च्यासलस्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा खुकुरी खोसाखोस भएको छ।
एमालेसम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघले शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बैठक राखेको थियो। उक्त बैठक सुरू हुनुअघि नै असन्तुष्ट पक्षले झोलामा खुकुरी ल्याएको अर्को पक्षले आरोप लगाएको छ।
स्रोतका अनुसार महासंघ सचिवालयले पार्टी हितविपरीत कार्य गरेको र संगठनको अधीनमा नबसेको भन्दै महासचिव पेम्बा भोटेलाई कारबाही गरेको थियो।
सचिवालयले गरेको उक्त निर्णय अनुमोदन गर्नका लागि केन्द्रीय कमिटीको बैठक राखिएको थियो। तर बैठक सुरू हुनुपूर्व नै विवाद सुरू भएर अप्रिय स्थिति बनेको इन्चार्ज थममाया थापाले जानकारी दिइन्।
‘गत साउनमा बसेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघको सचिवालय बैठकले महासचिव पेम्बा भोटेलाई कारबाही गरेको थियो। त्योसहित संगठनका निर्णयहरू केन्द्रीय समितिबाट अनुमोदन गराउन केन्द्रीय कमिटीको बैठक आयोजना गरिएको थियो। बैठक सुरू हुनुपूर्व नै विवाद सुरू भएर लफडा सिर्जना भएछ!,’ उनले भनिन्।
बाजुराका पेम्बा गुरूङ (भोटे) २०७० सालमा एमालेबाट समानुपातिकतर्फबाट संविधान सभा सदस्य भएका थिए।
बैठकमा मोर्चा संगठन समन्वय प्रमुख भानुभक्त ढकाल र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ इन्चार्ज थापा पनि थिए। बाहिर खुकुरी खोसाखोसको स्थिति सिर्जना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसमक्ष तुरून्तै जानकारी पुगेको थियो।
प्रधानमन्त्री ओली आएपछि बैठक सौहार्द बनेको उनले बताइन्।
‘बैठकमा तनावको स्थिति सिर्जना भएको जानकारी प्रधानमन्त्रीले पाइहाल्नुभयो। त्यसपछि उहाँ आफै आउनुभयो। बैठक सञ्चालन भयो,’ उनले भनिन्।
बैठक स्थलमा खुकुरी भेटिएकोबारे दुवै पक्षले एकले अर्कालाई आरोप लगाइरहेको छ। पेम्बा भोटे पक्षले अध्यक्ष पासाङ शेर्पाले नै खुकुरीसहित केटाहरू जम्मा पारेको आरोप लगाएको छ। पासाङ पक्षले भने पेम्बा भोटेले नै अप्रिय स्थितिको सिर्जना गरेको आरोप लगाइरहेको छ।
यसबारे हामीले ललितपुर प्रहरी एसएसपी प्रमुख शेखर खनालसँग पनि सोधेका छौं।
उनले बैठकस्थल बाहिर पार्टी कार्यालय परिसरबाट बरामद भएको र कसले ल्याइको भनेर यकिन नभएको बताए।
‘ललितपुर च्यासलस्थित पार्टी कार्यालय कम्पाउन्डमा झोलाभित्र राखिएको अवस्थाबाट खुकुरी बरामद भएको हो। कसले ल्याएको भनेर यकिन भएको छैन। दुवै पक्ष (पासाङ शेर्पा र पेम्बा भोटे) ले एक अर्कालाई आरोप लगाएका छन्,’ एसएसपी खनालले भने।