मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वटा वडाध्यक्षसहित ३३ जिल्लाका ४४ स्थानका लागि उपनिर्वाचन हुँदैछ।
निर्वाचन हुन लागेको एक मात्र नगरपालिका, त्यो पनि काठमाडौं उपत्यकाभित्रकै भएकाले कीर्तिपुरको चुनाव चर्चामा छ।
यहाँ प्रमुख पदका लागि २० जना र वडा नम्बर १ को अध्यक्षमा ९ र वडा नम्बर ४ मा १३ जनाले उम्मेदवारी दिएका छन्।
कीर्तिपुरका तत्कालीन प्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का अध्यक्ष हिरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
२०७९ वैशाखमा भएको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा ३० हजार ३ सय २८ मतदाता रहेकामा अहिले ७ सय ८४ जना थपिएर ३१ हजार १ सय १२ पुगेका छन्।
१० वडा, २० मतदान स्थल र ३८ मतदान केन्द्र रहेको कीर्तिपुरमा नेपाली कांग्रेस र नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा छन्।
नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादीको साथ लिएर उम्मेदवारी दर्ता गरेको छ। माओवादी उम्मेदवारलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको साथ छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी (नयाँ शक्ति) पनि प्रतिस्पर्धामा छन्।
उम्मेदवारी चयनमा यसअघि निकै सकस व्यहोर्ने एमालेले यसपटक सर्वसम्मत रूपमा प्रत्यासी छान्यो। कीर्तिपुरमा मात्र नभई देशैभर सर्वसम्मत रूपमा तलबाट सिफारिस भएर आए, सोही नामलाई जिल्ला र प्रदेशले अनुमोदन गरे।
२०७० सालको संविधान सभा निर्वाचनमासमेत प्रत्यासी रहेका सुरेन्द्र मानन्धर एमालेबाट कीर्तिपुर नगर प्रमुखको प्रत्यासी छन्।
पार्टी केन्द्रीय सदस्य मानन्धरसँग चुनाव प्रचारप्रसार, पार्टी र उम्मेदवारको प्रतिबद्धतामा आधारित भएर सेतोपाटीका अक्षर काकाले गरेको कुराकानीः
कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वटा वडाध्यक्षको रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। उम्मेदवारी दर्तापश्चात मत माग्न घरदैलोमा पुगिराख्नुभएको छ। चुनाव हुन लाग्यो भनेर मतदाताहरू चाहिँ कत्तिको उत्साहित छन्? कसरी प्रतिक्रिया व्यक्त गरिरहेका छन्?
नगरपालिकाको प्रमुख र दुई जना वडाध्यक्षको देहावसानपछि यहाँ उपचुनाव हुन लागेको हो। प्रथमतः म दिवंगत नगरप्रमुख र वडाध्यक्षहरूलाई श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
कानूनबमोजिम चुनावको मिति घोषणा भइसकेपछि एउटा राजनीतिक दलको हिसाबले उम्मेदवारी दर्ता गर्नुपर्थ्यो, चुनावमा सहभागी हुनुपर्थ्यो। त्यसकारण म मैदानमा छु। मतदाताहरूले यही रूपमा बुझ्नुभएको छ।
तपाईं उम्मेदवार भइरहँदा नागरिकको प्रतिक्रिया के छ? यो चुनावलाई उनीहरूले कसरी लिएको पाउनुभयो?
