राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुरमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) लाई समर्थन गर्ने तयारी गरेको छ।
सफाइ अभियन्ताका छवि बनाएका मानवले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्। उनाई समर्थन गर्ने सम्भावना रहेको र त्यसको आधिकारिक घोषणा हुन भने बाँकी रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
‘यसअघि नै हामीले गैरदलीय उम्मेदवारलाई समर्थन गर्छौं भनेका थियौं,’ झाले सेतोपाटीसँग भने, ‘केन्द्रीय परिषद्को राष्ट्रिय भेलामा नै स्थानीय तह उपनिर्वाचनको सन्दर्भमा तीनवटा कुरा भनेका थियौैं। पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमै त्यो कुरा उल्लेख थियो। पहिलो हामी आफै उम्मेदवारी दिन्छौं। दोस्रो, हाम्रोभन्दा राम्रो उम्मेदवार भए गैरदलीय त्यस्ता उम्मेदवारलाई समर्थन गर्छौं। र, संगठन नबनेका ठाउँमा हामी उम्मेदवारी नदिएर मौन बस्न पनि सक्छौं। ७० वर्षदेखि संगठन बनाएर बसेका दलहरू मैदानमा छन्।’
कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारी दिएका राजमानको छवि हेरेरै अनौपचारिक हिसाबले उनलाई समर्थन रहेको कुरा बताइरहेको र त्यसलाई आधिकारिकता दिन बाँकी रहेको झाले बताए।
‘हामी असाध्यै संवेदनशील परिस्थितिमा छौं। हामीले समर्थन गरेको उम्मेदवार कतै गलत त भइदिने होइन भन्ने डर पनि छ। त्यसकारण समय लगाएका हौं। मौन अवधि सुरू हुनुभन्दा केही समयअघिसम्म घोषणा गर्न सकिन्छ,’ उनले भने।
उनले कीर्तिपुरमा रास्वपाले अघि सार्न लागेको भन्दा राम्रा व्यक्तित्वले स्वतन्त्र उम्मेदवारी दिएकाले पार्टी मौन बस्दै त्यहाँ उम्मेदवारी नदिएको बताए।
रास्वपाका नगर सभापति जयराम कार्कीले पनि पार्टीले कसलाई समर्थन गर्ने भनेर निर्णय नगरिसकेको बताए। बुधबार साँझसम्म केन्द्रबाट निर्देशन आउनसक्ने उनले सम्भावना व्यक्त गरे।
यद्यपि रास्वपा जिल्ला सभापति प्रदीप विष्टले भने यसअघि नै मानवलाई समर्थन गर्ने बताइसकेका थिए। मावनले आयोजना गरेको सार्वजनिक कार्यक्रममा पुगेका उनले ‘यसपालि तपाईंलाई समर्थन गर्ने’ भनेका थिए।
मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुख सहित, वडा नम्बर १ र ४ को अध्यक्षको पनि उपचुनाव हुँदैछ। रास्वपामा नगर प्रमुखका लागि नगर सभापति कार्की एक मात्रै आकांक्षी थिए। उनले पार्टीले आह्वान गरेको ‘प्राइमरी इलेक्सन’का लागि कात्तिक २२ गते आवेदन दिएका थिए।
वडा नम्बर १ मा कोही आकांक्षी देखापरेका थिएनन्। वडा नम्बर ४ मा सुशील बाँस्कोटा आकांक्षी थिए। उनले पनि एकलरूपमा उम्मेदवारी दिएका थिए।
पछि उम्मेदवारी दर्ताको समयसीमा सकिएपछि जिल्ला सभापति विष्टको समूहले अर्को उम्मेदवार खडा गर्न खोजेको भन्दै त्यहाँ विवादसमेत भएको थियो। रास्वपा बागमती प्रदेश समितिका पदाधिकारीसहितको समूह गएर दुवैपक्षसँग कुराकानी पनि गरेको थियो।
अन्तिममा रास्वपा वडामा पनि उम्मेदवारी नदिने निचोडमा पुग्यो।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–१० भित्र पर्ने कीर्तिपुरबाट रास्वपाले राम्रै मत पाएको थियो। काठमाडौं–१० मा प्रत्यासी बनेका रास्वपा उम्मेदवार विष्टले त्यतिबेला ८ हजार ७ सय ३९ मत पाएका थिए।
काठमाडौं–१० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले १४ हजार ४ सय ६३ मत प्राप्त गरेका थिए। दोस्रो भएका नेकपा (एमाले) का हिमेश केसीले ११ हजार ७ सय ९१ ल्याएका थिए। रास्वपाका विष्ट तेस्रो भएका थिए।
कीर्तिपुरको उपनिर्वाचनमा कांग्रेस, एमाले एक्लाएक्लै मैदानमा छन्। कांग्रेसबाट पार्टी नगर सभापति कृष्णमान डंगोल प्रतिस्पर्धामा छन्। एमालेले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले एकीकृत समाजवादी, अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको समर्थनमा साझा उम्मेदवार शिवशरण महर्जनलाई अघि सारेको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले दीपक महर्जन (हनी)लाई अघि सारेको छ। उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका पनि हुन्। जसपा, नेपालले वडा नम्बर ४ को अध्यक्षमा त्यही समूदायका राजीव महर्जनलाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले दिलकुमार महर्जनलाई उम्मेदवार बनाएको छ।
त्यसो त त्यहाँ एकीकृत समाजवादीका भानु रिजालले पनि नगरप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका थिए। तर उनले मंगलबार आफ्नो उम्मेदवारी निष्क्रिय तुल्याउँदै माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनलाई समर्थन गर्ने बताएका हुन्।
कीर्तिपुरका मेयर राजकुमार नकर्मीको गत साउन ११ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
गत फागनुमा वडा नम्बर १ का अध्यक्ष हिरालाल महर्जनको निधन भएको थियो। त्यस्तै वैशाख १० गते वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको थियो। मेयर नकर्मी कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका थिए। वडा नम्बर १ का अध्यक्ष महर्जन पनि कांग्रेसबाटै उम्मेदवार बनेर निर्वाचित भएका थिए। वडा नम्बर ४ का अध्यक्ष भने स्वतन्त्र थिए।