गण्डकी प्रदेशसभा सांसद विमला गौचन मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय जाँदा खाली हात जाँदिन थिइन्। कुनै न कुनै समस्या लिएरै जान्थिन् र त्यो समस्या तुरून्त समाधान गर्न 'ढिपी' कस्थिन्। जिल्लातिर घुमेर फर्किँदा पनि कहिले 'डेलिगेसन' टोली लिएर जान्थिन्, कहिले एक्लै।
विमला मुख्यमन्त्री कार्यालय आएपछि अब के समस्या लिएर आइन् भनेर मुख्यमन्त्रीको सचिवालयमा चर्चा सुरू हुन्थ्यो।
अब विमला कुनै पनि समस्या लिएर मुख्यमन्त्री कार्यालय धाउने छैनन्।
डेंगी संक्रमणले थलिएर काठमाडौंमा उपचार गराइरहेकी विमलाको बुधबार राति निधन भयो। उनको पार्थिव शरीरलाई शनिबार बिहान गण्डकी प्रदेशसभामा राखेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित नेता तथा सांसदहरूले श्रद्धाञ्जलि अर्पण गरे।
करिब तीन महिनाअघि पनि विमला मृत्युको मुखबाट जोगिएकी थिइन्। जनै पूर्णिमाका अवसरमा पूजाआजा गर्न मुस्ताङको दामोदर कुण्ड (४८०० मिटर) पुगेकी विमलालाई लेक लागेको थियो। त्यहाँ औषधोपचार र सञ्चार सुविधा छैन। करिब चार दिन उनी दामोदर कुण्डकै धर्मशालामा अड्किएकी थिइन्। त्यहाँ लेक लागेर भदौ २ गते ढलेकी विमलालाई टाउको दुख्ने, शरीर गल्ने, खानामा रूचि नहुनेजस्ता लक्षण देखिएका थिए।
त्यति बेला उनले एक सहयोगीमार्फत् चिठी पठाएर आफू लेक लागेर ढलेको जानकारी मुस्ताङका सरकारी अधिकारीलाई गराएकी थिइन्। त्यसपछि नै नेपाली सेनाको हेलिकप्टरले भदौ ६ गते उनको उद्धार गरेको थियो।
दामोदर कुण्डबाट फर्किएपछि उनले त्यहाँ सञ्चार सुविधा र औषधोपचार व्यवस्था गर्न गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतलाई आग्रह गरेकी थिइन्।
उनले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) मार्फत् म्याग्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रममा गर्न सहयोग गर्ने बचन पनि दिएकी थिइन्। टेवानका अध्यक्ष कमला गिरीका अनुसार उनीहरूबीच डेंगी निको भएपछि कार्यक्रम गर्ने कुराकानी भएको थियो।
'महिला पर्यटन व्यवसायीलाई उहाँ सधैं हौसला दिनुहुन्थ्यो। समस्या परे सहयोग गर्नुहुन्थ्यो,' उनले भनिन्, 'उहाँको निधनले गण्डकी प्रदेशले एक अब्बल पर्यटन व्यवसायी गुमाएको छ।'
कांग्रेस नेता तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विमलालाई प्रदेशसभाको सक्रिय सदस्यका रूपमा सम्झन्छन्।
'उहाँ आफूलाई लागेको कुरा जोसँग पनि भन्न सक्ने र समस्या समाधान गर्न ढिपी नै कस्ने निडर नेता हुनुहुन्थ्यो,' उनले भने, 'म्याग्दीको पर्यटन र धार्मिक क्षेत्र विकासमा धेरै चासो राख्नुहुन्थ्यो। भौगोलिक विकटता भएकाले बाटो राम्रो बनाउन जोड दिनुहुन्थ्यो।'
विमलाको जन्म २०१८ असार १८ गते मुस्ताङको कोवाङमा भएको थियो। उनका बुबा गाउँका प्रधानपञ्च थिए। उनीहरू जाडो याम बेनी र गर्मी याम मुस्ताङमा बिताउँथे। विमलाले बेनीको प्रकाश माध्यमिक विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरेकी थिइन्।
त्यहाँका तत्कालीन प्रधानाध्यापक माधव रेग्मीका अनुसार विमला राजनीतिका साथै सामाजिक जीवनमा पनि निकै सक्रिय थिइन्। विमलाले गलेश्वर धार्मिक क्षेत्रका साथै स्कुल, क्याम्पस लगायत शौक्षिक विकासमा योगदान गरेको उनी बताउँछन्।
