पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमबीच भेटवार्ता भएको छ।
मंगलबारको भेटवार्तापछि भट्टराई र गौतमले तस्बिरसहित सामाजिक सञ्जाल फेसबुक लगायतमा केही कुरा पोस्ट गरेका छन्।
भट्टराईका अनुसार देशको अर्थ-राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्यलगायत विविध विषयमा उपयोगी विमर्श भएको हो।
साथै गौतमले संवाद नेपालको वर्तमान राजनीतिक अवस्था, राजनीतिक प्रणाली र अभ्यासका त्रुटि बारेमा केन्द्रित रहेको उल्लेख गरेकी छन्।
वर्तमान संसदीय अभ्यासको औचित्य र सुधारात्मक बाटोबारे आफूहरूबीच साझा बुझाइ रहेको पनि उनले बताएकी छन्।
‘नेपाली राजनीतिका विविध आयाममा देखिएका समस्याको समाधान केन्द्रित विचार-विमर्शले कहिँ त पुर्याउँछ तर नेपालमा हाल जारी रहेको व्यक्ति केन्द्रित प्रतिशोधको राजनीतिले कहाँ पुर्याउला?,’ उनले भनेकी छन्, ‘देश बचे पक्ष-विपक्ष, देशै नरहे के सत्ता पक्ष, के प्रतिपक्ष!’
यसअघि कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भट्टराईले भेटेका थिए।