाइडेनले भनेको मानेमा कमला ह्यारिसले जिते पनि सहायता निरन्तरता हुने पक्का गरेका छन्। ट्रम्पले जितेमा उनले पदभार ग्रहण गरेपछि इसराइलले बिना कुनै रोकतोक इरानमाथि प्रहार गर्न सक्छ। इरानको एयर डिफेन्स सिस्टम अहिले ध्वस्त पारेको हो भने ह्यारिसले नै चुनाव जिते पनि फेरि प्रहार गर्ने झन् राम्रो मौका हुन्छ। त्यसैले अहिले इसराइल धेरै आक्रामक नभएको द इकोनोमिस्टको विश्लेषण छ।
इसराइललाई सघाउन अमेरिका आउँछ भन्ने इरानले बुझेको छ। त्यसैले अरू बेलै पनि इसराइलसँग युद्ध चाहँदैन। अहिले हिजबुल्लाह कमजोर भएका बेला त झन् चाहँदैन। त्यसैले इरानले यसको कडा जबाफ दिने सम्भावना कम छ।
कडा जबाफ दिए पनि नदिए पनि इरानलाई सुख भने छैन। नदिए जनतामाझ र अन्तर्राष्ट्रिय समुदायमा कमजोर देखिनेछ। दिए इसराइल र अमेरिकाले ठूलो क्षति पुर्याउने खतरा हुन्छ।
इसराइलको हमलाले खासै नोक्सानी नभएको भनेर इरानले आफ्ना जनताकाबीच कडा जबाफ दिनुपर्ने बाध्यता नहोस् भन्ने चाहेको देखिन्छ। तर खुल्लम-खुल्ला इरानभित्र पसेर इसराइलले प्रहार गरेकाले चुप लागेर बस्न पनि अप्ठ्यारो हुनेछ। सत्तामा भएका कट्टरपन्थीहरूले अप्रिलदेखि नै इसराइल प्रति आक्रामक हुन दबाब दिइरहेका छन्। त्यसैले इरानले इसराइली हमलाको जबाफ दिनैपर्ने हुन्छ।
इसराइलको हमलाको जबाफ दिने अधिकार भएको भनेर इरानले भनिरहेकै पनि छ। इसराइल र अमेरिकाले पनि इरानले जबाफ दिने आकलन गरेको एक्सियसले लेखेको छ।
तर आफ्नो सत्ताको निरन्तरतालाई सर्वोपरि ठान्ने इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले अहिलेको मुस्किल समयमा युद्ध हुने गरी जबाफ दिने सम्भावना छैन। त्यसैले उसले पनि इसराइलले कडारूपमा बदला नलिने गरी सांकेतिक जबाफ मात्रै दिने देखिन्छ।
यसरी तुरून्त इसराइल-इरान युद्ध सुरू हुने खतरा कम छ। तर दशकौंदेखि छाया-युद्ध लडिरहेका यी दुई देशले तनाव नबढ्ने गरी भए पनि एक-अर्कामाथि लगातार प्रहार गरिरहँदा भुलवश वा गलतफहमीका कारण स्थिति नियन्त्रण बाहिर जान भने सक्छ।