सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले कोशी प्रदेशमा पनि दुई दलीय सयन्त्र गठन गरेका छन्।
केन्द्रदेखि प्रदेशसम्मै बनिरहेको यस्तो सयन्त्र जिल्लासम्मै विस्तार गर्ने निर्णय कोशीको सयन्त्रले गरेको छ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा सयन्त्रले बुधबार बिहान पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेको हो।
बैठकले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालै पालो गर्ने, दुई दलीय संयन्त्र गठनसम्बन्धी जारी परिपत्र अनुसार संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट प्रदेश महामन्त्री उमेश थापालाई संयन्त्र सदस्यमा थप गर्ने, प्रदेश संयन्त्रबाट सहजीकरण गरी एक हप्ताभित्र जिल्ला संयन्त्र गठन गर्ने निर्णय भएको छ।
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय पनि संयन्त्रले गरेको छ।
कोशी प्रदेशअन्तर्गतका १४ वटै जिल्ला संयन्त्रका सदस्यहरूको संयुक्त बैठक शनिबार विराटनगरमा गर्ने निर्णय संयन्त्रले गरेको छ।
कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीहरुसँग प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन छलफल गरिने एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताए।
शनिबार हुने छलफलमा कोशी प्रदेशको दुई दलीय संयन्त्रको कार्यलाई एउटै मर्म र गतिमा एकरूपता साथ प्रभावकारी ढंगले अगाडी बढाउने विषयमा छलफल हुने उनको भनाइ छ।
संयन्त्रमा एमालेका तर्फबाट कोशी इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राई, मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहनेछन् भने कांग्रेबाट प्रदेश सभापति तथा दलका नेता उद्धब थापा, प्रदेश महामन्त्रीद्वय भुपेन्द्र राई र उमेश थापा सदस्य छन्।
यसअघि बागमती प्रदेशमा पनि दुई दलीय संयन्त्र बनिसकेको छ।