एउटा पालिकाको निर्वाचनले राजनीतिक दलहरूको लोकप्रियता, अलोकप्रियताबारे केही सन्देश दिँदैन। दलहरूको समग्र अवस्थाबारे यसले धेरै ठूलो चित्र देखाउँदैन।
तर संघीय राजधानी काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनले भने केही संकेत गरेको छ।
हामीले कीर्तिपुर नगरपालिकाको पछिल्ला तीन निर्वाचनको मत परिणामका आधारमा केही विश्लेषण गरेका छौं।
दल/स्वतन्त्र | २०७४ को निर्वाचनमा पाएको मत प्रतिशत | २०७९ को निर्वाचनमा पाएको मत प्रतिशत | २०८१ को उपनिर्वाचनमा पाएको मत प्रतिशत |
नेपाली कांग्रेस | ३१ | ४२ | २६ |
नेकपा (एमाले) | ३५ | २६ | २१ |
माओवादी केन्द्र | १९ | १९ | २२ |
स्वतन्त्र | ५ | २ | २३ |
२०७४ सालको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिका नेकपा (एमाले) ले जित्यो। एमालेका रमेश महर्जनले ७ हजार ३ सय ६० मत ल्याएर प्रमुख जितेका थिए। उनले त्यतिबेला सदर मतको ३५ प्रतिशत प्राप्त गरेका थिए।
नेपाली कांग्रेसका राजकुमार नकर्मीले ६ हजार ६ सय १६ मत प्राप्त गरेर दोस्रो भएका थिए। उनले ३१ प्रतिशत लोकप्रिय मत प्राप्त गरेका थिए।
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हिराबहादुर महर्जनले ४ हजार ९ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रले त्यतिबेला १९ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो।
२०७९ को स्थानीय तह निर्वाचनमा पुग्दा कीर्तिपुरमा कांग्रेस-एमालेको मतमा उल्लेख्य तलमाथि भयो। २०७४ मा एमालेले ७ वटा वडासहित प्रमुख, उपप्रमुख नै जितेको थियो।
तर २०७९ को निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख मात्रै होइन, प्रभाव नै गुमायो। र, त्यो प्रभाव कांग्रेसमा सर्यो।
कांग्रेसका पुराना नेता राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएर चुनाव जिते। मतदाता बढ्दा पनि अघिल्लो निर्वाचनको तुलनामा एमालेले १ हजार ८ सय ५३ मत कम ल्यायो। त्यसबेला एमालेले दुई दलित वडा सदस्यबाहेक अरू कुनै पनि पद जित्न सकेन।
उक्त निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी नेपालसँग चुनावी तालमेल गरेको थियो। जसपाकी उपप्रमुख उम्मेदवार शुभलक्ष्मी शाक्य कांग्रेसको चुनाव चिह्न लिएर चुनाव जितिन्।
त्यहाँ जसपाको उल्लेख्य मत नरहेको तीन निर्वाचनको आकडाले देखाएको छ। कांग्रेसले उम्मेदवारको लोकप्रियताकै आडमा ‘क्लिनस्वीप’ गरेको थियो।
प्रमुख, उपप्रमुख, ९ वटा वडाध्यक्ष र अधिकांश नगर सभा सदस्य जितेको कांग्रेसले त्यतिबेला ४२ प्रतिशत लोकप्रिय मत प्राप्त गर्दै बर्चस्व स्थापित गरेको थियो।
माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ९० मत ल्याए। लोकप्रिय मतमा माओवादी केन्द्रको खासै फेरबदल भएन। माओवादीले १९ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो।
२०७४ को आकडा पछ्याउँदा अहिले कीर्तिपुर नगरपालिकामा ११ प्रतिशतले मतदाता बढेका छन्।
२०७४ को निर्वाचनमा यहाँ २८ हजार १ सय १ मतदाता रहेकामा २०७९ सालको निर्वाचनमा ३० हजार ३ सय २८ मतदाता पुगेका थिए। २०८१ को उपनिर्वाचनसम्म आइपुग्दा ३१ हजार १ सय पुगेका छन्।
मतदाता बढे पनि २०७९ सालको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा प्रमुख ठूला दलले मत बढाउन सकेनन् मात्रै होइन, क्षति व्यहोरे।
कांग्रेसका नगर सभापति रहेका कृष्णमान डंगोलले ५ हजार ३ सय ३४ मत ल्याएर कीर्तिपुरको प्रमुख निर्वाचित भए। कांग्रेसले यहाँ यसअघिको जितलाई कायम राखे पनि मत भने जोगाउन सकेन।
२०७४ मा ३५ प्रतिशत लोकप्रिय मत ल्याएको एमाले क्रमशः ओह्रालो लाग्दै यो निर्वाचनमा २१ प्रतिशतमा सीमित भयो। एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए।
कीर्तिपुरको यो चुनावी परिणामले सहरी मतदाता कांग्रेस, एमालेप्रति खुसी छैनन्, नागरिकको असन्तुष्टि मतमार्फत अभिव्यक्त हुन थालेको छ भनेर सन्देश दिएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ जस्तै कीर्तिपुरले पनि सहरी क्षेत्रका मतदाताको विकल्प खोज्न थालेको संकेत गरेको छ।
कांग्रेस, एमालेले मतमा निरन्तर क्षय व्यहोरे पनि माओवादी केन्द्रले भने आफ्नो मत जोगाउन सकेको देखिन्छ।
