नेकपा (एकीकृत समाजवादी) ले स्थानीय स्तरदेखि केन्द्रसम्म आन्दोलन गर्ने तयारी गरेको छ।
मंगलबार सकिएको स्थायी कमिटी बैठकले जनताका आवाज उठाउने गरी आन्दोलन गर्ने निर्णय गरेको हो।
आन्दोलनका लागि महासचिव घनश्याम भूसालको नेतृत्वमा समितिसमेत गठन भइसकेको छ। समितिमा नेता जीवनराम श्रेष्ठ पनि छन्। अरू सदस्य पछि थप गरिने एकीकृत समाजवादीले जनाएको छ।
पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले दिएको जानकारीअनुसार पार्टीलाई जनतासँग जोड्नका निम्ति आन्दोलन गर्न लागिएको हो।
‘जनताका दैनिक समस्या, सुशासन, भ्रष्टाचारविरूद्ध जनताका चेतना वृद्धि गर्न आन्दोलन गर्न लागेका हौं,’ उनले भने, ‘जनसंघर्षको वा आन्दोलनको माध्यमबाट पार्टीलाई निर्माण, सुदृढीकरण र विस्तार गर्न सकिन्छ भन्ने सम्झेर अबका केही महिना हामी आन्दोलन गर्दैछौं।’
जनताका आवाज उठान गर्ने गरी स्थानीयस्तरदेखि केन्द्रसम्म आन्दोलन गर्ने र केही दिनभित्र मूल कार्यक्रम सार्वजनिक गरिने पनि उनले बताए।
साथै एकीकृत समाजवादीले आगामी निर्वाचनहरूमा पार्टीबाटै उम्मेदवार बनाउने गरी तयारी गरिने जनाएको छ।
‘आगामी निर्वाचनहरूमा पार्टीको तर्फबाट एकल उम्मेदवारी दिन सक्ने गरी सबै प्रयाससहित जनतामा जाने पनि निर्णय भएको छ,’ खतिवडाले भने।
यो पनि: महाधिवेशनको ६ महिनापछि एकीकृत समाजवादीले दियो नेताहरूलाई जिम्मेवारी