नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरको स्थानीय तह उपचुनाव २०८४ को निर्वाचनका लागि आँखीझ्याल हुने बताएका छन्।
पार्टीले अघि सारेको कीर्तिपुर नगरपालिकाका उम्मेदवारले आयोजना गरेको सभालाई सम्बोधन गर्न नगाउँ पुगेका प्रचण्डले यो उपचुनाव आँखीझ्याल हुने बताएका हुन्।
‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश, ४४ वटा उपचुनावबाट दिने सन्देश २०८४ को लागि आँखीझ्याल हुनेछ। यहाँबाट देखिन्छ, ०८४ कस्तो हुन्छ, यहाँबाट देखिन्छ,’ उनले भने।
कीर्तिपुरको परिचय, कीर्तिपुरको पहिचान नै इतिहासदेखि त्याग, वीरता र बलिदानको प्रतीकका रूपमा रहेको उनले बताए।
‘पछिल्लो राजनीतिक परिवर्तनमा पनि कीर्तिपुरले अग्रिम राजनीतिको मोर्चामा बसेर आफ्नो भूमिका निर्वाह गरेको छ। त्यसकारण यो पटक सुशासनको पक्षमा, भ्रष्टाचार र बेबथिति र विभेदका विरूद्ध न्यायका पक्षमा आफ्नो फैसला दिनेछ,’ उनले भने।
कीर्तिपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले शिवशरण महर्जनलाई साझा उम्मेदवार बनाएका छन्।
मंसिर १६ गते कीर्तिपुरको मेयर र वडा नम्बर १ र ४ को वडाध्यक्षमा उपनिर्वाचन हुँदैछ।