नेपाल पत्रकार महासंघ स्थापनाको करिब ७० वर्षमा नेतृत्वमा पुगिन्- निर्मला शर्मा।
मंसिर २८ गते भएको अधिवेशनबाट शर्मा अध्यक्ष निर्वाचित भएकी हुन्। शर्मा अध्यक्षमा निर्वाचित भएसँगै महासंघले पहिलो महिला नेतृत्व पाएको हो।
पछिल्लो समय पत्रकार महासंघमाथि राजनीतिक दलहरूको हस्तक्षेप बढ्दै गएको छ।
यसपालि पनि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन र नेकपा (एमाले) को भ्रातृ संस्था प्रेस चौतारीबीच गठबन्धन भएको थियो। प्रेस चौतारीकी शर्मा अध्यक्ष उम्मेदवार भई युनियनको सहयोगमा जितेकी हुन्।
यो गठबन्धनले १३ सदस्यीय पदाधिकारीमा कोषाध्यक्षबाहेक अरू पद जित्यो।
कोषाध्यक्ष भने नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरका रामकृष्ण अधिकारीले जिते। प्रेस सेन्टरले पनि स्वतन्त्रसहित विभिन्न ६ संगठनसँग गठबन्धन गरी उम्मेदवार खडा गरेको थियो।
पत्रकार महासंघमा समाचार लेखिरहेका पत्रकारहरूले नै अपनत्व नलिएको चर्चा पनि हुने गर्छ।
महासंघलाई राजनीतिक हस्तक्षेपमुक्त गरी पत्रकारहरूकै हकहितमा लड्ने बनाउने चुनौती शर्मा नेतृत्वको नवनिर्वाचित समितिलाई छ।
अध्यक्ष शर्माले पत्रकार महासंघलाई पत्रकारहरूकै मात्र संस्था बनाउने बताएकी छन्।
पत्रकार महासंघमा बढेको राजनीतिक हस्तक्षेप अन्त्य, महासंघको आगामी कार्ययोजनालगायत विषयमा सेतोपाटीले पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष शर्मासँग गरेको कुराकानीको भिडिओ: