सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेर अनुसन्धानका लागि रूपन्देही ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरा पठाइएको छ।
गत मंगलबार पोखराबाट रुपन्देही ल्याइएका लामिछानेसँग बिहीबार राती ८ बजे बयान सकिए पनि जहाज नआएकाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमै राखिएको थियो।
शुक्रबार बिहान पठाउने तयारी गरेको भएपनि मौसम खराबीका कारण दिउसो १ः४५ को यति एयरको जहाज मार्फत पोखरा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले दिउँसो पौने २ बजेको जहाजमार्फत लामिछानेलाई पोखरा पठाइएको जानकारी दिए।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि संलग्न रहेको देखिएपछि प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देही ल्याएको थियो।
लामिछानेसँग प्रहरीले तीन दिनमा साढे २३ घन्टा बयान लिइएको थियो।
जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार झन्डै ५ घन्टा बयान लिएको अनुसन्धान अधिकृतहरूको टोलीले बुधबार झन्डै ८ घन्टा बयान लिएको थियो। बिहीबार बिहान पनि साढे १० देखि साँझ ८ बजेसम्म बयान लिएको थियो।
लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डित र अन्य अनुसन्धान अधिकृतहरूले बयान लिएका थिए।
लामिछानेसँग तीन दिनसम्म गोर्खा मिडिया र सहकारीको रकम हिनामिनासँग सम्बन्धित ७४ वटा प्रश्न सोधिएको प्रहरीले जनाएको छ। अधिकांश प्रश्नमा लामिछानेले आफूलाई कुनै पनि जानकारी नभएको जबाफ दिएको बयानमा संलग्न अनुसन्धान अधिकृतले बताए।
सुप्रिम सहकारीबाट व्यक्ति र गोर्खा मिडियामा कसरी रकम गयो भन्ने प्रश्नमा लामिछानेले आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताएका थिए।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रूपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख रूपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।