नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत सम्झिँदै नौ महिनामै सरकार छाड्नुपर्दा कीर्तिपुरको २०६४ सालको चुनावी बाचा पूरा गर्न नसकेको बताएका छन्।
स्थानीय तह उपनिर्वाचनमा माअोवादी केन्द्रबाट उम्मेदवार बनेका शिवशरण महर्जनको चुनावी सभालाई सम्बोधन गर्न बिहीबार कीर्तिपुर पुगेका अध्यक्ष प्रचण्डले २०६४ सालको पहिलो संविधान सभाको चुनावी बाचा सम्झिएका हुन्।
कीर्तिपुरको सभा देखेर २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको झल्को आएको पनि उनले बताए।
त्यस चुनावमा तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष रहेका प्रचण्ड काठमाडौं–१० र रोल्पा दुईबाट चुनाव जितेका थिए। पछि रोल्पा–२ छाडेर काठमाडौं–१० लाई कायम राखेका उनी पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएका थिए।
तर सेनापति विवादका कारण उनले नौ महिनामै पदबाट राजीनामा दिएका थिए। २०७० दोस्रो संविधान सभाको निर्वाचनमा भने उनी पराजित भएका थिए।
‘मैले पहिलो पटक प्रधानमन्त्री हुँदा, तपाईं कीर्तिपुरवासीकै जनप्रतिनिधि हुँदै गर्दा मलाई लागेको थियो, मैले पाँच वर्ष नै सरकार चलाउन पाउँछु भन्ने लागेको थियो। र मैले कीर्तिपुरवासी जनताका अगाडि गरेको प्रतिबद्धता पाँच वर्षमा पूरा गर्छु भन्ने थियो। तर नौ महिनामा नै सरकार छाड्नुपर्ने षड्यन्त्रहरू भए। म कीर्तिपुर जनतावासीप्रति अझै ऋणी छु भन्ने मलाई लाग्छ। अब त्यो ऋण तिर्ने अभियान कीर्तिपुर नगरपालिकाको निर्वाचनकोसँगै अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।
कीर्तिपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले महर्जनलाई साझा उम्मेदवार बनाएका छन्।
मंसिर १६ गते कीर्तिपुरको मेयर र वडा नम्बर १ र ४ को वडाध्यक्षमा उपनिर्वाचन हुँदैछ।