जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले नेपालमा धेरै जातजाति, भाषाभाषीहरू हुनु कमजोरी नभएको बताएका छन्।
बुधबार माइतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले धेरै भेषभूषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पत्ति भएको उल्लेख गरे।
उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए। उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नो पोशाक लगाई पोशाक दिवस मनाउनुपर्ने बताए। उनले अरूलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए।
उनले भने, ‘नेपाल विविधतापूर्ण देश हो। यहाँ अनेकौं, जातजातिहरू, भाषाभाषीहरू, भेषभूषा भएका मानिसहरू छन्। हाम्रो लागि त्यो कमजोरी होइन। यो हाम्रो लागि सम्पत्ति हो। यो सबैलाई हामीले सम्मान गर्नुपर्छ। त्यही आशयले हामी आज राष्ट्रिय पोशाक दिवस मनाउँदै छौं। नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्ठा गरियो। लामै संघर्ष गर्यौं। त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ। त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौं। आज कुनै एकल जातजातिको मात्रै भेषभूषा मनाउने दिवस होइन। सबैले आफ्नो मौलिक भेषभूषा लगाउने हो।’
राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरू धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए। उनीहरूले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लाकार्डसहित प्रदर्शन गरेका थिए। —न्युज एजेन्सी नेपाल