राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिँदैछ।
दुई जिल्ला समन्वय समितिसहित स्थानीय तहका ४४ रिक्त स्थानमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि आइतबार धमाधम मनोनयन दर्ता भइरहेको छ।
उपनिर्वाचन हुनेमध्ये चर्चामा छ- काठमाडौंको कीर्तिपुर नगरपालिका। यहाँ स्वतन्त्रदेखि दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्।
संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने मनोनयन दर्ताको सूचीमा छैन। कीर्तिपुर नगर प्रमुख तथा वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदैछ।
२०७९ को वैशाखमा चुनाव हुँदा रास्वपा गठन भएकै थिएन। २०८४ अघि नै हुन लागेको उपचुनावमा भाग लिन पाइने भइयो भनेर कीर्तिपुरका नेता–कार्यकर्ता उत्साहित पनि थिए।
उत्साहको कारण अर्को कारण २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० मा रास्वपाले ल्याएको मत पनि हो। उसले त्यहाँ तेस्रो मत प्राप्त गरेको थियो।
काठमाडौंमा प्रतिनिधि सभाका चार स्थान जितेको रास्वपाले काठमाडौं–१० मा ८ हजार ७३६ मत ल्याएको थियो।काठमाडौं–१० बाट उम्मेदवार बनेका प्रदीप विष्टले कीर्तिपुर नगरपालिकाबाटै राम्रो मत ल्याएका थिए। त्यसैले स्थानीय तह निर्वाचनमा आशा गरेअनुरूप मत आउने रास्वपा कार्यकर्ताहरूको अनुमान थियो।
रास्वपाका कीर्तिपुरका पार्टी सदस्यहरूले सुरूमा उनै विष्टलाई मेयर उठ्न आग्रह गरेका थिए। तर ‘प्रतिनिधि सभामा उम्मेदवार भइसकेकाले तल नउठ्ने’ भनेर उनी तयार भएनन्। त्यसपछि रास्वपा नगर समिति सभापति रहेका जयराम कार्कीले मेयर उठ्ने इच्छा देखाए।
गत कात्तिक २२ गते नगर समितिको बैठक बसेको थियो। त्यही बीचमा पार्टीले उम्मेदवारी आह्वान पनि गर्यो। मेयरको प्रत्यासीका लागि कार्कीले उम्मेदवारी दर्ता गरे। वडा नम्बर ४ बाट सुशील बाँस्कोटाको एकल उम्मेदवारी परेको थियो।
एक नम्बर वडामा पार्टी सदस्य संख्या नै न्यून (४ जना मात्र) भएकाले त्यहाँ कोही आकांक्षी नै तयार भएनन्। तर एकल उम्मेदवारी देखिएसँगै बखेडा झिकिएको त्यहाँका रास्वपाका नेता–कार्यकर्ता बताउँछन्।
‘जिल्लामा रहेका साथीहरूले कीर्तिपुर जितिँदैन, यस्ता उम्मेदवार उठाएर हुँदैन। यसपटक हामीले उम्मेदवारी नै दिनु हुँदैन भनेर सुरूदेखि नै लबिइङ भयो,’ रास्वपा कीर्तिपुरका एक सदस्यले भने।
गत बुधबार रास्वपाले उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो। पहिलो पटक सार्वजनिक गरेको सूचीमा कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्ष उम्मेदवारमा बाँस्कोटाको नाम थियो तर केहीबेरमा उक्त नाम हटाइयो। मेयरको भने टुंगिन बाँकी रहेको रास्वपाको भनाइ थियो।
उम्मेदवारका आकांक्षीलाई शुक्रबार बेलुकासम्म नाम सार्वजनिक गर्ने भनेर थामथुम पारेको राप्रपाले शनिबारदेखि नै कीर्तिपुरमा उम्मेदवारी नदिने मनःस्थिति बनाइसकेको थियो।
आइतबार प्रदेश निर्वाचन परिचालन कमिटी, केन्द्रीय नेताहरू बसेर उम्मेदवारी नदिने निष्कर्ष निकाले।
‘त्यहाँको समिति निर्वाचनका लागि तयारै थियो। हामीले नाम केन्द्रमा पठाएका पनि हौं। तर पार्टीले उम्मेदवारी नदिने निर्णय गर्यो। पार्टीले गरेको निर्णय कार्यकर्ता भएको हिसाबले मान्नै पर्यो,’ उम्मेदवार सिफारिस भएका कार्कीले सेतोपाटीसँग भने।
पार्टी चुनावै नलड्ने निष्कर्षमा कसरी पुग्यो भनेर उनले ठोस जबाफ पाउन सकेका छैनन्। ‘खै के कति कारणले यो निर्णय गरिएको हो, माथिकै नेतालाई सोध्नुभयो भने जबाफ पाउनुहोला। पार्टीको निर्णय मान्नुबाहेक हामीसँग विकल्प छैन,’ उनले भने।
काठमाडौं–६ का सांसदसमेत रहेका केन्द्रीय सदस्य शिशिर खनाल बागमती प्रदेशको निर्वाचन परिचालन समितिका संयोजक छन्।
उनले पनि कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरिएको बताए। पार्टीले त्यहाँ स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने सोच बनाएको उनको भनाइ छ।
कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए।
कीर्तिपुरमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन, दिनेशकुमार अधिकारी, रामकृष्ण महर्जन, मीम महर्जन, प्रेमबहादुर महर्जन, नवरथ बानियाँ, नरेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाका अनुसार उसले यी उम्मेदवारमध्ये एक जनालाई समर्थन गर्नेछ।
‘हामीले राम्रो स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्छौं, कसलाई समर्थन गर्ने भनेरचाहिँ छलफल गरिसकेका छैनौं,’ सांसद खनालले भने।
स्वतन्त्र उम्मेदवारमध्ये राजमान महर्जन सफाइ अभियन्ता पनि हुन्। कीर्तिपुरमै लहना रेष्टुरेन्ट सञ्चालन गर्ने उनी नगर सफाइबाटै आफ्नो परिचय बनाएका छन्।
उनैलाई समर्थन गर्ने सम्भावना रहेको पनि रास्वपाका नेता बताउँछन्।
‘तर व्यक्ति हाबी भएको र ठीक समयमा निष्कर्ष दिन नसक्ने पार्टी र यसको नेतृत्वले यसै गर्ला भनेर भन्न कहाँ सकिन्छ र!,’ रास्वपाको नगर समिति सदस्यसमेत रहेका एक नेताले भने।
२०७९ सालको प्रतिनिधि सभामा सहरी क्षेत्र (चितवन–१, २, काठमाडौं–२, ६, ७, ८ र उपनिर्वाचनमार्फत् तनहुँ–२) मा जित हात पारेको रास्वपाले अहिले ग्रामीण भेगका गाउँपालिका र नगरपालिकाका वडामा उम्मेदवारी दिएको छ। कतिपयमा दिने तयारी गरिरहेको छ।
तर निर्वाचन हुन लागेको एक मात्र नगरपालिकामै उम्मेदवारी दिन हिच्किचाएपछि रास्वपाकै नेता–कार्यकर्ता आश्चर्यमा परेका छन्।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा छन्। सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रास्वपा त्यसबेलादेखि नै सडक आन्दोलनमा छ।