एक्लाएक्लै चुनाव लड्ने भनेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा गठबन्धन गरेका छन्।
गठबन्धन पनि अचम्मको छ- कांग्रेसको चुनाव चिह्न लिएर एमालेकी नेता केशकुमारी तुलाचन उपाध्यक्षमा उम्मेदवार बनेकी छन्।
तुलाचन एमाले रूकुमपूर्व कमिटीकी उपसचिव हुन्। एमालेकी नेतालाई चुनाव आफ्नो चिह्न (रूख) लिने सर्तमा कांग्रेसले पनि साझा उम्मेदवार बनाएको हो।
आइतबार निर्वाचन अधिकृत कार्यालय पुगेर तुलाचनसहित सात जनाले उम्मेदवारी दिए।
नेकपा (माओवादी केन्द्र) बाट नरपुरा बुढा, नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भीमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (विक) को उम्मेदवारी परेको छ।
गत भदौमा उपाध्यक्ष भुपेन्द्र बुढाको दुर्घटनामा परेर निधन भएपछि रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
१८ हजार ९ सय ५४ जनसंख्या रहेको यो गाउँपालिकामा २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ११ हजार २ सय ५३ जना मतदाता थिए।
अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भए। यहाँ माओवादी केन्द्रको बर्चश्व छ।
२०७९ र २०७४ को स्थानीय तह निर्वाचनमा अधिकांश वडासहित उपाध्यक्ष र अध्यक्ष माओवादीले नै जितेको थियो, उसले कसैसँग गठबन्धन गरेको थिएन।
२०७९ को चुनावमा अध्यक्षमा माओवादीका पुनीराज घर्ती ३ हजार ९ सय १३ मतसहित विजयी भए। त्यसबेला कांग्रेसका उम्मेदवार तेजेन्द्र बुढाले २ हजार एक सय १३ मत ल्याएका थिए।
साथै एमालेबाट अध्यक्षका उम्मेदवार बागलाल बुढा तेस्रो भएका थिए। उनले १८५२ मत प्राप्त गरेका थिए। अध्यक्षमा कांग्रेस र एमालेका उम्मेदवारले त्यसबेला प्राप्त गरेको मत जोड्दा ३ हजार ९ सय ६५ हुन आउँछ।
यसो हुँदा कांग्रेस-एमाले गठबन्धन र माओवादीबीच यहाँ कडा टक्कर हुने देखिएको छ। यसपालि उपनिर्वाचनमा केही नयाँ मतदाता पनि छन्।
यस्तै उपाध्यक्षमा माओवादीकी भुपेन्द्रा बुढाले चार हजार ५९ मतसहित विजयी हुँदा कांग्रेसकी कमला शाही मल्लले २ हजार १० मत र एमालेकी धर्म घर्ती बुढाले एक हजार ८ सय १२ मत प्राप्त गरेकी थिइन्।
कांग्रेस र एमालेका उपाध्यक्ष उम्मेदवारले ल्याएको मत जोड्दा ३ हजार ८ सय १२ हुन आउँछ। त्यसबेला कांग्रेस र एमालेका उम्मेदवारले ल्याएकोभन्दा माओवादीकी उम्मेदवार भुपेन्द्राले २४७ बढी भोट ल्याएकी थिइन्।
यहाँ गाउँपालिकाको ११ वटा वडा माओवादीले जितेको छ, २ वटा वडा एमालेले जित्दा कांग्रेसले एउटा वडामा मात्रै चित्त बुझाएको थियो।
२०७४ को चुनावमा माओवादीका ओमप्रकाश घर्ती अध्यक्षमा र ओमकुमारी शाही मल्ल उपाध्यक्ष विजयी भएका थिए।
त्यसबेला १० वटा वडा माओवादीले जितेको थियो भने २ वटा वडा कांग्रेसले जित्दा २ वडा एमालेले जितेको थियो। यो गाउँपालिकामा १४ वडा छन्।
बहुमत वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष माओवादीले लगातार जितेपछि पुथा उत्तरगंगामा यसपालि कांग्रेस-एमालेबीच गठबन्धन भएको हो।
कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारको सूची पार्टीको फेसबुक पेजबाट सार्वजनिक गरेको छ। तर यहाँ पुथा उत्तरगंगामा रूख चिह्नबाट उम्मेदवार बनेकी एमालेकी नेता तुलाचनको नाम समावेश छैन।
एक्लाएक्लै चुनाव लड्ने घोषणा गरेका संघीय संसदका दुई ठूला दल, कांग्रेस र एमालेले किन गाउँपालिका उपाध्यक्ष पदका लागि गठबन्धन गरेका हुन् भनेर हामीले कांग्रेस रूकुमपूर्वका सभापति केशरमान रोकालाई सोधेका छौं।
सभापति रोकाले स्थानीय आवश्यकताका आधारमा कांग्रेस-एमालेबीच गठबन्धन भएको बताए।
