सहकारी ठगी आरोपमा पक्राउ परेका र अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान तेस्रो दिन बिहीबार सकिएको छ। तीन दिनमा साढे २३ घन्टा बयान लिइएको प्रहरीले जनाएको छ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिनाबारे अनुसन्धानका लागि लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो।
जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार झन्डै ५ घन्टा बयान लिएको अनुसन्धान अधिकृतहरूको टोलीले बुधबार झन्डै ८ घन्टा बयान लिएको थियो। बिहीबार बिहान पनि साढे १० देखि साँझ ८ बजेसम्म बयान लिइयो।
बयान सकिए पनि लामिछानेलाई शुक्रबार मात्रै पोखरा पठाइने छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले बिहीबार साँझको उडान टुंगो नभएकाले शुक्रबारको पहिलो उडानमा पोखरा पठाइने जानकारी दिए।
यसअघि प्रहरीले बिहीबार साँझसम्म बयान लिएर पोखरा पठाउने गरी दिउँसो नै लामिछानेका लागि जहाजको सिट होल्ड गरेर राखेको थियो। पोखराबाट साँझको जहाज नआएकाले लामिछाने बिहीबार पनि जिल्ला प्रहरी कार्यालय रूपन्देहीकै हिरासतमै रहने छन्।
लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डित र अन्य अनुसन्धान अधिकृतहरूले बयान लिएका थिए।
लामिछानेसँग तीन दिनसम्म गोर्खा मिडिया र सहकारीको रकम हिनामिनासँग सम्बन्धित ७४ वटा प्रश्न सोधिएको प्रहरीले जनाएको छ। अधिकांश प्रश्नमा लामिछानेले आफूलाई कुनै पनि जानकारी नभएको जबाफ दिएको बयानमा संलग्न अनुसन्धान अधिकृतले बताए।
सुप्रिम सहकारीबाट व्यक्ति र गोर्खा मिडियामा कसरी रकम गयो भन्ने प्रश्नमा लामिछानेले आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताएका थिए।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको भन्दै बयानका लागि रूपन्देही ल्याइएको हो।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रूपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख रूपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहामा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २०७७ चैत १८ गते लामिछानेका नाममा २ करोड ऋण लिइएको अनुसन्धानबाट खुलेको छ। त्यसमध्ये ४ लाख सेवाशुल्क कटाएर १ करोड ९६ लाख रूपैयाँ लामिछानेको नामबाट गोर्खा मिडिया नेटवर्कमा जम्मा गरिएको छ। लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला रोशनी गुरूङका नामबाट ग्लोबल आइएमई बैंकमा उक्त रकम जम्मा भएको थियो।
इलाका प्रहरी कार्यालय बुटवलले तयार गरेको पूरक अनुसन्धान प्रतिवेदनअनुसार लामिछानेका नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका थिए। गुल्मीको मालिका गाउँपालिका-८ घर भएका ३० वर्षीय केसी अहिले फरार छन्। रकम जम्मा गर्ने रोशनी यसअघि नै पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भइसकेकी छन्। सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङ भने पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन्।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रूपैयाँमध्ये झन्डै ७८ करोड सुप्रिम सहकारीबाट गैरकानुनी रूपमा विभिन्न संघ-संस्थामा लगेर खर्च गरेको पाइएको छ।
संस्थाका पूर्वअध्यक्ष तथा अहिलेका संरक्षक गितेन्द्रबाबु (जिबी) राई, तत्कालीन सचिव दीपेश पुन, व्यवस्थापक सागर केसीसहित ३२ जनाभन्दा बढी व्यक्तिले अनधिकृत रूपमा रकम लगेर खर्च गरेको अनुसन्धानबाट खुलेको छ।
सुप्रिम सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाका सम्बन्धमा अनुसन्धानका लागि लामिछानेसहित १२ जनालाई पक्राउ गर्न जिल्ला अदालत रूपन्देहीले गत कात्तिक ८ गते अनुमति दिएको थियो।
यसअघि पनि बुटवलबाटै मुद्दाको अनुसन्धान भइरहेको र संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा लामिछाने र गोर्खा मिडियाका उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल जोशीसहित १२ जनालाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलले अदालतसँग अनुमति मागेको थियो।
जोशीलाई यसअघि नै रूपन्देही ल्याएर जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइसकिएको छ। सहकारी ठगी प्रकरणमा गत असोज ६ गते पक्राउ परेका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
प्रहरीले यसअघि गरेको छानबिनमा जोशीसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई र सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो। तीमध्ये सहकारीका अध्यक्ष गुरूङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन्। सहकारीका पूर्वअध्यक्ष तथा संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन्।
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले पछिल्लोपटक गत आइतबार १३ दिनको म्याद थप गरिदिएको थियो। अदालतबाट १३ दिनको म्याद थप गरी कास्की प्रहरीले बयानका लागि रूपन्देही पठाएको थियो। लामिछानेलाई बयानका लागि भैरहवा ल्याएसँगै रास्वपा कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताले मंगलबार दिनभर भैरहवामा प्रदर्शन गरेका थिए।
बुधबार खासै उपस्थित नभएका रास्वपाका कार्यकर्ताले बिहीबार बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्याली निकालेका थिए। सहकारीका बचतकर्ताले भने बुधबार र बिहीबार प्रदर्शन गरेनन्।
मंगलबार बयान सकेर जिल्ला सरकारी वकिल कार्यालयबाट बाहिरिने क्रममा लामिछानेले दिएको अभिव्यक्तिपछि प्रहरीले घेरा हालेर सरकारी वकिल कार्यालय लैजाने र ल्याउने गरेको थियो।
लामिछानेले मंगलबार 'बाघलाई खोरमा थुनेर स्याल हुँदैन' भन्ने अभिव्यक्ति दिएपछि प्रहरीले घेरा हालेर त्यहाँबाट लगेको थियो।