सिरियामा विद्रोही लडाकुहरूको आक्रमणपछि राष्ट्रपति बसर अल असदले देश छाडेका छन्।
आइतबार बिहानदेखि सिरियाका मुख्य मुख्य सहर कब्जा गर्दै विद्रोही लडाकुहरू राजधानीतर्फ अघि बढेपछि राष्ट्रपति असदले देश छाडेको समाचार संस्था एशोसियटेड प्रेसले लेखेको छ।
विद्रोही समूहल हयात तहरीर अल-शाम (एचटीएएस)ले पनि राष्ट्रपतिले देश छाडेको दाबी गरेको छ। 'हामी तानाशाह असदबाट दमास्कस स्वतन्त्र भएको घोषणा गर्छौं। स्वतन्त्र सिरिया विस्थापितहरूको पर्खाइमा छ,' एचटिएएसको टेलिग्राम सन्देशलाई उद्धृत गर्दै अमेरिकी पत्रिका सिएनएनले उल्लेख गरेको छ।
पाँच दशकदेखि असदको सत्ताका कारण विस्थापित भएकाहरु स्वतन्त्र देशमा फर्कन सक्ने र जेलमा रहेकाहरु पनि अब त्यहाँबाट स्वतन्त्र हुने बताएका छन्। तर राष्ट्रपति असद कहाँ गए भन्नेबारेमा भने खुलेको छैन।
यद्यपि राष्ट्रपतिले देश छाडेको भन्ने विषयमा यसअघि असदको कार्यालयले विज्ञप्ती जारी गरेर झुटा सूचना भनेको थियो। विज्ञप्तीमा राष्ट्रपति दमास्कसमै रहेको र आफ्नो जिम्मेवारीअनुसारको काम गरिरहेको भनिएको थियो।
सोपछि सरकारी तवरबाट राष्ट्रपति भागेको वा दमास्कसबाट अन्यत्र गएको भन्ने विषय सार्वजनिक भएको छैन।
विद्रोही लडाकुहरले शनिबार सिरियाका चार ठूला सहरहरू कब्जा गरेको घोषणा गर्दै शनिबार बिहान दमास्कस पनि कब्जा गर्ने दाबी गरेका थिए।