जनताले कानुन बनाउने मुख्य जिम्मेवारीसहित प्रतिनिधिहरू चुनेर पठाउँछन्। जनतामाझबाट चुनिएर प्रतिनिधि सभा र प्रदेश सभामा पुगेका सांसदहरू कानुन बनाउने ठाउँमा भेटिनुपर्ने हो तर कतिपय सांसद विभिन्न अभियोगमा प्रहरीको अनुसन्धान घेरामा तानिएका छन्।
प्रहरी अनुसन्धानमा तानिएका केही सांसद पुर्पक्षका लागि कारागार चलान भएका छन् भने केही हिरासतमै छन्।
केही सांसद गम्भीर प्रकृतिका अपराधमा दोषी ठहर भएका छन्।
गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) काठमाडौंको डिल्लीबजार कारागारमा छन्।
कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग कसुरमा उनलाई दोषी ठहर गर्यो। २० वर्षअघि गोरखा घर भएका मिलन गुरूङ (चक्रे मिलन) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) ले दिएको आदेशलाई सर्वोच्चले सदर गर्दै मनाङेलाई दोषी ठहर गरेको हो।
आदेश आएसँगै मनाङे मोबाइल अफ गरी सम्पर्कबिहीन थिए। गत मंगलबार काठमाडौंको सितापाइलास्थित कम्फर्ट हाउसिङको घर नम्बर १५ मा लुकेको थाहा पाएपछि सिआइबीको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनी हाल कारागार कार्यालय डिल्लीबजारमा चलान भएका छन्। उनी कारागार चलान भए पनि सांसद पद के हुन्छ भन्ने यकिन भइसकेको छैन।
सांसद भएर पनि फौजदारी कसुरमा मुछिने मनाङे एक्ला होइनन्।
प्रदेशदेखि संघीय सरकारमा रहेका थुप्रै सांसद अझै पनि प्रहरी अनुसन्धानको घेरामै छन्। अनुसन्धानकै सिलसिलामा कतिपय हिरासत/कारागारमा छन् भने कतिपय फरार।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
कात्तिक २ गते काठमाडौंको च:मतिबाट लामिछानेलाई सिआइबीले पक्राउ गरेको थियो। कास्कीमा सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको कसुरमा अनुसन्धान अघि बढेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
यस्तै रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम अपचलनमा बयानका लागि बुटवल लगिएको थियो।लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान जारी छ।
स्वतन्त्र सांसद मनाङे र प्रतिनिधि सभा सांसद लामिछाने हिरासतमा रहेको चर्चा चलिरहँदा कात्तिक २१ गते विराटनगरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिए।
अधिकारीसहित चार जनालाई जापानको अध्यागमनले डिपोर्ट गरेको पनि खुल्यो। मन्त्रीसँग गएका तीन जनाले मन्त्रालयकै नक्कली कार्ड बनाएर गएको खुलेको थियो। अनुसन्धानकै सिलसिलामा प्रहरीले उनलाई कात्तिक २५ गते विराटनगरस्थित निवासबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
नेकपा (एमाले) का सांसद अधिकारीसँगै अहिले ९ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार र लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा एमाले र नेपाली कांग्रेसलगायत दलहरू रहेको संघीय सरकार छ।
रास्वपा सभापति पक्राउ गरेर अनुसन्धान गरिरहँदा प्रहरीले कांग्रेसका सांसद धनराज गुरूङ र एमालेका सांसद एवं सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलमाथि अनुसन्धान गर्न नसकेको आरोप पनि छ।
सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी विशेष छानबिन समितिले गुरूङमाथि अनुसन्धान गर्न भनेको थियो। सिआइबीले उपसभापति गुरूङसँग कात्तिक २८ गते ५ घण्टा लामो बयान लिएको हो। बयानमा उनले ज्योति गुरूङसँग गरेको डिभोर्स नक्कली नभएको बताएका थिए।
ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति उनकी पूर्वश्रीमती हुन्। अहिले ज्योति र व्यापारी ज्योतिबहादुर भण्डारीविरूद्ध रेड नोटिससमेत जारी भइसकेको छ।
एमाले सांसद पोखरेलकी श्रीमती अञ्जला कोइरालाको नाम विराटनगरको उमागौरी कृषि सहकारी संस्थाको बचत रकम अपचलनमा नाम जोडिएको छ। सहकारी बचत ठगी घटनामा प्रहरीले १० जनाविरूद्ध पुर्जी जारी गरेको थियो। अञ्जलाको नाम जोडिए पनि उनको संलग्नताबारे प्रहरीले खुलाएको छैन।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत पनि सहकारी बचत दुरूपयोगमा जोडिएकी छन्। उनीमाथि पूर्वी नवलपरासीको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडका बचत रकम अपलचनको आरोप लागेको हो।
