नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको चुनाव जनमत संग्रह भएको बताएका छन्।
बिहीबारब नःगाउँ दोबाटोमा आयोजित चुनावी सभामा बोल्दै देशका ४४ स्थानमध्ये कीर्तिपुरमा मेयरको चुनाव भइरहेकाले यो जनमत संग्रह नै भएको उनको दाबी थियो।
‘देशभर ४२ वटा स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। त्यसमध्ये नगरपालिकाको प्रमुखको निर्वाचन यहाँ मात्रै हुँदैछ। गाउँपालिकाको अध्यक्ष, मोरङमा, उपाध्यक्षहरू, वडाध्यक्षहरूको चुनाव विभिन्न ठाउँमा छन्। हामीलाई नेपाली जनता हेर्दैछन्, कि नेपाली जनता कसको पक्षमा छन्। यो चुनाव, यो कीर्तिपुरको चुनाव अहिलेको अवस्थाका लागि भन्ने हो भने एउटा किसिमको जनमत संग्रह नै हो,’ उनले भने।
उपाध्यक्ष पाण्डेले कीर्तिपुर क्रान्तिको थलो भएको बताए।
‘२००७ साल, २०३६, २०४६ साल होस् कि, २०६२–०६३ आन्दोलन होस् हरेक समयका कीर्तिपुर रगत बगाएको छ। यो रगतको सम्मान गर्नका लागि, सलाम गर्नका लागि म यहाँ आएको छु। क्रान्तिका केन्द्रका मतदाताले आफ्नो मतलाई सहीठाउँमा खसाल्नु पर्छ,’ उनले भने।
दुइटा ठूला पार्टी; नेपाली कांग्रेस, नेकपा (एमाले) मिलेर भ्रष्टाचार, अनियमितता छानबिन गर्न सरकार बनाएको उनले बताए।
‘सबै भ्रष्टाचारका काण्ड छोप्नका लागि अहिले सरकारबनाएका छन्। भुटानी शरणार्थी, गिरिबन्धु, टी इस्टेट, हालसालकै कुरा गर्नुहुन्छ भने मन्त्रीहरू मानिसहरू जापान बेच्न लिएर हिँडिरहेका छ्न, यस्तायस्ता घटनामा मुछिएका मानिसहरूलाई छोपेर सुरक्षा गर्न सरकार बनेको हो। भ्रष्टाचार र अव्यवस्थाकाविरूद्ध मिलेर उम्मेदवारी दिएको हौं,’ उनले भने।
कीर्तिपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले शिवशरण महर्जनलाई साझा उम्मेदवार बनाएका छन्।
मंसिर १६ गते कीर्तिपुरको मेयर र वडा नम्बर १ र ४ को वडाध्यक्षमा उपनिर्वाचन हुँदैछ।