नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दै गएको बताएका छन्। कम्युनिस्ट आन्दोलनको बाधक तत्व कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको पनि उनले बताएका छन्।
पार्टी निकट जनसांस्कृतिक महासंघद्वारा शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रममा उनले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताए।
'अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको छ,' अध्यक्ष नेपालले भने, 'सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिस्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ। भ्रष्टीकरण बढ्दै गएको छ। यो नै प्रमुख समस्या हो।'
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउँदै सच्चा कम्युनिस्ट एकताबद्ध भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
मुलुकमा दण्डहीनता र असल नेतृत्वको अभावमा जनतामा आएको नैराश्यताको अन्त्य गर्न कम्युनिस्ट पार्टीले विगतका गरेका कमीकमजोरी स्वीकार गरेर एकीकृत हुनपर्ने विचार उनले व्यक्त गरे।