सिरियामा विद्रोही समूहले चार सहरहरू कब्जा गरेको दाबी गरेका छन्। त्यहाँ आइतबार बिहानैदेखि विद्रोही समूहले अहिलेसम्मकै ठूलो आक्रमण गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
सिरियाको चरमपन्थी समूहका प्रवक्ता हसन अब्दुल गनीले सिरियाका सहरहरू दारा, कुनेत्रा, सुवेदा र होम्स चौबीस घन्टामै कब्जा गरेको दाबी गरेका छन्।
अब विद्रोही समूह राजधानी दमास्कसतर्फ अघि बढेको पनि बताइएको छ। समाचार संस्था एशोसियटेड प्रेसले दमास्कसमा पनि गोलीका आवाजहरू सुनिएको भनेर एक स्थानीयलाई उद्धृत गर्दै लेखेको छ।
यद्यपि सिरियाको सरकारले अहिलेसम्म आधिकारिक रूपमा आक्रमणबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।
बिबिसीका अनुसार सिरियामा हयात तहरीर अल शाम (एचटिएएस) सहित अरू थुप्रै समूहहरूले मिलेर आक्रमण गरेका हुन्। उनीहरूले हमा र देराको अधिकांश दारा यसअघि नै कब्जा भएको दाबी गरेको थिए।
एचटिएएस का प्रमुख अबू मोहम्मद अल जुलानीले यसलाई ऐतिहासिक क्षण भनेका छन् ।
विद्रोही समूहले आक्रमण थालेपछि सिरियामा राष्ट्रपति बसर अल असदलाई अप्ठयारो पर्ने भनिएको छ। विद्रोही समूह दमास्कसतर्फ अघि बढेको दाबी गरेपछि राष्ट्रपतिले राजधानी छाडेको हल्ला चलेको थियो। यद्यपि उनको कार्यालयले त्यसको खण्डन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सिरियामा विद्रोहीहरुले आक्रमण गरेपछि रूस, टर्की र इरानका विदेशमन्त्रीहरूले छलफल गरेका थिए। रूसी विदेशमन्त्री सर्गेई लावरोफले त्यसलाई आतंकवादी आक्रमण भनेका छन्।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको लडाईंबाट टाढा हुनुपर्ने बताएका छन्। 'यो हाम्रो लडाईं होइन यसलाई आफै सुल्झिन दिनुपर्छ,' ट्रम्पले एक्समा लेखेका छन्।