कोशी प्रदेशमा एक खर्ब लगानी भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित प्रदेश सरकारले माघ ११ देखि १३ सम्म विराटनगरमा पहिलो लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ।
२०७४ मा पहिलोपटक प्रदेश सरकार गठन हुँदैदेखि हरेक वर्ष ‘लगानी सम्मेलन गरिनेछ’ भन्ने घोषणा हुँदै आए पनि अहिलेसम्म लगानी सम्मेलन हुन सकेको थिएन। खासगरी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन अनि कोभिड १९ महामारीले गर्ने भनिएको लगानी सम्मेलन परपर धकेलिँदै आएको थियो।
योजना बनेको सात वर्षपछि हुन लागेको प्रदेश लगानी सम्मेलनप्रति प्रदेश सरकार ज्यादै आशावादी देखिएको छ।
बिहीबार कोशी प्रदेश सभाको सुशासन समितिको बैठकमा उपस्थित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनको तयारीबारे सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिएका थिए।
सुशासन समितिको बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक स्रोतको पहिचान र परिचालन गर्ने वातावरण सिर्जना गर्न लगानी सम्मेलन सफल हुने विश्वास प्रकट गरेका थिए।
‘प्रदेशमा लगानीका लागि स्वदेशी निजी पुँजी एवम् प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने र प्रदेशमा थप लगानी मैत्री वातावरण निर्माण गरी रोजगारीका अवसर सृजना गर्ने लक्ष्यमा हामी हुनेछौं,’ मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेशका लगानीका क्षेत्रहरू उर्जागर गर्ने र लगानी कर्ताहरूको ध्यान आकृष्ट गर्ने हाम्रो मुख्य लक्ष्य हुनेछ।’
लगानी सम्मेलनको संयोजन गरिरहेको प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले समितिको बैठकमा सम्मेलनको प्रारम्भिक रूपबारे सांसदहरूलाई जानकारी गराएका थिए।
कोइरालाले सम्मेलनमा कूल ३७ वटा परियोजना छनोट गरेर आयोजनाको सोकेस तयार गरिने जानकारी दिए।
उनका अनुसार कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधि, सहरी फोहोर व्यवस्थापन र पर्यटन क्षेत्रका ३७ ठुला आयोजनाहरू तयार पारिएको छ। तिनै योजनाहरूमा लगानीकर्ताहरूलाई लगानी गर्न सरकारले आग्रह गर्ने योजना बनाएको छ।
लगानी सम्मेलनका लागि तोकिएका योजनाहरूमा धेरैजसो कृषि र जलविद्युत उत्पादनका योजना छन्। प्रदेशले तीन करोड ३० लाख रूपैयाँ विनियोजन गरेर आयोजना गर्न लागेको सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको सहभागिता रहने बताइएको छ।
सुशासन समितिको बैठकमा मुख्यमन्त्री कार्की र प्रमुख कार्यकारी अधिकृत कोइरालाले सहभागी हुनेहरूको सम्भावित सूचीबारे सांसदहरूलाई जानकारी गराएका थिए।
सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता, नेपाल सरकारका सरोकारवाला निकाय तथा प्रतिनिधि, संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू, नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका छाता संगठनहरू, सहकारी क्षेत्र, विकास साझेदार संस्थाका प्रतिनिधिहरू, गैर आवासीय नेपालीहरूको सहभागिता रहने छ।
यसैगरी विश्वविद्यालयका पदाधिकारीहरू, विषय विज्ञहरू, वित्तीय, आर्थिक तथा लगानीका क्षेत्रका शोधकर्ताहरू, कोशी प्रदेशका सबै स्थानीय सरकारहरू, सञ्चारकर्मी एवम् अन्य सरोकारवाला निकाय समेत रहनेछन्।
बैठकमा सांसदहरूले लगानी सम्मेलनको औचित्यबारे पनि प्रश्न गरेका थिए।
जवाफमा मुख्यमन्त्री कार्कीले प्रदेशमा लगानीको लागि आवश्यक स्रोतको न्यूनता पूर्ति गर्न आवश्यक वातावरण सिर्जना हुने, प्रदेशमा स्वदेशी निजी एवम् प्रत्यक्ष वैदेशिक लगानी नवीनतम प्रविधि तथा ज्ञान परिचालनका लागि आधार तय हुने,
कानुनी नीतिगत एवम् प्रक्रियागत व्यवस्थामा सुधार भई प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण हुने बताएका थिए।
‘कोशी प्रदेश नेपालकै एक प्रमुख लगानी गन्तव्यको रूपमा परिचित र स्थापित हुने र स्वच्छ, सुखी र समुन्नत प्रदेशको दीर्घकालीन सोच हासिल गर्न प्रत्यक्ष रूपमा सहयोग पुग्ने हाम्रो विश्वास छ’, मुख्यमन्त्रीले भने।