सिरियाका तानाशाह बसर अल-असदको शासनकालमा मारिएका एक लाखभन्दा बढी विरोधीहरूको सामूहिक चिहान भेटिएको मानव अधिकारवादी संस्थाहरूले दाबी गरेका छन्।
राजधानी दमास्कसबाट करिब ४० किलोमिटर उत्तरमा रहेको अल कुतैफामा उक्त सामूहिक चिहान भेटिएको हो।
अमेरिकामा रहेर सिरियाली नागरिकको मानवअधिकारबारे वकालत गर्ने मुआज मुस्तफालाई उद्धृत गर्दै पश्चिमा मिडियाहरूले उक्त चिहानमा बसर सरकारले एक लाखभन्दा बढी विरोधीहरूको शव गाडेको उल्लेख गरेका छन्।
त्यो ठाउँ करिब दुइटा फुटबल मैदान जत्रो छ। मानव अधिकारवादी संस्थाहरूले त्यहाँको करिब एक दशकभन्दा अघिदेखिका स्याटलाइट तस्बिर निकालेका छन्। तिनै तस्बिर नियालेर एक लाखभन्दा बढी शव गाडिएको बताउने गरेका छन्।
यो दाबी सही हो भने त्यो ठाउँ गैरन्यायिक हत्या गरेर मारिएकाहरूको सबभन्दा ठूलो चिहान हो।
बसर सरकारले आफ्ना विरोधीहरूको शव गाड्न प्रयोग गर्ने सामूहिक चिहानमध्ये अल कुतैफाको चिहान एक हो भनेर आफूले वर्षौंअघि पहिचान गरेको मुस्तफाले बताएका छन्।
त्यहाँ ठ्याक्कै कतिवटा शव गाडिएका छन् भन्ने पुष्टि भइसकेको छैन। संख्या पुष्टि गर्न बसर सरकारले राखेको कागजात भेटिएको छैन। सबै शव उत्खनन पनि गरिएका छैनन्।
बसर सरकारले सन् २०११ मा सुरू भएको भीषण गृहयुद्ध दमन गर्ने क्रममा हराएका लाखौं सिरियाली अझै भेटिएका छैनन्। तिनैमध्ये धेरै जनाको हत्या गरेर यहाँ गाडिएको हुनसक्ने आशंका गरिएको छ।
विपक्षीहरू सिरियाका ठूला सहर कब्जा गर्दै राजधानी दमास्कस आइपुगेपछि डिसेम्बर १० मा बसर देश छाडेर रूसमा शरण लिन पुगेका थिए। उनी रूस पुगेपछि मुस्तफा सिरिया फर्किएका छन् र अल कुतैफाको सामूहिक चिहान भ्रमण गरेका छन्।
उनले उक्त सामूहिक चिहान सिरिया वायुसेना अन्तर्गतको खुफिया विभागको नियन्त्रणमा रहेको बेलायती समाचार संस्था रोयटर्सलाई बताएका छन्।
यातना दिएर मारिएका विरोधीहरूको शव पहिले सैनिक अस्पताल लैजाने र त्यसपछि सामूहिक चिहानमा गाड्ने गरिएको मुस्तफाको दाबी छ।
मुस्तफाका अनुसार त्यहाँ खाडल खन्न खटिएका डोजर चालकसँग उनको समूहले कुरा गरेको थियो। कहिलेकाहीँ खाडलमा शव नअटे कोची कोची भए पनि अटाउने गरेको कतिपय चालकले स्वीकार गरेका थिए।
बेलायती पत्रिका 'द इकोनोमिस्ट' ले पनि त्यहाँका पूर्वमेयरसहित स्थानीयहरूसँग कुरा गरेर कम्तीमा एक लाख शव गाडिएको सामूहिक चिहान भेटिएको समाचार लेखेको छ। सेनाले जेसुकै पठाए पनि त्यसलाई चिहानमा लगेर गाड्नुपर्थ्यो भन्ने एक पूर्वमेयरको भनाइ छ।
एकदिन धेरै जना गाड्न मिल्ने ठूलो चिहान खन्न आदेश आएपछि सन् २०१२ मा आफूले राजीनामा दिएको उनले बताएका छन्। त्यति बेला सरकारको आदेश पालना नगरेको भन्दै उनलाई केही समय थुनिएको थियो।