'पढ्न नसक्नेहरूलाई पढाउँथिन्। गाउँ डुल्दा महिला समूहहरूलाई सहयोग गर्थिन्,' उनले भने, 'खानेपानी अभाव भएको गाउँमा पाइप लैजान र किसानलाई चाहिने सहयोग गर्न सधैं तयार रहन्थिन्।'
विमला नेपाली कांग्रेसकी गण्डकी प्रदेश समिति सदस्य थिइन्। उनी म्याग्दीबाट महाधिवेशन प्रतिनिधि पनि रहिन्। म्याग्दीमा होटल व्यवसाय सञ्चालन गरेकी विमला राजनीतिमा उदाएको श्रीमानको असामयिक निधनपछि हो। उनका श्रीमान राम गौचन कोवाङमै शिक्षक थिए। कोवाङमा उनको गेस्ट हाउस पनि थियो। विवाह गरेपछि केही वर्ष उनीहरू कोवाङमै बसेका थिए।
करिब तीन वर्षपछि उनीहरू बेनी झरे र अहिले बेनी बसपार्क भएको ठाउँमा घर भाडामा लिएर होटल चलाउन थाले। त्यति बेला अन्नपूर्ण फेरो पदयात्रामा आउने पर्यटकलाई बस्न-खान सुविधा कम थियो। अहिलेजस्तो मोटरबाटो थिएन। उनीहरूको होटल पदयात्रीले भरिन्थे।
बेनीमा होटल चलाउन थालेपछि रामले शिक्षण पेसा छाडिदिए र निर्माण व्यवसाय थाले। निर्माण व्यवसायी संघ म्याग्दी गठन गरेर अध्यक्ष पनि चुनिए। निर्माण व्यवसाय रामले धान्थे, होटल विमलाले चलाउँथिन्।
रामको लगाव राजनीतिमा पनि उत्तिकै थियो। उनी कांग्रेस म्याग्दीका कोषाध्यक्ष भए।
पछि भाडाको होटल छाडेर विमलाले बेनीमै 'होटल यती' सञ्चालन गरिन्। भाडाको घरबाट आफ्नै होटल बनाएपछि उनीहरूले त्यसको गुणस्तर र पूर्वाधार विकास गर्दै लगे। त्यही होटलको निम्ति मार्बल झार्ने क्रममा घाइते भएका रामको २०६८ साउन २८ गते निधन भयो।
श्रीमानको निधनपछि विमलाको काँधमा जिम्मेवारी थपियो। एक छोरा र एक छोरीकी आमा विमलाले होटल चलाइराखिन्। श्रीमानको राजनीति र समाजसेवालाई पनि निरन्तरता दिइन्। उनी होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ म्याग्दीको अध्यक्ष भएकी थिइन्।
बेनीका पूर्वशिक्षक अजयमिलन श्रेष्ठका अनुसार रामको मृत्युपछि विमलालाई कांग्रेसको जिल्ला सल्लाहकार मनोनित गरिएको थियो। उनी नेपाल महिला संघको राजनीतिमा लागेर जिल्ला सभापति बनिन्। पार्टीका कार्यक्रममा सक्रियता देखाउन थालेपछि राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने मौका पाएकी थिइन्। तर उनी निर्वाचन हारिन्। त्यसपछि २०७९ मा समानुपातिक उम्मेदवारका रूपमा प्रदेशसभामा चुनिइन्।
प्रदेशसभा सांसद भएपछि उनले होटल व्यवसायको जिम्मा छोरीलाई सुम्पिएकी थिइन्। उनका छोरा लामो समयदेखि अमेरिकामा कार्यरत छन्। छोरा फर्किएपछि शनिबार कालीगण्डकी नदीमा विमलाको दाहसंस्कार गरिएको थियो।
विमलाका व्यावसायिक साझेदार लिला बानियाँ उनलाई स्कुल पढ्दादेखि नै चिन्छन्। रामका सहकर्मी लिलाका अनुसार उनीहरूले म्याग्दीमा धौलागिरि ट्राभल, मनी ट्रान्सफर, सहकारी लगायत विभिन्न व्यावसायिक र सामाजिक क्षेत्रमा सहकार्य गरेका छन्।
'राम त्यति बेला जिल्लामा अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो। उहाँको असामयिक निधनपछि विमलाजीको काँधमा सबै जिम्मेवारी आयो,' उनले भने, 'विमलाजीले पनि श्रीमानको राजनीतिक, सामाजिक र व्यावसायिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभयो।'