प्रहरीले गत जेठमै सांसद बस्नेतसहित ३५ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। १६ करोड ५६ लाख ९४ हजार ३१ रूपैयाँ अपचलन गरेको आरोप थियो।
यस्तै गम्भीर प्रकृतिको मुद्दामा पूर्व उपप्रधानमन्त्री एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी पुर्पक्षका लागि कारागारमा छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको भन्दै उनीमाथि पनि अनुसन्धान भइरहेको छ।
यही भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि पक्राउ परेका थिए। उनीहरू दुई जनासहित १६ जनालाई २०८० असार १ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठायो। तर उच्च अदालत पाटनमा पुनरावेदन गर्दा खाणलाई धरौटीमा छाड्न आदेश दिएको थियो। रायमाझीलाई भने कारागारमै राख्न आदेश भएको थियो।
प्रतिनिधि सभामा कांग्रेस सांसद टेकबहादुर गुरूङलाई विशेष अदालतले भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको थियो। उनीमाथि काठमाडौंको भृकुटीमण्डपस्थित फनपारेक सञ्चालनमा भाडादर सस्तो गरेको भन्दै दोषी ठहर गरेको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फनपार्कको जग्गा ठेक्का प्रकरणमा २ अर्ब ८३ करोड ६८ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको थियो।
अदालतले २०७९ फागुन २५ गते उनलाई एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना र सो बराबरको बिगो असुल उपर गर्ने निर्णय गरेको थियो।
भ्रष्टाचारको मुद्दापछि २०७९ पुस १२ गते उनी निलम्बनमा परेका थिए। उनले २०८० असोज १ गते सर्वोच्च अदालतमा निलम्बन फुकुवाको माग गरी रिट दायर गरे। २०८० चैत १६ गते सर्वोच्च अदालतका न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले उनीहरूको निलम्बन फुकुवा गरेका थिए।
यस्तै गत वर्ष बाँसबारी जग्गा प्रकरण पनि बाहिरियो। बाँसबारी छालाजुत्ताको सरकारी जग्गा चाँदबाग रेसिडेन्सो नाममा रहेको विषयमा सिआइबीले अनुसन्धान गरेको थियो।
सिआइबीले यसमा अरूण चौधरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। यता विनोद चौधरीलाई भने बयान कागज गराएको थियो।
यस मुद्दामा पछि सरकारले जग्गा आफ्नो नाममा फिर्ता ल्याएको थियो।
यसैगरी एमालेका सांसद लक्ष्मी महतो कोइरीमाथि २०७२ साल भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप थियो। उनीसँगै यही मुद्दामा मधेस प्रदेशका सांसद अभिराम शर्मा पनि मुछिएका थिए।
यही एउटै कसुरमा कोइरीले गत मंसिरमा सफाइ पाएका थिए। यता शर्मालाई भने जन्मकैदको सजाय सुनाएको हो।
गत मंसिरमा लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा विवादमा तानिएकी थिइन्। शर्माको घरबाट काठमाडौं महानगरको टोलीले एक जना नाबालिकाको उनको घरबाट उद्धार गरेको थियो।
नाबालिकाको उद्धार गरेर महानगरले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो। तर मेयर बालेन शाहले बेलाबेला सामाजिक सञ्जालमा लेख्दै एमालेले आफ्ना सांसदलाई जोगाएको आरोप लगाउने गरेका छन्। शर्मामाथि प्रहरीले पनि अनुसन्धान नगरेको उनको भनाइ छ।
लुम्बिनी प्रदेशकै कांग्रेस सांसद बादशाह कुर्मी धेरै विवादमा आउनेमध्ये पर्छन्। उनीमाथि बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुरकी निर्मलादेवी कुर्मीको अपहरणपछि हत्या गरेको आरोप छ। उक्त आरोप रहेका उनी गत साउन ७ गते वन तथा वातावरण मन्त्री बनेका थिए।
तर त्यसैबीच उनको यो विवाद पुन: बल्झियो। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा कुर्मीले पदबाट राजीनामा दिए। उनलाई मन्त्री बनाएको भन्दै कांग्रेसभित्रै पनि आलोचना भएको थियो।
यस्तै कर्णालीका कांग्रेस सांसद जीवनबहादुर शाही पनि निलम्बित छन्। अख्तियारले पर्यटन मन्त्री रहँदा दुई वटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सोही भ्रष्टाचारको मुद्दामा उनी निलम्बित छन्। पूर्वमुख्यमन्त्रीसमेत रहेका शाही कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेतासमेत थिए।