काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत दुरूपयोगसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका वकिलहरूले बहस गरेका छन्।
गत आइतबार लामिछाने जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए। त्यस दिन लामिछानेसँग बयान लिइएको थियो। सोमबारदेखि भने थुनछेक बहस सुरू भएको थियो।
पहिले सरकारी वकिलहरूले बहस गरेका थिए। त्यसपछि सहकारी पीडितका तर्फका वकिलहरू र बुधबार लामिछाने पक्षका वकिलहरूले बहस गरेका हुन्।
सरकारी र सहकारी पीडितका तर्फका वकिलहरूले लामिछाने जोडिएको मुद्दालाई गम्भीरतापूर्वक हेरिनुपर्ने माग गरेका थिए भने लामिछाने पक्षका वकिलहरूले भने बोलाएको बेला हाजिर हुने गरी लामिछानेलाई छाड्न माग गरेका छन्।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भएको हो।
बुधबार लामिछाने पक्षका वकिलहरू रमण श्रेष्ठ र सुशील पन्तले बहस गरेका हुन्।
अधिवक्ता श्रेष्ठले स्वर्णलक्ष्मी सहकारीको मुद्दामा लामिछानेमाथि माग गरिएको बिगोको हिसाब नै नमिलेको बताएका थिए।
उनले लामिछाने अमेरिकाबाट स्वदेश फर्केको, विवाह गरेको, पार्टी घोषणा गरेको, सांसद निर्वाचित भएको, नागरिकतामा कैफियत देखिएर उपप्रधान, गृहमन्त्री र सांसद पदसमेत खारेज भएको, पुन: चुनाव भई लामिछाने सांसद निर्वाचित भएको र उपप्रधान तथा गृहमन्त्री बनेको, गोर्खा मिडियाको सेयरका लागि निवेदन दिएकोजस्ता विभिन्न घटनाक्रमका मितिहरू सुनाएका थिए।
‘लामिछानेलाई दुषित मनसायले मुद्दा लगाउने काम भएको छ। जिबी राईले गरेका सबै काम लामिछानेलाई जोडिएको छ जबकि लामिछाने सहकारी सदस्य पनि छैनन्,’ श्रेष्ठले भने, ‘गोर्खा मिडियामा सहकारीको पैसा आएको भन्ने छ, कम्पनीका नाममा जम्मा गरेको पनि ठगी हुन्छ र?’
सहकारीबाट ठगी गरेर गोर्खा मिडियामा पैसा ल्याएको कुरा अभियोगकर्ताले पुष्टि गर्न नसकेको पनि उनले दाबी गरेका थिए। ‘जिबीले गरेका काम पनि रविले नै गरेकोजस्तो गरी भास्य निर्माण गर्न खोजिएको छ,’ उनले भने, ‘रविलाई धरौटी माग गर्न पनि अन्याय हुन्छ, आवश्यक पर्दा बोलाउने गरी छाडियोस्।’
लामिछाने पक्षका अर्का अधिवक्ता सुशील पन्तले पनि लामिछानेले प्रमाण नष्ट गर्न नसक्ने भएकोले बोलाउने बेला हाजिर हुने गरी छाड्न माग गरेका थिए।
कास्कीको सुर्यदर्शन सहकारीबाट ६५ लाख रुपैयाँ धरौटीमा छुटेपछि लामिछाने जिल्ला अदालत काठमाडौंमा आफै हाजिर भएको उनले बताए।
‘सहकारी ठगी मुद्दा भनिएको छ तर ठगिने र ठग्नेबीच सम्बन्ध देखिँदैन, सहकारीको पैसा आएको गोर्खा मिडियालाई प्रतिवादी किन बनाइएन?,’ उनले प्रश्न गरे, ‘लिखित गरेको छ भने कानुनले पनि ठगी मान्दैन।’
उनले स्वर्णलक्ष्मी सहकारीमा लामिछानेसँग माग गरेको बिगोबारे पनि प्रश्न उठाए।
‘स्वर्णलक्ष्मीलाई भुक्तान गरेको रकम पनि बिगोमा राखिएको छ, त्यो किन हो? भुक्तान गरेको रकम पनि रविको पेटमा गयो?,’ उनले प्रश्न गरे।