काठमाडौं विश्वविद्यालयको ९८ औं सभा बैठकले विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवादबारे समाधान सहितको प्रस्ताव तयार गर्न समिति गठन गरेको छ।
राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन भएको हो।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक राखेर थप गृहकार्य र सम्बन्धित पक्षसँग संवाद गरी आगामी माघ ४ गते बस्ने सिनेट बैठकमा विधिवत् प्रतिवेदन पेस गर्न समितिलाई अख्तियारी दिएका हुन्।
समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा.डा. मनोज हुमागाईं, स्कुल अफ लका डीन डा. ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्रा.डा. राजीब श्रेष्ठ छन्।
२०५९ चैत १९ गतेको आपसी सम्झौताका आधारमा सहकार्यमा रहेका ती संस्थाबीच बेमेल देखिएपछि गत साउन ३० गतेको ९७ औं सभामा कुलपतिका एवं प्रधानमन्त्री ओलीले आपसी संवादबाट समाधान खोज्न गरेको प्रस्ताव पारित भएको उनको सचिवालयले जानकारी दिएको छ।
यसबीचमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको संयोजनमा दुवै पक्षलाई संवाद र सहमतिको विन्दुमा ल्याउन भएका पहल र समाधानको विकल्पका विविध पक्षबारे आजको बैठकमा छलफल भएको सचिवालयले बताएको छ।
आर्थिक र कर्मचारी नियमावलीसँग बाझिने गरी विश्वविद्यालयले एकपक्षीयरूपमा निर्णयहरू गरेको भन्दै अस्पतालले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो।
यसैबीच विश्वविद्यालयको पछिल्लो दीक्षान्तको ग्रेस लिष्टमा अनुत्तीर्ण सात विद्यार्थीको नाम समावेश भएको पाइएकाले सोमबारको बैठकले ग्रेस लिष्ट सच्याइउने निर्णय गरेको छ।
विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेले ती विद्यार्थीको नाम कसरी सूचीमा पर्न गयो भन्नेबारेमा छानबिन सुरू भएको र ती विद्यार्थीले प्रमाणपत्र नलिएको बैठकलाई जानकारी गराएका छन्।