नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एकीकृत महाकाली सन्धि राष्ट्रवादी भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा एमालेले गरेको जागरण सभामा बोल्दै महासचिव पोखरेलले २०५३ असोज ४ गते नेपाल र भारतका बीचमा भएको महाकाली सन्धि राष्ट्रघाती भएको भए उहिल्यै कार्यान्वयनमा गइसक्ने बताए।
‘नेकपा (एमाले)लाई चौतर्फी आक्रमण र घेराबन्दी गरिँदै आएको छ। एमालेलाई समाप्त पार्नका लागि अनेक प्रकारका षड्यन्त्र गरिएको छ। कहिले महाकाली सन्धिका नाममा एमालेलाई विभाजन गर्ने दुष्प्रयत्न गरियो। महाकाली सन्धि वास्तवमा नेपालको राष्ट्रहितको विपक्षमा हुन्थ्यो भने त्यो सन्धि उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो। नेपालको इतिहासका जलस्रोतको उपयोगको सन्दर्भमा त्यो सबैभन्दा राष्ट्रवादीका रूपमा एकीकृत महाकाली सन्धिका रूपमा अगाडि बढाउनका लागि प्रयत्न गर्दा हाम्रो पार्टीलाई बदनाम गर्ने कोसिस मात्र भएन, विभाजनसमेत गरियो,’ उनले भने।
तर चट्टान बनेर खडा भएका कार्यकर्ता पंक्तिले विभाजन गरेको पार्टीलाई एकताबद्ध बनाएको महासचिव पोखरेलको भनाई थियो।