नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नुवाकोटको शेरा दरबारको जग्गामा माओवादीलाई जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।
झापाको गौरीगञ्जमा सोमबार भएको पार्टीको सम्मेलन र खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गामा माओवादीलाई जोडेर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
‘हाम्रो पार्टी १२, १५ वर्षअघि छाडिसकेका मान्छेको जग्गाको विषय ल्याएर माओवादीको मानिस रहेछ भनेर शेरा दरबारमा प्रचार गरिएको छ,’ प्रचण्डले भने, ‘योभन्दा बेइमानी केही हुनै सक्दैन।’
उनले भ्रष्टाचार र बेथितीमा पार्टीका नेताहरू जोडिएको पाइएमा छुट नदिइने बताए। आफू प्रधानमन्त्री हुँदा माओवादीका नेताहरूलाई पनि विभिन्न अनुसन्धानको दायरामा ल्याएको उनको भनाइ छ।
‘अनुसन्धानमा ल्याउनुपर्ने कोही देखिए भने हाम्रै पार्टीका र मलाई पनि नछोड्न्नुस् भनेर सिआइबीलाई निर्देशन दिने मै हुँ,’ उनले भने।
शेरा दरबारको जग्गा सरकारको भए तुरून्तै सरकारका नाममा ल्याउन पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई उनले चुनौती दिएका छन्।
‘ओली सरकारलाई म चुनौती दिन चाहन्छु, शेरा दरबारको जग्गा सरकारको हो भने तुरून्त सरकारमा ल्याऊ, मेरो पूरै साथ हुनेछ। तर राजनीतिमा बेइमानी प्रचार नगरौं,’ अध्यक्ष प्रचण्डले भने।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ (साविक भैरवी गाविस ७) मा रहेको शेरा दरबार पृथ्वीनारायण शाहको पालामा बनेको थियो।
यहाँ दरबार र जग्गा गरी कुल १८४ रोपनी चार आना क्षेत्रफलको जग्गा छ। दरबारको जग्गा कुनै एक कम्पनीका नाममा नियन्त्रणमा रहेको विषय बाहिर आएको थियो।
यो पनि: शेरा दरबारबारे गृहमन्त्रीले लिए आइजिपी कुँवरसँग ब्रिफिङ