नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लोबुचे हिमालको सफल आरोहण गरी काठमाडौं फर्केका छन्।
महामन्त्री शर्मा नेतृत्वको टोलीले सोलुखुम्बुमा रहेको ६ हजार एक सय ४५ मिटरको लोबुचे हिमाल आरोहण गरेका थिए।
मंसिर २७ गते राति ११:३० बजे बेसक्याम्पबाट शिखरतर्फ अघि बढेका उनीहरू मंसिर २८ गते बिहान ६:४५ बजे लोबुचेको शिखरमा पुगेका थिए।
उनीहरूले लोबुचे हिमालतर्फको यात्रा एक साता अघि मंसिर २१ गतेबाटै थालेका थिए।
उनीहरू लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे क्याम्प हुँदै लोबुचे शिखरसम्म पुगे।
महामन्त्री शर्माका अनुसार यो पदयात्राका क्रममा थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्याण्ड पिक, तबुचे, पुमरी, मकालु लगायतको हिमालको अवस्थालाई पनि नजिकबाट दृश्यावलोकन गर्ने मौका मिल्यो।
लोबुचे आरोहणका क्रममा जलवायु परिवर्तनले हिमाल र हिमाली बस्तीहरू गम्भीर खतरामा पर्दै गइरहेको देखिएको शर्माले बताए। पृथ्वी बचाउन पहिले हिमाल जोगाउनुपर्ने शर्माको भनाइ छ।
हिमाल र हिमाली भेगको रक्षाका लागि सरकार, संसद र विश्व समुदायको ध्यान जान जरूरी रहेको उनले बताए।
झापामा जन्मेहुर्केका शर्माले पहिलो पटक हिमाल आरोहण गरेका हुन्।
उनलाई हिमालमा जान र हिमाली जनजीवन बुझ्न प्रेरित गर्ने व्यक्ति हुन्- आरोही मिङ्मा शेर्पा र लाक्पा शेर्पा। लोबुचे शिखर चुम्ने उनको लक्ष्यमा सारथी उनीहरू पनि थिए।
शिखरमा पुगेका बेला आफूलाई हिमाल गौरव हो भन्ने अनुभूति भएको शर्माले सेतोपाटीसँगको कुराकानीमा बताए।
‘चारै दिशा सेताम्मे हिमाल र अग्लो शिखर देखिँदा यो शिखर मेरो हो, हाम्रो गौरव हो भन्ने स्वर्गीय आनन्दको अनुभूति भयो,’ शर्माले भने, ‘तेन्जिङ शेर्पाले आरोहण गरेको बेलाको हिमाल कस्तो थियो होला?, पासाङ ल्ह्यामुले आरोहण गर्ने बेलामा आइपुग्दा कति फरक भयो होला र विश्वप्रकाश शर्माको पुस्ताले आरोहण गर्दै गर्दा हिमालमा के परिवर्तन भयो होला? विश्वव्यापी रूपमा जलवायु परिवर्तनको जे असर छ, त्यो हाम्रा हिमालमा पनि परेको छ। ती असरलाई गहिरोसँग अनुभूति गर्नुपर्छ भन्ने कोणबाट पनि शिखरमा रहेका बेला हेरियो।’
हिमाल आरोहण गरी फर्केका शर्माले हिमाली जनजीवनबारे पनि केही सुनाए। उनकाअनुसार हिमाली जीवन सहज बनाउन राज्यले प्राथमिकता दिनुपर्ने देखिन्छ।
‘हाम्रा हिमाली भेगहरूमा एकै खालको जनजीवनको अवस्था छ, हिमाली जीवनलाई व्यवस्थित गर्न राज्यले प्राथमिकताको विषय बनाउनुपर्छ, यसपालि हाम्रो अध्ययनको विषयबस्तु यो पनि थियो,’ आरोहणका उद्देश्वबारे वर्णन गर्दै शर्माले भने।
हिमाली भेगमा शिक्षा, स्वास्थ्य, रोगजारी, सञ्चारलगायतका पूर्वाधार थप व्यवस्थित गर्न स्थानीय, प्रदेश र संघीय सरकारले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।
शर्माले उदाहरण दिए- हिमाली भेगमा कोही लडेर घाइते भयो भने हामी उपचार कसरी गर्छौं?, तुरून्तै राज्यलाई गुहार कसरी गर्छौं, राज्यले थाहा कसरी पाउँछ भन्ने ठूलो अनिश्चितता छ। हिमाली भेगमा मृत्युका कयौं घटना सुनिन्छन्। प्रहरी चौकीमा थौरै जनशक्ति छ, रासन मात्र होइन राति उद्धार गर्न जान परे आवश्यक स्रोतसाधन नै छैन।
पदयात्राका क्रममा आफूहरूले चोलात्से र तबुचे हिमालबीचबाट पहिरो आएर जोङ्लाबाट बगेर आएको नदीलाई थुनेर ताल बनेको देखेको पनि उनले बताए। चिसोका कारण अहिले भने त्यो ताल जमेको छ।
‘तापक्रम वृद्धिले हिमश्रृंखला पग्लने, हिमतालको आकार अस्थिर हुने र बढेर जाने भयो भने नदी थुनिएर बनेको ताल कुनै दिन फुटेमा नजिकैको फेरिचे, पाङ्बोचेलगायत गाउँ डुबाउँछ। सेताम्मे हिमाल एकातिर देखिन्छ भने हिउँ नभएर खङ्ग्रङ्ग परेको अवस्थामा त्यसले जीवजन्तु र मानिसलाई प्रभाव परेकोले गम्भीर रूपमा लिनुपर्छ,’ शर्माले भने।
हामीले कुराकानीका क्रममा शर्मालाई राजनीतिको शिखर चढ्न सजिलो कि हिमालको भनेर सोध्यौं।
उनले हाँस्दै जबाफ दिए- लोबुचे हिमालको शिखर चढेपछि चढ्नैपर्ने अन्तिम शिखर (सगरमाथा) त बाँकी नै छ। राजनीतिमा पनि जुन शिखरसम्म आइपुगेको छु, त्योभन्दा माथिल्लो शिखर त पुग्न बाँकी नै छ। शिखरतर्फको यात्रा निरन्तर जारी रहनेछ।
लोबुचे आरोहण गरी फर्केका महामन्त्री विश्वप्रकाश शर्मासँग सेतोपाटीले गरेको भिडिओ कुराकानी;