काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
नेपाली कांग्रेसबाट २०७९ वैशाखको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुख पदमा उम्मेदवार भएका राजकुमार नकर्मीको २०८१ साउनमा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
कीर्तिपुरको मेयरमा नेकपा (एमाले) ले सुरेन्द्र मानन्धरलाई, नेकपा (माओवादी केन्द्र) ले शिवशरण महर्जनलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनलाई उम्मेदवार उठाउने निर्णय गरिसकेका छन्।
कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुंगो लगाउन बाँकी छ। उम्मेदवारका लागि कांग्रेसबाट ११ जनाको नाम सिफारिस भएको छ भने रास्वपाबाट जयराम कार्कीको नाम सिफारिस भएको छ।
कांग्रेसमा आकांक्षी धेरै हुँदा उम्मेदवार टुंगो लगाउन सकस परेको छ।
कांग्रेस नगर सभापति कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम बागमती प्रदेश कार्यसमितिमा सिफारिस भएको हो।
जसमध्ये डंगोल कांग्रेस कीर्तिपुर नगर सभापति हुन् भने जमुना पूर्वमेयर राजकुमारकी श्रीमती हुन्।
कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न समय लागेको हो। मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेकोले त्यसअघि नै उम्मेदवार तय गर्ने तयारीमा कांग्रेस छ।
ती नेताको भनाइमा ११ जना आकांक्षीका नाम सिफारिस भए पनि नगर सभापति डंगोल र नेता हिमाल कार्कीमध्ये एक जना उम्मेदवार हुने पार्टीभित्र चर्चा छ।
नगर सभापति डंगोलले आफूलाई न्याय गरिनुपर्ने बताइरहेका छन् भने कार्की पनि उम्मेदवार हुन जोडबल गरिरहेका छन्। डंगोल र कार्की दुवै कांग्रेस संस्थापनइतरका मानिन्छन्। डंगोल नेता प्रकाशमान सिंह र कार्की राजेन्द्र केसी (राजन) निकट छन्। राजन पनि प्रकाशमाननिकट नै मानिन्छन्।
गत मंगलबार कीर्तिपुरमा कांग्रेसले कार्यक्रम राखेको थियो। सो कार्यक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगेका थिए। महामन्त्री थापाले सबैसँग छलफल गरेपछि उम्मेदवारको टुंगो गरिने बताएका थिए।
कांग्रेस विधानअनुसार नगरपालिका निर्वाचन उम्मेदवारलाई टिकट सम्बन्धित प्रदेश कार्यसमितिले दिन्छ भने टिकटमा हस्ताक्षर सभापति शेरबहादुर देउवाकै रहन्छ।
जो उम्मेदवार बने पनि जित्ने गरी तयारी गर्नुपर्ने थापाको भनाइ थियो। साथै उनले उपनिर्वाचनमा उम्मेदवार हुनेले २०८४ को स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन नपाउने पनि बताएका थिए।