सहकारी ठगी, संठगित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौं ल्याइँदैछ।
उनलाई बिहान ८ः४० को बुद्ध एयरको उडानमार्फत् काठमाडौं ल्याउन लागेको छ।
काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको निक्षेप अपचलनको अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइन लागेको हो।
यसअघि उनलाई सुप्रिम बचत तथा ऋण सहकारीको निक्षेप अपचलनमा संलग्न देखिएको भन्दै रूपन्देही पनि लगिएको थियो।
त्यहाँ दुई दिन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि उनलाई बुटवल नै फर्काइएको थियो।
सहकारी ठगी तथा संगठित अपराधको कसुरमा सभापति लामिछाने गत कात्तिक २ गते पार्टी कार्यालय चःमतिबाट पक्राउ परेका थिए।
प्रहरीले उनीमाथि पाँच पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। पछिल्लोपटक उनलाई अनुसन्धानका लागि १५ दिनको म्याद थप भएको छ।
रवि लामिछानेविरूद्ध चितवनको सहारा बचत तथा ऋण सहकारीको निक्षेप दुरूपयोगमा संलग्न भएको भन्दै त्यहाँबाट पनि पक्राउ पुर्जी जारी भएको छ।
यसैबीच हिसारतमा रहेका सभापति लामिछानेलेकम्पनीको जिम्मेवारी पूरा गर्दा पनि आफूमाथि निरन्तर अन्याय गरिएको बताएका छन्।
हिरासतमा भेट्न पुगेका रास्वपाका नेतासँग उनले यस्तो गुनासो गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
‘यस प्रसंगलाई यसरी उचालिएको छ कि मानौं मैले सहकारीबाट ऋण मागेको, लगेको, खाएको, मासेको प्रमाण नै फेला पर्यो। गोर्खा मिडियाले सम्झौता गरेका कर्मचारी, कम्पनी, भेण्डर आदिलाई भुक्तानी दिन प्रदान गरिएका चेकहरूबारे तथा कार्यकारी अध्यक्षको निर्देशन पालना गरी भुक्तानी गरिएको बैंक, वित्तीय संस्था, कम्पनी, वा व्यक्तिका हकमा मेरो जवाफदेहिता रहन्छ। प्रचलित कम्पनी ऐन बमोजिम गोर्खा मिडियाले तिरेको पैसाको जिम्मेवारी र जवाफदेहिताबाट मैले निमुख हुन्छु भनेको छैन, हुन्न। तर सहकारीबाट पैसा ल्याउने कार्यमा मेरो संलग्नता थिएन, छैन। मैले गोर्खा मिडियाका खाताहरु रहेको चेकमा हस्ताक्षर गरी भुक्तानी गर्दा कुन–कुन चेकले कुन–कुन कानूनको उलंघन भयो? आज पो सुप्रिम, सुर्यदर्शनजस्ता सहकारीका समस्या सार्वजनिक भयो। तीन वर्ष अगाडि लगानीकर्ताको निर्देशसनसँगै निश्चित विधि र प्रक्रिया पूरा गरी आएका बैंक, वित्तीय संस्था, सहकारी वा कुनै कम्पनीलाई दिइने चेकमा हस्ताक्षर गर्न किन सोच्नुपथ्र्यो र?,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भनेका छन्।
पोखराको सुर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, वीरगञ्जको सानो पाइला, काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड रुपैयाँ गएको संसदीय छानबिन समितिले देखाएको थियो।
संसदीय समितिले सहकारीको पैसा गोर्खा मिडियामा नेटवर्कमा लैजाने भूमिका सभापति लामिछानेको नदेखिएपछि पैसा परिचालनमा उनको संलग्नता रहेको उल्लेख गरेको थियो।
तर पछिल्लो समय सभापति लामिछानेले सहकारीमा ऋणको ब्याज तिर्न आफैले चेक काटेको भेटिएको छ।
यो पनि:
सहकारीको पैसा गोर्खा मिडियामा गएको रवि लामिछानेलाई थाहा थिएन भन्ने 'च्याप्टर क्लोज' (भिडिओ)
सूर्य थापाले सहकारी छानबिन समितिमा बिताएका ९९ दिन