शनिबार बिहान १० बज्दै थियो, कोइराला निवासमा पुगे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।
इटहरीस्थित एक होटलमा शुक्रबार बास बसेका देउवा शनिबार बिहान विराटनगरस्थित कोइराला निवास पुगेका थिए।
पार्टीको प्रथम कोशी प्रदेश सम्मेलनका लागि कांग्रेसका शीर्ष नेताहरूदेखि कार्यकर्ताहरू पनि शुक्रबारदेखि नै इटहरी र विराटनगरमा पुगिसकेका थिए।
काठमाडौंबाट गएका शीर्ष नेताहरूलाई एकै होटलमा राखिएको थियो।
सभापति देउवा बसेकै होटलमा पूर्वमहामन्त्री शशांक कोइराला पनि बास बसेका थिए। शनिबार बिहान देउवा र कोइरालाबीच कुराकानी भयो।
कुरैकुरामा सभापति देउवाले 'म चिया खान कोइराला निवास आउँछु' भनेका थिए। शशांकले 'आउनु न' भने र तारतम्य मिलाउन निवासतिर लागे।
केहीबेरमा सभापति देउवा पनि विराटनगरस्थित कोइराला निवास आइपुगे। शनिबार बिहान १० बजेको हुँदो हो।
सभापति देउवा कोइराला निवास पुग्दा घरमा शेखर कोइराला थिएनन्, शेखरकी पत्नी पुनमले स्वागत गरिन्, शशांकसँग त देउवाको बिहानै भेट भइसकेकै थियो।
सभापति देउवा करिब आधा घन्टा बार्दलीमा बसे। पुनम, शशांक र कोइराला निवासमा भेला भएका नेता, कार्यकर्ताहरूसँग भलाकुसारी गरे।
यतिका बेर कोइराला निवास बसेका सभापति देउवाले शेखरको खोजी भने गरेनन्। किनभने शेखर चितवन गएको उनलाई जानकारी थियो।
सभापति देउवाले कोइराला निवासमा राजनीतिक कुराकानी खासै गरेनन्। देउवाले कोइराला निवास वरपर देखिएका भौतिक संरचनाहरू निर्माणजस्ता परिवर्तन भएका कुरा निकालेका थिए।
सभापति देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सभापति देउवाले शैलजाको घर कहाँनेर हो भनेर सोधेका थिए। दुई घर पर हो भन्ने जबाफ पाएपछि देउवाले पहिले खालीखाली रहेका जग्गा अहिले घरैघरले भरिएछन् भनेका थिए।
कोइराला निवासको यो करिब १०० वर्ष पुरानो घर अंशबन्डाका क्रममा शेखरको भागमा परेको छ। सुजाता र शशांकका भागमा परेको जग्गा अधिकांश बिक्री र केही फाउन्डेसनलाई दान दिइएको छ।
२०६६ सालमा घरसहित जग्गा बिक्री गर्न खोज्दा कांग्रेस कार्यकर्ताहरूले पार्टीको झन्डा गाडेर विरोध गरेका थिए। इतिहास बोकेको ठाउँ बिक्री गर्न नमिल्ने र संग्रहालयको रूप दिनुपर्ने माग कार्यकर्ताहरूको थियो।
सभापति देउवाले कोइराला निवास सरसर्ती हेरेर बार्दलीको कुर्सीमा बसेका थिए। शशांक र पुनम लगायतसँग कुराकानी गर्दै उनले चिया पनि पिए।
‘कोइराला निवास सभापति देउवा गइराख्नेमध्येको एक ठाउँ हो, यसपालि पनि उहाँ कोइराला निवास जानुभयो, सरसर्ती घर हेर्नुभयो,’ उनले भने, ‘पहिले पनि उहाँहरू त्यसरी नै बस्ने ठाउँ बार्दलीमा गएर बस्नुभयो।’
कोइराला निवासको सुरक्षाका लागि २०५४ सालदेखि सुरक्षाव्यवस्था पनि मिलाउन थालिएको थियो। यही घरमा मुलुकका तीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको बाल्यकाल बितेको थियो।
२०७६ मा सरकारले त्यहाँबाट सुरक्षाकर्मी हटाएपछि विरोध पनि भएको थियो। त्यसबेला केही कांग्रेसका कार्यकर्ताले कोइराला निवासलाई मन्दिरको रूप दिँदै ढोगेर प्रवेश पनि गरेका थिए। कोइराला निवाससँग कांग्रेस कार्यकर्ताको भावना पनि जोडिएको छ, किनभने कुनै बेला कांग्रेस भनेका कोइराला र कोइराला भनेका कांग्रेसजस्तै थियो।
