राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालयको सोमबार दिउँसो बसेको आकस्मिक बैठकले तीनवटा निर्णय गरेको छ।
बैठकमा पार्टी सभापति रवि लामिछानेविरूद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
सभापति लामिछानेविरूद्ध मुद्दा दर्ता गरिएको सम्बन्धमा अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय भएको उनले बताए। यस मुद्दामा सम्मानीत न्यायालयबाट न्याय पाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण विश्वास राख्ने पनि उनले बताए।
पार्टी सभापति रवि लामिछानेको सिफारिसमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई पार्टीको कार्यवाहक सभापति तोकिएको जानकारी बैठकलाई गराइएको पनि झाले बताए।
‘यस सम्बन्धमा सम्बन्धित सबैमा जानकारी गराउने निर्णय गरियो। पार्टी विधान २०७९ (संशोधन २०८१) को धारा २५ (४) (क) (९) बमोजिम पुस ६ गते पार्टी सभापतिले उनलाई कार्यवाहक सभापति तोकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहवरमा कार्यवाहक महामन्त्रीमार्फत् केन्द्रीय समितिलाई जानकारी गराइएको छ। उक्त पत्रमा पार्टी सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुहुने अपेक्षासहित शुभकामना समेत व्यक्त गर्नुभएको छ,’ झाले विज्ञप्तिमार्फत् भनेका छन्।
बैठकले पार्टीको आगामी केन्द्रीय समितिको बैठक यथाशीघ्र राख्ने गरी तयारी गर्ने निर्णय गरिएको उनले बताए।