'द इकोनोमिस्ट' ले कुरा गरेका अर्का पूर्वमेयरले पनि त्यहाँ एक लाखभन्दा बढी विरोधीलाई मारेर गाडिएको दाबी गरेका छन्। कयौं स्थानीयले पनि त्यहाँ रात छिप्पिएपछि डोजरहरूको लर्को लाग्ने गरेको बताएका छन्। ती डोजरको पछि पछि शव चिसो राख्न बनाइएका विशेष कन्टेनरसहितका कयौं ट्रक आउने गरेको उनीहरूको भनाइ छ। सुरू सुरूमा शव राम्ररी नपुरिँदा कुकुरहरूले खोतलेर बाहिर निकाल्ने गरेको उनीहरूले जानकारी दिएका छन्।
केही वर्षपछि विदेशी मानव अधिकारवादीले त्यहाँ सामूहिक चिहान भएको आरोप लगाउन थाले। त्यसपछि सरकारले हजारौं शव झिकेर अन्त लगेको स्थानीयले बताएका छन्। ट्रकहरू आएर चिहान खोतल्दै शव निकाल्न थालेपछि सहरभरि दुर्गन्ध फैलिएको उनीहरू सम्झिन्छन्।
'सहरका सबैलाई त्यहाँ उनीहरू के गर्दै थिए भनेर थाहा हुन्थ्यो,' एक स्थानीय किसानले द इकोनोमिस्टसँग भने।
अल कुतैफासहित अन्य ठाउँका सामूहिक चिहानमा गाडिएका शवको संख्या यकिन गर्न सबभन्दा पहिले हराएका मान्छे वा आफन्तको डिएनए अभिलेख जम्मा गर्नुपर्ने विज्ञहरू बताउँछन्। त्यसपछि चिहानबाट खनेर निकालिएका अस्थिपञ्जरको डिएनएसँग त्यो अभिलेख भिडाउनुपर्ने उनीहरूको राय छ।
बसरमाथि विरोधीहरूलाई क्रूरतापूर्वक मारेको र आफ्नै जनतामाथि रासायनिक हतियार प्रयोग गरेको आरोप छ। बेलायती समाचार संस्था रोयटर्सका अनुसार उनी सेनामा रहेका आफ्नै भाइलाई समेत नभनी गत साता देश छाडेर भागेका थिए। उनका भाइ महेर अल-असद सिरियाली सेनाको शक्तिशाली विभागका प्रमुख थिए।
कसैलाई थाहा नदिई दाइ सुटुक्क रूस भागेको थाहा पाएपछि भाइ महेर पनि सेनाको हेलिकप्टर लिएर भागेका थिए। उनी आफै हेलिकप्टर उडाएर पहिले सिरियाको छिमेकी मुलुक इराक पुगे। त्यहाँबाट रूस गए। बसरले आफू भाग्नुअघि नै श्रीमती र तीन छोराछोरीलाई रूस पुर्याइसकेका थिए।
उनले आफू भाग्ने कुरा कसैलाई भनेका थिएनन्। आफ्ना सेना, प्रहरी, राष्ट्रपति कार्यालयका निकट कर्मचारी लगायत सबैलाई झुक्क्याएका थिए।
भाग्ने दिनको साँझ उनले पत्रकार सम्मेलन गर्छु भनेका थिए। यसका लागि मिडिया सल्लाहकार बुथैना शाबनलाई भाषण लेख्न आफ्नो निवासमा बोलाएका थिए। जब शाबन बसर निवास पुगिन्, तब बसर त्यहाँ थिएनन्। राष्ट्रपति कार्यालयबाट निस्किनुअघि कार्यालयका म्यानेजरलाई बसरले निवास नै जान लागेको भनेका थिए।
बसरले यसरी झुक्क्याएपछि यसको सिकार उनको परिवारका अन्य सदस्य र आफन्तजन पनि भएका छन्। बसर भागेपछि उनी निकट रहेर काम गरिरहेका उनका मामाका दुई छोरा इहब र इयद मखलुफ पनि ज्यान जोगाउन राजधानी दमास्कसबाट भागेका थिए।
सडक मार्ग हुँदै कारमा लेबनन भाग्न खोजेका उनीहरूलाई प्रदर्शनकारीले बाटैमा रोकेर आक्रमण गरे। उक्त आक्रमणमा इहबको मृत्यु भएको र इयद गम्भीर घाइते भएको जानकारी प्राप्त भए पनि आधिकारिक पुष्टि गर्न नसकेको रोयटर्सले जनाएको छ।