अहिले पनि कांग्रेसको राजनीतिमा यही घरका शेखर-शशांक र सुजाता सक्रिय छन्। पछिल्लो समय शेखर विराटनगर गइरहन्छन्। उनी गएका बेला निवासमा कार्यकर्ताको चहलपहल देखिन्छ, अरूबेला सुनसानजस्तै रहन्छ।
सभापति देउवाले कोइराला निवासमा रहँदा शेखरसँग टेलिफोनमा कुराकानी गरेनन्। शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले देउवाका स्वकीय सचिव भानु देउवालाई चितवनमा हुने पूर्वनिर्धारित कार्यक्रममा शेखर जाने अवगत गराइसकेका थिए।
‘पिताजीले बनाउनुभएको घर नै शेखर दाइले जस्ताको त्यस्तै राख्नुभएको छ, गिरिजाबाबु सुत्ने खाटसहित पुराना संरचना पनि छन्,’ शेखरका स्वकीय सचिव थपलियाले भने, ‘कोइराला निवास केही परिवर्तन गरिएको छैन।’
सभापति देउवा कोइराला निवास पुग्दा शेखर चितवनमा थिए। कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाका बुवा भीष्मकान्त कोइरालाको शोकसभामा सरिक हुन उनी चितवन पुगेका हुन्।
‘कोशी सम्मेलनमा शेखर दाइ आउन सक्नु भएन, पूर्वनिर्धारित शोकसभाको कार्यक्रममा चितवन जानुपर्ने भएर भनेर मैले सभापति देउवाका स्वकीय सचिव भानुजीलाई जानकारी गराएको थिएँ,’ थपलियाले भने।
कोशी प्रदेश सम्मेलन हुनुअघि शेखरको अगुवाइमा मंसिर १८ र १९ गते जैन भवन विराटनगरमा पालिका सभापति प्रशिक्षण चलेको थियो। यो प्रशिक्षण आधिकारिक नभएको कांग्रेस केन्द्रीय कार्यालयले पत्राचार गरे पनि दुई दिनसम्म प्रशिक्षण चल्यो, ११३ पालिका सभापति सहभागी रहेका थिए।
कांग्रेसले शनिबार कोशी प्रथम सम्मेलन विराटनगरमै गर्यो तर शेखर सहभागी भएनन्। कतिपयले वरीयतासम्बन्धी विवादका कारण शेखर कार्यक्रममा सहभागी नभएको बताएका छन्। शेखर पक्षले पनि सभापति देउवापछि शेखरलाई बोल्न समय दिनुपर्ने सुनिश्चित हुनुपर्ने बताएका थिए।
२०७८ मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा देउवासँग शेखर पराजित भएका थिए। शेखर पक्षले सभापतिमा पराजितलाई पार्टीमा वरिष्ठ नेताको हैसियतमा आसन र भाषणलाई समय दिनुपर्ने माग गर्दै आएका छन्। तर पार्टीको विधानले वरिष्ठ नेतालाई चिन्दैन।
चितवनमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै शेखरले आफूले कोशी प्रदेश सम्मेलन बहिष्कार नगरेको बताएका थिए। साथै उनले १५ औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने पनि बताएका थिए।
महामन्त्री गगन थापासँग कुनै खटपट नपरेको पनि कोइरालाले बताएका थिए।
नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भएपछि पहिलो पटक देउवालाई नै कांग्रेसमा वरिष्ठ नेता बनाइएको थियो।
पार्टीभित्र देखा परेका आन्तरिक विवादलगायत विषयमा सोमबार बस्ने कार्यसम्पादन समिति बैठकमा पनि छलफल गर्ने नेताहरूको तयारी छ।
सभापतिमा देउवाको यो अन्तिम कार्यकाल हो। कांग्रेसले २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्नुपर्छ। सभापति देउवाले कसलाई सभापतिमा अघि सार्छन् भन्ने पनि बेलाबखत चर्चाको विषय बन्ने गरेको छ।
शेखर नभएका बेला देउवा शशांकसँगै कोइराला निवासमा देखिएका छन्। कतिपयले देउवाले शशांकलाई सभापतिमा सार्न सक्छन् भनेर पनि अनुमान लगाइरहेका छन्।
तर विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरूले अब उत्तराधिकारी को हो भनेर देउवालाई सोध्दा यो घोषणा गर्ने विषय नभएको र महाधिवेशनबाट छानिने प्रतिक्रिया दिएका थिए।