‘हामीलाई केन्द्रले कसैसँग पनि गठबन्धन नगर्नू, एक्लाएक्लै उम्मेदवारी खडा गर्नू भन्ने निर्देशन आएको थियो,’ सभापति रोकाले सेतोपाटीसँग भने, ‘यहाँ माओवादीले दुइपटक चुनाव जितिसक्यो, हामीहरू अलि कमजोर छौं। कांग्रेस-एमाले मिलेर तैपनि जित्न सकिन्छ कि भनेर गठबन्धन गर्ने निर्णयमा पुगेको हो।’
चुनावी गठबन्धन गर्नेबारे कांग्रेस र एमालेबीच लिखित सहमति भने नभएको उनले बताए। ‘हामीले स्थानीयस्तरमै छलफल गरेर गठबन्धन गरेको हो, केन्द्रको निर्देशन होइन,’ सभापति रोकाले भने।
कांग्रेस विधानअनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टिकट जिल्ला संसदीय समितिले दिन सक्छ, केन्द्रको मुख ताक्नु पर्दैन।
गाउँपालिका अध्यक्षसमेत रहेका माओवादी नेता पुनीराज घर्तीले कांग्रेस-एमालेले गठबन्धन गरेर उम्मेदवारी दिए पनि चुनाव माओवादी उम्मेदवारले जित्ने बताए।
‘कांग्रेस-एमालेले यहाँ गठबन्धन गरेका छन्, तैपनि हामी नै (माओवादी) चुनाव जित्छौं,’ उनले सेतोपाटीसँग भने।
गत वर्ष फागुनको महासमिति बैठकमा महामन्त्री गगन थापाले भविष्यमा हुने आवधिक निर्वाचनमा कांग्रेस आफ्नै तागतले एक्लै लड्ने प्रस्ताव गरेकोमा महासमिति र केन्द्रीय समितिबाट पारित भएको थियो।
‘हाम्रो आफ्नो संगठनलाई थप उर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनर्स्थापित गर्नेछौं। हामी भविष्यमा हुने आवधिक निर्वाचनहरुमा आफ्नै तागतमा एक्लै लड्ने छौं। र हाम्रा मतदातालाई रुख चुनावी चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ केन्द्रीय समितिले पनि पारित भएको कांग्रेसको नीतिमा उल्लेख छ।
२०७९ को चुनावमा पुथा उत्तरगंगामा एमालेका उम्मेदवारले भन्दा कांग्रेसका उम्मेदवारले धेरै मत ल्याएका थिए। कांग्रेसले आफ्ना मानिस उपाध्यक्ष नउठाई चुनाव चिह्न लिएकै आधारमा एमालेको नेता तुलाचनलाई साझा उम्मेदवार बनाएको हो।
पहिलेको चुनावमा एमालेकोभन्दा कांग्रेसका उम्मेदवारले केही धेरै मत ल्याएको हुनाले मत क्रस नहोस् भन्नका लागि सूर्यको सट्टा रूख चिह्न लिने गरी एमालेकी नेता कांग्रेसबाट उम्मेदवार बनेकी हुन्।
माओवादी बलियो भएका ठाउँमा कांग्रेस-एमालेले गठबन्धन गरेपछि यसलाई लिएर चर्चा भइरहेका छन्।
उपनिर्वाचनमा कांग्रेस-एमालेबीच पुथा उत्तरगंगामा गठबन्धन भएको विषयले २०८४ को आमचुनावमा यही गठबन्धन निरन्तरता पाउँछ कि भन्ने चर्चासमेत हुने गरेको छ।
गत असार १७ मा कांग्रेस-एमालेबीच ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिको जगमा एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
संघीय संसदका दुई ठूला दल मिलेर सामान्यतया: सरकार नबनाउने उल्लेख गर्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संविधान संशोधन गरेर दुई दलीय व्यवस्था ल्याउने जमर्को भएको पनि आशंका गरेका थिए।
दुई दलीय व्यवस्था ल्याउन खोजेको हो भनेर प्रचण्डले प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकलगायत सहभागी बैठकमै राखे। ओली र देउवाले उक्त विषय स्वीकार गरेनन्।
स्रोतका अनुसार गृहमन्त्री लेखकले दुई दलीय व्यवस्था चाहने हो भने संविधान संशोधनलगायत केही पनि गर्न नपर्ने विषय राखेका थिए।
‘प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेस र एमाले हाराहारीमा रहेका १२५ क्षेत्रमा प्रतिस्पर्धा गर्ने र ४० क्षेत्रमा गठबन्धन गरेर अघि जाँदा माओवादीलगायत दललाई जित्नै गाह्रो पर्ने कुरा बताएका थिए,’ स्रोतले भन्यो, ‘त्यसो हुँदा मुश्किलले दुई/तीन सिट जित्ने माओवादी र अध्यक्ष प्रचण्डको हैसियत के हुन्छ?’