ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका (दीपक मनाङे) राजीब गुरूङ कारागार चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो। सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन्।
कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ ‘दीपक मनाङे’ लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।
२०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत पाटन) को फैसलालाई गत मंगलबार सदर गरेपछि यो मुद्दा टुंगिएको हो।
यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन्। त्यो अवधि घटाएर बाँकी समय उनी जेल बस्नुपर्ने हुन्छ। मनाङे अब पाँच वर्षमा २ वर्ष ८ महिना घटाउँदा आउने दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्छ।
सर्वोच्चको आदेशपछि मनाङे सम्पर्कबिहीन भएका थिए। फैसला भएसँगै मनाङले आफ्नो मोबाइल अफ गरी सम्पर्कबिहीन भएका थिए।
प्रहरीको विभिन्न निकायले उनको खोजी गरिरहेको थियो। केहीदिन अघि मात्रै मनाङेले विज्ञप्ति जारी गरी आफू अदालतको पूर्णपाठ आएपछि उपस्थित हुने बताएका थिए। त्यसैबीच प्रहरीले उनलाई पक्राउ गरेको हो।
सम्बन्धित समाचार: दुई वर्ष ८ महिना जेल बसिसके मनाङे, अब कति बस्न पर्छ?
दीपक मनाङे अब कति वर्ष जेल बस्नुपर्छ? सांसद पद के हुन्छ?
मनाङेका स्वकीय भन्छन्: फैसला आउँदा उहाँ काठमाडौंमै हुनुहुन्थ्यो, अहिले मोबाइल अफ छ
मोबाइल बन्द गरेको छु, पूर्णपाठ आएपछि अदालत उपस्थित हुन्छु: मनाङे