नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सार्वजनिक रूपमा आवाज उठाउने नेता–कार्यकर्ता स्पष्टीकरणमा पर्ने क्रम जारी छ।
कोशी प्रदेश सभाका पूर्व सांसद एवम् उदयपुरका नेता विमल कार्की पनि यही श्रृंखलामा थपिएका छन्।
उनलाई मंसिर १६ मा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले स्पष्टीकरण पत्र पठाउँदै तीन दिनभित्र जबाफ दिन भनेका थिए।
‘तपाईंको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध लगातार अभिव्यक्तिहरू आइरहेको छ। त्यो फेसबुक आइडी तपाईंको हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने?’ भन्दै अध्यक्ष खतिवडाले कार्कीलाई स्पष्टीकरण सोधेका हुन्।
एमाले प्रदेश कार्यालय स्रोतका अनुसार शुक्रबारसम्म पनि कार्कीले स्पष्टीकरण बुझाएका छैनन्।
हालका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र राई र शेरधन राईहरूसँगै अनेरास्ववियुमा काम गरेका कार्की २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।
अध्यक्ष ओली समूहकै नेता कार्की सदनमा जनसरोकारका मुद्दा उठाइरहने सक्रिय सांसद थिए।
एमाले प्रदेश संसदीय दलको सचेतक पनि भएका उनी उदयपुर एमालेका पूर्वउपाध्यक्ष हुन्। अहिले भने उनी कमिटीविहीन अवस्थामा छन्।
उनलाई स्पष्टीकरण सोधेको प्रदेश पार्टी स्रोतले जानकारी दिए पनि उनी भने यसबारे बोल्नै मानेनन्। तर प्रदेशका एक नेताका अनुसार अध्यक्ष ओलीविरुद्ध उनले फेसबुकमा लेखेको आधारमा प्रष्टीकरण सोधिएको हो।
व्यापारी मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयमा नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले सार्वजनिक रुपमा असहमति जनाएका थिए।
लगत्तै उनीहरू तीनै जनालाई महासचिव शंकर पोखरेलले स्पष्टीकरण सोधेका थिए। उनीहरुलाई स्पष्टीकरण सोध्ने पार्टी नेतृत्वको कदमप्रति असहमति जनाउँदै पूर्वसांसद कार्कीले फेसबुकमा आफ्ना विचार राखेका थिए।
‘आइएम विथ भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेना’ ह्यासट्याग राख्दै त्यसबेला कार्कीले लेखेका थिए, ‘के स्पष्टीकरण सोध्छौं? व्यापारीसँग जग्गा दान लिएर पार्टी भवन बनाउनु गलत हो। यस्तो कार्यले जनताप्रति उत्तरदायी राजनीतिलाइ स्खलित बनाउँछ। यो कार्यले देशभरिका एमालेजनको भावना माथि कुठाराघात मात्र भएको छैन, हुर्मत पनि लिएको छ। त्यसैले यस्तो कार्यको हामीले विरोध गरेकै हो। तिमीले स्पष्टीकरण सोधे पनि नसोधे पनि हामी यस्ता प्रवृत्ति र चरित्रको बिरोध गरि नै रहन्छौं।’
तीन नेताहरूमाथि पार्टीले स्पष्टीकरण सोधिरहेकै बेला अदालतले भवन बनाउने कार्य अघि नबढाउन आदेश दियो। लगत्तै कार्कीले फेसबुकमा अध्यक्ष ओलीलाई तिखो प्रश्न गरेका थिए।
उनले लेखेका थिए, ‘अध्यक्षज्यू, स्पष्टीकरण हहामीलाई लाई सोध्ने कि तपाईंले अब अदालतलाई दिने? जबाफ चाहियो! नैतिकता छ भने अध्यक्ष पदबाट राजीनामा दिनुहोस्!’ यति लेख्दासम्म पार्टी नेतृत्वबाट ‘थ्रेट’ महसूस नगरेका कार्कीले पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको नागरिकतामा भएको नामबारे प्रश्न उठाएका थिए।
झापाका मेडिकल व्यापारी दुर्गा प्रसाइँले ओलीले कम्बोडियामा लगानी गरेको भन्ने आधारहिन भिडियो सार्वजनिक गरेका थिए। त्यहीबेला ओलीको नागरिकता प्रमाणपत्र पनि कार्यकर्ताहरुले ‘भाइरल’ बनाएका थिए।
पहिले नागरिकतामा ‘खड्गप्रसाद ओली’ र अहिले नागरिकतामा ‘केपी शर्मा (ओली)’ रहेकोबारे कार्कीले फेसबुकमा सोधेका थिए।
पूर्वसांसद कार्कीले लेखेका थिए, ‘२०४८ को आम चुनाव र ०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन झापा निर्वाचन क्षेत्र न ५ बाट निर्वाचित सांसद तथा २०५१ को मनमोहन अधिकारी प्रधानमन्त्रीत्वको सरकारमा भएका गृहमन्त्री र अहिलेका प्रधानमन्त्री एउटै हुन् भनेर नेपाली राजनितिमा चासो राख्ने सबैले यकिनका साथ भन्दछन्। तर तत्कालीन झापाली सांसद तथा गृहमन्त्रीको नागरिकतामा र त्यो बेलाका सरकारी दस्तावेजमा खडगप्रसाद ओली भनेर लेखिएको छ। अनि अहिलेका प्रमको भनेर सामाजिक सन्जालमा भाइरल बनेको नागरिकता सम्वन्धी भिडियोमा केपी शर्मा (ओली) भनेर लेखिएको छ। मैले बुझ्न चाहेको कुरा – एउटै मान्छेले दुई वटा नागरिकता प्रयोग गरेको हो कि नागरिकता जस्तै मान्छे पनि फरक फरक नै हुन्? कसैले तथ्यसहित बुझाइ दिनु हुन्थ्यो कि।’
एमाले स्रोतका अनुसार अध्यक्षको नागरिकताबारे नै प्रश्न उठाएपछि उनलाई कारबाही प्रक्रिया अघि बढाइएको हो। ‘स्पष्टीकरण बुझाउने म्याद घर्कियो, अब के गर्ने निर्णय हुन्छ’, एमाले प्रदेशका एक नेताले भने।