मनोनयनको करिब २० दिन अगाडिदेखि नै हामी चुनावी अभियानमा छौं। यसपटक नेकपा (एमाले) को आन्तरिक जीवनमा एकमना एकता देखिएको छ। त्यही मर्म र भावनाका साथ हामीले उम्मेदवार तय पनि गर्यौं।
उम्मेदवारी दर्ता अगाडि नै हामीले सबै टोल, वडामा पार्टीका गतिविधि गर्यौं। एकताबद्ध पार्टी पंक्तिका कारण नागरिकहरूले उत्साह व्यक्त गर्नुभयो। सकारात्मक प्रतिक्रिया व्यक्त गरिराख्नुभएको छ। त्यसले हामीलाई हौसला प्रदान पनि गरेको छ।
आइतबार मनोनयन दर्ता गरेपछि सोमबारबाट अर्को चरणको प्रचार–प्रसार सुरू भएको छ। यसबीचमा हामी घरघरमै पुग्छौं। यो चुनावको महत्त्व, नेकपा (एमाले) का उम्मेदवारले जित्नुपर्ने कारणहरू बताउँछौं।
घर–दैलोमा पनि उत्साह जगाउने खालको सहभागिता छ। यसबाट पार्टी पंक्ति अझ उत्साहित भएर लागिरहेको अवस्था छ।
तपाईं २०७० सालको दोस्रो संविधान सभामा उम्मेदवार हुनुहुन्थ्यो। झन्डै १२ वर्षपछि मैदानमा उपस्थित हुँदै गर्दा के भिन्नता पाउनुभयो? मतदाताको आँखाबाट आफूलाई कुनरूपमा जाँच्नुभयो?
कीर्तिपुर मेरो जन्मभूमि, कर्मभूमि हो। म कुनै औपचारिक पदमा नहुँदा पनि यहाँका जनताको सेवामा थिए। यहाँ आइपर्ने समस्या समाधानमा जनतासँग एकाकार हुन्थेँ। जनताका समस्या समाधानका लागि मेरो व्यक्तिगत क्षमताले भ्याएसम्म म जसरी लागेँ। र, अहिले म फेरि उम्मेदवारका रूपमा फेरि यसरी उपस्थित भएको बेलामा नागरिकहरू खुसी हुनुहुन्छ।
खास गरी मेरो कीर्तिपुरप्रतिको जुन लगाव छ, मेरो सामाजिक राजनीतिक योगदान छ, त्यसबारे यहाँका जनता परिचित हुनुहुन्छ। हिजोदेखि उहाँहरूले बुझ्दै र महसुस गर्दै आउनुभएको छ।
सामाजिक राजनीति क्षेत्रमा भिजेको भनेर जसरी उहाँहरूले प्रतिक्रिया दिइराख्नुभएको छ, त्यसकारण म उत्साहित छु।
संविधान सभाको प्रत्यासी भइसकेर पनि नगरमा उम्मेदवारी दिन किन आउनुभयो भनेर पनि सोध्छन् होला नि!
मैले संविधान सभामा उम्मेदवारी दिएको थिएँ। त्यो कुनै सरकार बनाउने, विकास निर्माणमा अग्रसर हुने जनप्रतिनिधि हुने त्यो थलोको चुनावमा मैले भाग लिएको थिइनँ। स्वभावैले संविधान सभाको काम के हो भन्दा, निर्धारित समयमा संविधान दिने र आफ्नो दायित्व पूरा गर्ने।
२०७० सालमा दोस्रो संविधान सभाको निर्वाचन भयो। उसले दुई वर्षभित्र संविधान दियो। संविधान सभाको काम पूरा भयो। त्यसपछि प्रतिनिधि सभामा चुनाव भयो। त्यसकारण मेरो आग्रह के हो भने, म प्रतिनिधि सभाको चुनाव लडेको होइन, थिइनँ।
त्यो बेला संविधान सभा सदस्य भएका साथीहरू, उम्मेदवार भएका साथीहरू त्यसपछिका स्थानीय तहका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख हुनुभएको इतिहास छ। एकपटक संविधान सभाका प्रत्यासी भइसकेकाहरू अहिले पनि दर्जनभन्दा स्थानीय तहका प्रमुख, उपप्रमुख हुनुहुन्छ।
नेपालमा मात्र होइन, विश्वका अन्य देशमा पनि यो अभ्यासमा छ।
स्थानीय तह आफैमा सरकार हो। यो कुनै संघीय सरकारको मातहत होइन। आफै स्वायत्त, स्वतन्त्र ढंगले उत्तरदायित्व सिर्जना गर्ने सरकार हो। तसर्थ संविधान सभाको उम्मेदवार भएको मानिस स्थानीय सरकार सञ्चालन गर्न आउनु हुँदैन भन्ने प्रश्न कानूनी पनि भएन, राजनीतिक पनि भएन र सामाजिक पनि भएन।
यहाँका जनताका सुख–दुःखलाई बुझेर, कीर्तिपुर योभन्दा राम्रो, लाख मानिस बस्नयोग्य सहर बनाउने दायित्व अहिले हामीमा छ। यसलाई कसरी व्यवस्थित गर्ने, कसरी सुरक्षित राख्ने, वातावरणीय हिसाबले कसरी राम्रो सहर बनाउने भनेर हामीले केही कल्पना गरेका छौं।
हामीले केही सपना साँचेका छौं। त्यही सपनालाई कार्यान्वयन गर्नका लागि मैले नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको हुँ।
के–के हुन् त ती सपनाहरू?
