नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ।
स्थानीय तह उपनिर्वाचनको तयारी र उम्मेदवारीलाई अन्तिमरूप दिन एमालेले कात्तिक २४ गते बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ।
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा उपनिर्वाचन हुन लागेको हो।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउन मातहतका कमिटीलाई निर्देशन दिइसकेको छ।
कीर्तिपुर नगर कमिटीले सुरेन्द्र मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जनलाई उम्मेदवार बनाउने निर्णय भएको मानन्धरले जानकारी दिए। उनकाअनुसार वडा नम्बर ४ मा भने उम्मेदवार तय हुन बाँकी छ। मंगलबार बसेको नगर कमिटीको बैठकले महर्जनलाई सर्वसम्मत सिफारिस गरेको हो।
‘अन्यत्र पनि सर्वसम्मत उम्मेदवार सिफारिस भइरहेका छन्। कात्तिक २२ गतेसम्म यो सिफारिस प्रक्रिया टुंगिन्छ,’ गौतमले भने।
गौतमका अनुसार नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिसमा जिल्लाले नै टुंग्याउने छ।
महानगरपालिका र उपमहानगरपालिकाकाका वडा तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले टुंग्याउने छ।
‘निर्वाचनको तयारीबारे सचिवालयको बैठक बसेर निर्णय गर्नेछौं,’ गौतमले भने।