हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।
शुक्रबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै तराइका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।
दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।