कीर्तिपुरको यो निर्वाचनमा अघिल्लो पटक पनि उम्मेदवार रहेका माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए। कीर्तिपुरमा यो पटक माओवादी केन्द्रले स्थिति सुधार गर्दै लोकप्रिय मत २२ प्रतिशत पुर्यायो।
यसपटक कीर्तिपुरमा माओवादी केन्द्रलाई एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पनि समर्थन गरेका थिए।
२०७९ को स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार बटुकृष्ण थापाले १ हजार १ सय ५३ मत ल्याएका थिए।
अहिले माओवादी केन्द्रलाई समर्थन गरेकाले त्यो मत शिवशरणलाई गयो भन्न सकिन्छ। तर माओवादीको चुनावै पिच्छेको आकडा हेर्दा उसले पाउने मतमा विचलन नदेखिएको स्पष्ट नै हुन्छ।
अहिलेको चुनावी तथ्यांकलाई पछ्याउँदा कांग्रेस, एमालेबाट असन्तुष्ट बनेका मतदाताले स्वतन्त्र उम्मेदवारलाई विकल्प रोजेको देखिन्छ।
चुनावी परिणामले पनि यसो भन्नका लागि यथेष्ट प्रमाण दिएका छन्।
२०७४ को निर्वाचनमा कीर्तिपुर नगरपालिकामा ६ जना स्वतन्त्र उम्मेदवार उठेकामा कसैले पनि तीन अंक पूरा गरेनन्। श्यामकुमार अधिकारीले ८९२ मत ल्याए भने अरू उम्मेदवार दुई अंकमा सीमित भए। त्यतिबेला स्वतन्त्र उम्मेदवारहरूले जम्मा ५ प्रतिशत लोकप्रिय मत प्राप्त गरेका थिए।
२०७९ सालको निर्वाचनमा झन् स्वतन्त्र उम्मेदवारी नै परेको थिएन। यो निर्वाचनमा ४ जनाको उम्मेदवारी परे पनि मनोज बुढाथोकीले ३६५ मत पाएका थिए। भीमकुमार महर्जनले १३ मत ल्याए। बाँकी दुई जना शून्य मतमा सीमित रहे।
तर २०८१ को उपनिर्वाचनसम्म आइपुग्दा दलबाट विकर्षित भएर स्वतन्त्र उम्मेदवारतिर उल्लेख्य मत गयो।
यो उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा ११ जना स्वतन्त्र उम्मेदवार थिए।
एमाले पृष्ठभूमिका राजमान महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। समुदायमा आधारित लहना रेष्टुरेन्टका सञ्चालक र विगतमा एमालेका सक्रिय कार्यकर्तासमेत रहेका उनले कांग्रेस, एमाले दुवैको मत ताने। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेत आएर उनको पक्षमा भोट मागेका थिए। त्यसैले विगतमा कांग्रेस, एमालेलाई मत दिँदै आएकाहरूको छनोटमा राजमान महर्जन परे। उनले २ हजार ३६ मत ल्याए।
कविकुमार महर्जन र दिनेशकुमार अधिकारीले पनि कांग्रेस, एमालेको मत तानेको देखियो। राजमानको तुलनामा चर्चामा कम सुनिए पनि उनीहरूले भित्री मतदातालाई प्रभाव पारेको मतको स्थितिले पनि देखाउँछ। अधिकारीले १ हजार ४८ र कविकुमार महर्जनले १ हजार ३ सय १४ मत ल्याए। वातावरण विज्ञानमा काम गरिरहेका नवरथकुमार बानियाँले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले ४३८ मत ल्याए।
स्वतन्त्र उम्मेदवारहरूले समग्र रूपमा ५ हजार ९१ मत अर्थात् कुल सदर मतको झन्डै २५ प्रतिशत पाए। यसअघि २०७४ मा स्वतन्त्र उम्मेदवारहरूले ५ र २०७९ को निर्वाचनमा २ प्रतिशतमात्रै पाएका थिए।
यसपटक स्वतन्त्र उम्मेदवारहरू बढी उठेकाले त्यसको लाभ कांग्रेसले पायो।
स्वतन्त्रहरूले प्राप्त गरेको मत एकै ठाउँमा जाने परिस्थिति बनेको भए कांग्रेसलाई चुनाव जित्न कठिन हुने आकडाले नै देखाएको छ।
यतिबेला काठमाडौंको कीर्तिपुर नगरपालिको चुनावलाई लिएर नेकपा (माओवादी केन्द्र) पंक्ति उत्साहित छ।
सहरी मतदाता माझ पार्टी निरन्तर ‘अलोकप्रिय’ रहेको उसको विश्लेषण छँदैथियो। चुनावैपिच्छे समग्र लोकप्रिय मतमा पनि क्षय व्योहोरिरहेको थियो।
आकडामा हेर्दा उसको विश्लेषण सही पनि थियो।
२०६४ को पहिलो संविधान २९ प्रतिशत लोकप्रिय मत ल्याएको माओवादीको २०७० नपुग्दै मत खस्ने क्रमको सुरूआत भयो। २०७० मा १४ प्रतिशत लोकप्रिय मत ल्याएको माओवादीले २०७४ र २०७९ को आम निर्वाचनमा क्रमशः १३ र ११ प्रतिशत लोकप्रिय मत ल्याएको थियो।
यी चार वटा चुनावमा लगातार क्षय व्यहोरेको माओवादी केन्द्रले अब यो मत थिग्रिएर बस्ने र ११ प्रतिशतभन्दा नखस्कने नेताहरू बताउँछन्।
कीर्तिपुर उपचुनावले सहरी मतदाताबीच कांग्रेस, एमालेको प्रभाव कमजोर बन्दै गएको ऐना देखाइरहँदा माओवादी केन्द्रको विश्लेषण भने सत्यको नजिक देखिएको छ।