असदले आफू भाग्ने निधो त्यतिखेर गरेको देखिन्छ, जब लामो समयदेखि उनलाई साथ दिँदै आएको रूसले सैनिक सहयोग दिन अस्वीकार गर्यो।
सन् १९७० को आखिरीमा हफिज अल-असदले 'कू' गरेर सुरू गरेको असद वंशीय एकतन्त्रीय शासन नोभेम्बर २७ मा सुरू भएको आक्रमणका कारण तासको महलसरि ११ दिनमै ढलेको थियो। विपक्षी लडाकूहरूले आक्रमण सुरू गरेको भोलिपल्टै नोभेम्बर २८ मा बसर अल-असद सैन्य सहयोग माग्न र आफ्नो शासनसत्ता टिकाउन मस्को पुगेका थिए।
तर युक्रेनसँगको युद्धमा नराम्ररी फसेको रूसले उनलाई तत्काल सहयोग गर्न आफू असमर्थ रहेको बतायो।
मध्यपूर्वमा उनको अर्को मित्र इरानले उनलाई सहयोग गर्ने सम्भावना यसै पनि थिएन। उनले इरानसँग सहयोग माग पनि नगरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
इसराइलले इरान समर्थित हमास र हिजबुल्लाहमाथि पछिल्ला केही महिनायता व्यापक आक्रमण गरेर लगभग उनीहरूको ढाड भाँचेको छ। इसराइलले एकपटक इरानमाथि पनि आक्रमण गरिसकेको छ। इरानले उनलाई सैन्य सहयोग पठाएको भए इसराइलले सिरिया र इरानमाथि पनि आक्रमण गर्न सक्थ्यो। त्यसैले उनले इरानसँग सहयोग नै मागेनन्।
मस्कोबाट फर्किएपछि बसरले आफ्नो सेना र निकट सहयोगीहरूसँग रूसको सैन्य सहयोग आउँदैछ भनेर ढाँटेका थिए। जबकि रूसले उनलाई त्यस्तो कुनै सहयोग गर्ने छैन भन्ने उनले मस्कोमै थाहा पाइसकेका थिए। उनी मस्को पुगेका बेला विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर एलेप्पो कब्जा गरिसकेका थिए।
उनी मस्कोबाट फर्किएर आफू भाग्ने तारतम्य मिलाउन लागेका थिए भन्ने घटनाक्रमले देखाउँछन्। रूसले उनको शासन जोगाउन सहयोग नगरे पनि उनलाई सुरक्षित देश छाडेर भाग्न भने भरमग्दुर प्रयास गरेको देखिन्छ।
त्यही योजनाअनुरूप उनले आफ्नो परिवार (श्रीमती र छोराछोरी) लाई गोप्य रूपमा मस्को पुर्याए। अनि डिसेम्बर ९ को मध्यराततिर विमानस्थल पुगेर सैनिक जहाजमा आफू पनि भागे।
ट्र्याक गर्ने उपकरण बन्द गरेर, कम उचाइमा उडाएर, राडार छल्दै उनी चढेको जहाज सिरियाको तटीय सहर लताकियामा रहेको रूसको सैन्य हवाई अड्डा पुगेको थियो। त्यहीँबाट उनी सैन्य सहयोगमा मस्को पुगेका रोयटर्सले जनाएको छ।
उनका प्रधानमन्त्री मोहम्मद जलालीले पनि उनीसँग अन्तिमपटक डिसेम्बर ९ को राति साढे १० बजे फोनमा कुरा भएको बताएका छन्। त्यसमा उनले बसरलाई स्थिति अत्यन्तै प्रतिकूल रहेको, सडकमा आतंक र भय रहेको ब्रिफिङ गरेका थिए।
जबाफमा बसरले 'भोलि हेरौंला' भनेका थिए। जलालीले बसरलाई भोलिपल्ट बिहानै सम्पर्क गर्न खोजे पनि कुरा नभएको बताएका छन्। त्यतिञ्जेल सम्भवतः उनी देश छाडेर भागिसकेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको।)