धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर–१ मा अध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
उपचुनावको प्रचारमा नेताहरूको लर्को छ। विभिन्न पार्टीका स्थानीय र केन्द्रीय नेता आफ्ना उम्मेदवारका पक्षमा भोट माग्न व्यस्त छन्।
नेपाली कांग्रेसबाट लगातार दुई पटक वडाध्यक्ष जितेका विश्वनाथ यादवको २०८१ जेठ ३१ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
विभिन्न पार्टी र स्वतन्त्र गरी वडाध्यक्षका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसबाट अशोककुमार मण्डल, नेकपा (एमाले) बाट प्रमोद यादव, नेकपा (माओवादी केन्द्र) बाट सुनिल कापर केवट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेवसिंह दनुवार, जसपा नेपालबाट अजयकुमार यादव, जनमत पार्टीबाट कुशेश्वर मण्डल, बहुजन एकता पार्टीबाट प्रमिलाकुमारी सदा उम्मेदवार छन्।
निर्वाचन आयोगका अनुसार यस वडामा तीन हजार २२६ मतदाता छन्। स्थानीयका अनुसार यहाँ कांग्रेस, एमाले, माओवादी र जसपाका उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा छ।
यद्यपि गत निर्वाचनको मत हेर्दा यहाँ कांग्रेस बलियो छ। गत स्थानीय तह चुनावमा कांग्रेसका यादवले ६१८ मत ल्याएर निर्वातित हुँदा एमालेका प्रमोदले ३७७ मत ल्याएका थिए।
कांग्रेसबाट निर्वाचित भएका धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल पनि यही वडाका हुन्।
कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना, सहमहामन्त्री महेन्द्र यादवलगायत नेताहरू पनि आफ्नो पार्टीका उम्मेदवारका पक्षमा मत माग व्यस्त छन्।
माओवादीका उम्मेदवार सुनिलले गत चुनावमा ३६९ मत ल्याएका थिए। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार देवनरायण यादवले ३२५ मत ल्याएका थिए भने बहुजन एकता पार्टीका उमेशकुमार सदा १२५ मत ल्याएका थिए।
अन्य उम्मेदवारले भने ५४ मत कटाउन सकेका थिएनन्।
एमालेका मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव लगायतका नेताहरू आफ्नो पार्टीका उम्मेदवारका पक्षमा मत माग्न घरदैलोमा व्यस्त छन्।
एमालेका वडाध्यक्ष उम्मेदवार प्रमोदले मतदाताको मत आफ्नो पक्षमा पार्न भेटघाटलाई निरन्तरता दिएको बताए।
‘मैले अघिल्लो चुनावमा हारेर पनि निरन्तर जनतको काम गरेँ। कृषि, स्वास्थय र शिक्षा लगायतका एजेण्डा बोकेर भेटघाट गर्दैछु। माहोल राम्रो बनेको छ, यसपटक जित्छु,’ उनले भने।
कांग्रेस उम्मेदवार अशोकले भने विगतका वडाध्यक्षले कम समयमा पनि राम्रो काम गरेको र बाँकी काम आफूले गर्ने जिम्मा जनताले दिने मनस्थिती बनाइसकेको बताए।
‘कांग्रेसले राम्रो काम गरेकै कारण दुई पटक जनताले विश्वनाथ यादवलाई जिताउनु भयो। अब उहाँको बाँकी काम म अघि बढाउँछु। जितेपछि यो वडालाई नमूना वडा बनाउँछु,’ उनले भने।
माओवादीका उम्मेदावर सुनिलले जितेपछि के-के काम गर्ने भनेर जनतालाई बुझाइरहेको प्रतिक्रिया दिए।
माओवादीका जिल्ला अध्यक्ष दीपक यादव लगायत नेता पनि घरदैलो अभियानमा खटिएका छन्। यहाँ माओवादीका उम्मेदवारलाई एकीकृत समाजवादीले पनि समर्थन गरेको छ।
समाजवादीबाट मनोनयन दर्ता गराएका गोपाली साहले माओवादीका उम्मेदवार कापरलाई समर्थन गरी उम्मेदवारी फिर्ता लिएका हुन्।
जसपा नेपालका उम्मेदवार अजयकुमार यादवको प्रचारमा पार्टी अध्यक्ष उपेन्द्र यादव नै खटिएका छन्।
विगतमा जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य र कृषिमा केही पनि काम गर्न नसकेको बताउँदै उनले अफू निर्वाचित भएपछि यी क्षेत्रमा काम गर्ने बताएका छन्।
‘शिक्षा र स्वास्थ्य निकै भद्रगोल छ, विगतमा केही भएन। कृषि सिंचाइमा मिटर फ्रि गर्ने लगायतको मेरो चुनावी एजेण्डा छ,’ जसपा नेपालका उम्मेदवार यादवले भने।