नेपाली कांग्रेसका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा हुने भएको छ।
यही कात्तिक २३ गतेदेखि युवा संकल्प यात्रा सुरू गरिने शाहीले जानकारी दिए।
भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर पूर्व-पश्चिम संकल्प यात्रा गर्न लागेको उनले जानकारी दिए।
‘युवा संकल्प यात्रा पूर्वपश्चिम राजमार्गकेन्द्रित रहनेछ, यो राजमार्गमा पर्ने पूर्वदेखि पश्चिमसम्मका सबै जिल्लाका चोक-चोकमा जनताका कुरा सुन्ने र आफ्ना कुरा पनि सुनाउँछौं,’ उनले भने, ‘सबै पार्टीका र आम नागरिकसँग भेटेर समस्या तथा सुझावहरू सुन्छौं।’
सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने पनि शाही बताउँछन्।
सहकारी पीडितलाई तत्काल राहत तथा बचत फिर्ता गरिनुपर्ने, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गरिनुपर्ने एजेन्डासमेत शाहीले उठान गरेका छन्।
‘यस्ता समग्र विषयबस्तुमाथि संकल्प यात्रामा छलफल गर्दै आमनागरिकका गुनासा तथा सुझाव लिनेछौं,’ उनले भने। युवा संकल्प यात्रा एक महिनासम्म चल्नेछ।