कीर्तिपुरको राजनीतिक, साँस्कृतिक विकासका निम्ति, यहाँका सम्पदाहरूको संरक्षण र सम्बर्द्धनका निम्ति, शैक्षिक तथा आर्थिक उन्नयनका लागि हामीले सबै राजनीतिक दललाई मिलाएर लैजान सकेका थियौं। केही समयअगाडिसम्म यस्तो थियो।
एकताबद्ध हिसाबले अगाडि बढ्दै आएको कीर्तिपुर हो यो। कीर्तिपुरवासी जनताको एकताकै कारण हामीले ठुल्ठूला काम गर्न सकेका पनि थियौं। कीर्तिपुर यातायातको क्षेत्रमा अग्रणी थियो। कीर्तिपुर यातायातले देशैभरि नाम कमाएको थियो। आर्थिक विकासका क्षेत्रमा पनि कीर्तिपुरलाई एकताबद्ध बनाउन सकेका थियौं।
तर यो बीचमा यस प्रकारको एकतामा केही शिथिलता उत्पन्न भए। अवरोध उत्पन्न भयो।
त्यो पुरानो एकताभावलाई ब्युँताउँदै सबैको कीर्तिपुर बनाउन सबै मिलेमात्रै सम्भव छ भन्ने मान्यता पुनः स्थापित गर्न पनि हामी उम्मेदवार भएका छौं। त्यसका लागि पनि एमालेले जित्न आवश्यक छ।
यहाँले कीर्तिपुरको पुरानो वैभवलाई ब्युँताउने बताउनुभयो। त्यसका लागि केही योजनाहरू पनि सुनाउनुभयो। तर छोटो कार्यकालका लागि यहाँ उम्मेदवार बन्दै हुनुहुन्छ। अढाइ वर्ष कार्यकालमा यी काम पूरा गर्न सम्भव होला त?
इच्छाशक्ति, चाहना र समयमा गर्न सक्ने क्षमता प्रदर्शन गर्ने हो भने समय गौण कुरा हो। कीर्तिपुर बनाउन दुई वर्ष पनि पर्याप्त हो। हामी दुई वर्षमै कीर्तिपुर बनाउँछौं।
कीर्तिपुरलाइै हामी भोलिका दिनमा दिगो विकासको अवधारणका साथ अघि बढाउँछौं। त्यसका लागि पहिलो हाल भएका पूर्वाधारहरूलाई विकास गर्दै लैजान्छौं। दोस्रो, अहिले कीर्तिपुरमा नगरी नहुने कामहरूलाई प्राथमिकतामा राख्छौं।
यहाँलाई जानकारी गराऊँ, अहिले सक्षम नेतृत्वको अभावले कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि अन्यौलमा छन्। सक्षम नेतृत्व नभएकै कारण आफै सरकार हुँदाहुँदै पनि कार्यसम्पादन गर्न सकेको छैन। सक्षम नेतृत्व नभएकै कारणले अहिले जनप्रतिनिधिबीचमा एकापसमा कामको तालमेल मिलिरहेको छैन। उहाँहरूबीचको एकताभाव क्षीण बन्दै गइरहेको छ। यी सबैलाई पूर्ति गर्नका निम्ति पनि समक्ष नेतृत्व निर्वाचित हुनु आवश्यक छ।
अहिले उपमेयर जनता समाजवादी पार्टीबाट हुनुहुन्छ। ८ जना वडाध्यक्ष कांग्रेसबाट निर्वाचित हुनुहुन्छ। हामी निर्वाचित हुनुको सन्देश हुनेछ– अब कीर्तिपुर मिलेर चलाऊ। एकताभाव प्रदर्शन गर।
भिडिओ: