मंसिर १६ गते कर्णालीका आठ ठाउँमा उपनिर्वाचन हुँदै छ। पालिका अध्यक्ष, उपाध्यक्ष, उपमेयर र पाँच जना वडा अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो।
दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपमेयर र हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। यी तीन पालिकामध्ये सर्केगाड र नलगाडमा २०७९ को स्थानीय तह निर्वाचनको मतपरिणाम नेपाली कांग्रेस र माओवादीले गठबन्धन गरेर आफ्नो पक्षमा पारेका थिए। महाबुमा भने कांग्रेसले एक्लै लडेर जितेको थियो।
सर्केगाड गाउँपालिका र नलगाड नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन थियो। गठबन्धन गर्दा सर्केगाडमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी उम्मेदवार निर्वाचित भएका थिए। नलगाडको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए। महाबु गाउँपालिकामा भने नेपाली कांग्रेस एक्लै लड्दा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो।
गत चुनावमा महाबुमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले चुनावी गठबन्धन गरेका थिए। माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवै पद समाजवादीका लागि छोडेको थियो। अहिलेको निर्वाचनमा भने तीन वटै पालिकामा दलहरु एक्लाएक्लै लड्दै छन्। यसअघि गठबन्धन गरेका प्रमुख दलहरु एक्लै लड्दा सर्केगाडमा कांग्रेस र नलगाडमा माओवादी केन्द्र बलिया देखिन्छन्। अघिल्ला दुई निर्वाचनको मतपरिणामले समेत यही देखाउँछ।
२०७९ को निर्वाचनमा सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदमा लडेका माओवादीका चन्द्रसिंह कार्की ३ हजार २६९ मत ल्याएर निर्वाचित भएका थिए। यो कांग्रेस र माओवादीको गठबन्धन भोट हो। गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका कांग्रेसका ठानबहादुर रोकायाले ३ हजार ५४३ मत ल्याएर निर्वाचित भएका थिए।
२०७९ मा सर्केगाडका आठ वटा वडामध्ये माओवादीले तीन वटा वडामा अध्यक्ष जितेको थियो। एमाले र कांग्रेसले दुई/दुई वटा वडा जितेका थिए। एक वडामा स्वतन्त्र उम्मेदवारले अध्यक्ष पदमा जितेका थिए।
२०७४ को स्थानीय तह निर्वाचनमा सर्केगाडमा एमाले र माओवादी मिलेर चुनाव लडेका थिए। त्यसबेला पालिकाको अध्यक्ष पदमा माओवादीलाई एमाले र उपाध्यक्षमा एमालेलाई माओवादीले सघाएका थिए। यसरी लड्दा माओवादीका उम्मेदवार कृष्णबहादुर रोकाया १ हजार ९२० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए। एमालेका जोशी धामी १ हजार ८४५ मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएका थिए।
२०७४ को निर्वाचनमा पनि सर्केगाडका आठ वटा वडामध्ये माओवादीले तीन, एमाले र कांग्रेसले दुई/दुई वटा र स्वतन्त्र उम्मेदवारले एक वडामा अध्यक्ष जितेका थिए।
यो पटकको उपनिर्वाचनमा सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि पाँच दल एक्लाएक्लै लडेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा र रास्वपा चुनावी मैदानमा छन्। उनीहरुसँगै एक जना स्वतन्त्र उम्मेदवार पनि भिडेका छन्।
२०७४ को निर्वाचन परिणामलाई हेर्दा अहिलेको उपनिर्वाचनमा सर्केगाडमा माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ।
निर्वाचन परिणामअनुसार यहाँ नेपाली कांग्रेस बलियो देखिन्छ। २०७४ मा माओवादी र एमाले मिलेर लड्दा पनि नेपाली कांग्रेसका उम्मेदवारले कडा टक्कर दिएका थिए। दुवै दलको संयुक्त उम्मेदवार बनेका माओवादीका रोकायाले १९२० मत पाएर अध्यक्ष जित्दा एक्लै लडेका कांग्रेस उम्मेदवार मंगलबहादुर शाहीले १ हजार ७७५ मत ल्याएका थिए। यस्तै उपाध्यक्षमा संयुक्त रुपमा उम्मेदवार बनेका एमालेका धामीले १ हजार ८४५ मत ल्याएर जित्दा कांग्रेसका चन्दा फडेराले १ हजार १७२ मत ल्याएका थिए।
अहिले सर्केगाडमा कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राप्रपाबाट संगिता शाही र रास्वपाबाट बाँचा शाही उम्मेदवार छन्। नरेश शाही स्वतन्त्र उम्मेदवार छन्।
माओवादीबाट उम्मेदवार बनेकी तिमल्सेना माओवादी केन्द्र हुम्लाका अध्यक्ष डा. दीपेन्द्र रोकायाकी श्रीमती हुन्।
स्थानीय तहका अघिल्ला दुई वटा निर्वाचनको मत परिणामलाई हेर्दा नलगाड नगरपालिकामा पनि माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ। २०७४ को मतपरिणामले माओवादी कांग्रेसभन्दा बलियो देखिन्छ।
२०७९ मा नलगाडमा माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो। गठबन्धनबाट मेयरको उम्मेदवार बनेका डम्बरबहादुर रावत ५ हजार ५९९ मत ल्याएर निर्वाचित भएका थिए। त्यसबेला गठबन्धनमा चित्त नबुझाएका नेपाली कांग्रेसका छवि पन्तले पनि मेयर पदमा उम्मेदवारी दिएका थिए। उनले ६ सय ५२ मत मात्र ल्याए। दुई जनाको मत जोड्दा गठबन्धनलाई त्यसबेला ६ हजार २ सय ५१ मत आएको देखिन्छ।
एमालेबाट उम्मेदवार धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत ल्याएर दोस्रो भएका थिए। उपमेयरमा भने गठबन्धनको एउटा मात्र उम्मेदवारी परेको थियो। कांग्रेसबाट गठबन्धन उम्मेदवार सरिता सिंह ५ हजार ४ सय ६ मत ल्याएर निर्वाचित भइन्। प्रतिद्वन्द्वी एमालेकी सुनिता बोहराले ३ हजार ३ सय ९३ मत ल्याएर दोस्रो भएकी थिइन्।
नलगाडमा प्रमुख दलहरु एक्लाएक्लै लडको २०७४ को निर्वाचनको परिणाम हेर्दा कांग्रेस दोस्रो भएको थियो। २०७४ को निर्वाचनमा माओबादीबाट टेकबहादुर रावल ३ हजार ४ सय १८ मत ल्याएर मेयर पदमा विजयी भएका थिए।
नेपाली कांग्रेसका उम्मेदवार छवि पन्त २ हजार ८ सय ९८ मत ल्याएर दोस्रो भएका थिए। उपमेयरमा माओवादीका बालकुमारी बस्नेत ३ हजार २ सय ४१ मत ल्याएर निर्वाचित भएकी थिइन्। उनका प्रतिद्वन्द्वी कांग्रेसकी धनमाया शाही २ हजार ९ सय १२ मत ल्याएर दोस्रो भइन्। २०७४ को मत परिणामअनुसार नलगाडका दुवै पदमा एमाले तेस्रो बनेको थियो।
नलगाडका १३ वटा वडामध्ये २०७९ मा माओवादीले ७ वटा वडामा जितेको थियो। एमालेले ४ र कांग्रेसले दुई वटा वडा जितेको थियो।
२०७४ मा माओवादीले पाँच वटा वडामा जितेको थियो। त्यसबेला काँग्रेसले चार र एमालेले तीन वटा वडा जितेका थिए। एउटा वडामा स्वतन्त्र उम्मेदवारले जितेका थिए।
उपमेयर पदका लागि हुने अहिलेको उपनिर्वाचनमा नलगाडमा ६ वटा दलले एक्लाएक्लै प्रतिस्पर्धा गर्दैछन्। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी चुनावी मैदानमा उत्रिएका हुन्। कांग्रेसबाट ईन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, राप्रपा नेपालबाट सुनिता पुन रावल, माओवादी केन्द्रबाट देवका लामिछाने, नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसी र रास्वपाबाट पार्वती पुन उम्मेदवार छन्।
कांग्रेसबाट उम्मेदवार सिंह यसअघिका उपमेयर सरिता सिंहकी भाइबुहारी हुन्। सरिताको गत बर्षको भूकम्पमा परि मृत्यु भएको थियो। एमालेकी उम्मेदवार बोहोरा यसअघि २०७९ को चुनावमा एमालेबाटै उपमेयर उम्मेदवार बनेकी थिइन्।
त्यस्तै गएका दुईवटा निर्वाचनको परिणाम हेर्दा महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। मत परिणामका आधारमा दुवै दल उत्तिकै बलिया देखिएका छन्।
२०७४ को निर्वाचनमा एमालेबाट जंगबहादुर शाही अध्यक्षमा निर्वाचित भएका थिए। त्यसबेला उनले ३ हजार ५ सय २२ मत ल्याए। उनका प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर शाहीले २ हजार ९ सय मत ल्याएका थिए। माओवादीका उम्मेदवार जंगबहादुर बरालले ७ सय ३३ मत ल्याएका थिए।
उपाध्यक्षमा एमालेकै प्रेमकुमारी बुढा ३ हजार ५ सय ८ मत ल्याएर निर्वाचित भएकी थिइन्। प्रतिस्पर्धी कांग्रेसकी मञ्जुकुमारी शर्माले २ हजार ८ सय ८७ मत ल्याएकी थिइन्। माओवादीबाट उम्मेदवार बनेकी रूपकला रावतले ८ सय ३८ मत ल्याएकी थिइन्।
२०७९ को निर्वाचन अघि नै एमाले फुटेपछि महाबुमा कांग्रेसलाई फाइदा भएको थियो। २०७४ मा अध्यक्ष बनेका जंगबहादुर शाही २०७९ मा नेकपा (एकीकृत समाजबादी) बाट उम्मेदवार बनेका थिए। समाजवादीलाई नेकपा माओवादी केन्द्रले सहयोग गरेको थियो। अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीले उम्मेदवारी दिएन।
समाजवादी र माओवादी मिलेर लडेको २०७९ को महाबुको निर्वाचनमा कांग्रेस र एमाले एक्लाएक्लै लडेका थिए। उक्त निर्वाचनमा कांग्रेसका लक्ष्मण गुरूङ अध्यक्षमा निर्वाचित भए। उनले २ हजार ९ सय ७९ मत ल्याएर निर्वाचित हुँदा एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५ सय १९ मत ल्याएर दोस्रो भए। समाजवादीबाट लडेका शाहीले एमालेको नजिक मत ल्याए। उनले २ हजार २ सय ६८ मत पाएका थिए।
२०७४ मा महाबुका ६ वटा वडामध्ये एमालेले चार वटा वडामा जितेको थियो। कांग्रेसले दुई वटा वडामा जितेको थियो। २०७९ मा आएर वडामा एमाले खुम्चियो। एमालेले एउटा मात्रै वडा जितेको थियो। कांग्रेसले तीन र माओवादीले दुई वडा जितेका थिए।
अहिलेको उपनिर्वाचनमा शाही पुनः एमालेमा फर्किएर अध्यक्ष उम्मेदवार बनेका छन्। उनले एमालेबाट टिकट पाउँदा अन्य दाबेदार असन्तुष्ट बनेको देखिन्छ। २०७४ को मत परिणामले महाबुमा एमाले बलियो देखिएता पनि पार्टीले गरेको निर्णयले असर पार्ने सम्भावना छ।
यदि एमालेलाई कुनै कारणबाट चुनावी असर परे फेरि पनि फाइदा कांग्रेसलाई हुन्छ। यद्यपि नेतृत्व चयनमा नयाँ दल र युवा उम्मेदवारलाई मतदाताले गर्ने परीक्षणले महाबुमा पुराना मुख्य प्रतिस्पर्धी दललाई प्रभाव पार्न सक्छ।
अहिलेको उपनिर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि सात वटा दल चुनावी मैदानमा छन्। कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एकीकृत समाजवादीबाट जगत हमाल, रास्वपाबाट प्रकाश बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर उम्मेदवार छन्।
कर्णालीका यी तीन वटै पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ दलका रुपमा चुनावी मैदानमा छ। हुम्लाको सर्केगाडमा एक जना स्वतन्त्र उम्मेदवार चुनावमा उत्रिएका छन्। यी उम्मेदवारले मुख्य प्रतिस्पर्धी दललाई कतै न कतै प्रभाव पार्ने अनुमान गरिएको छ।