अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालीन राष्ट्रपति जोन एफ. केनेडी, उनका भाइ सिनेटर रोबर्ट एफ. केनेडी र मार्टिन लुथर किङ जुनियरको हत्यासम्बन्धी सबै गोप्य सरकारी दस्तावेजहरू सार्वजनिक गराउन निर्देशन दिएका छन्।
उनले ती गोप्य दस्तावेजहरू सार्वजनिक गर्ने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेर सुरक्षा निकायहरूलाई त्यस्तो निर्देशन दिएका हुन्।
तत्कालीन राष्ट्रपति केनेडीको १९६३ मा गोली हानी हत्या गरिएको थियो। सन् १९६८ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेदवारी जित्ने प्रबल दाबेदार मानिएका उनका भाइ रोबर्टको १९६८ मा गोली हानेरै हत्या गरिएको थियो। काला अमेरिकीका लागि पनि समान अधिकारको अभियान चलाएका किङलाई पनि १९६८ मै गोली हानेर हत्या गरिएको थियो।
राष्ट्रपति केनेडीको हत्या सिआइएले गराएको भनेर त्यतिबेलैदेखि हल्ला चल्ने गरेको छ। तर त्यससम्बन्धी गरिएको आधिकारिक छानबिनले ली हार्वी ओस्वाल्डले एक्लैले मारेको निर्क्यौल निकालेको थियो।
सन् १९६१ मा सिआइएको नेतृत्वमा क्युवामा फिडेल क्यास्ट्रोको कम्युनिष्ट शासन ढाल्न भएको असफल बे अफ पिग्स हमलापछि त्यसैवर्षदेखि कार्यभार सम्हालेका राष्ट्रपति केनेडीको सिआइएसँगको सम्बन्ध एकदमै खराब भएको थियो।
अर्को वर्ष तत्कालीन सोभियत संघले अमेरिका नजिकैको क्युबामा आणविक हतियार राखेपछि भएको ‘क्युबन मिसाइल क्राइसिस’का क्रममा त्यो सम्बन्धमा केही सूधार आएको थियो। खुफिया एजेन्सीहरूले समयमै सोभियत संघले हतियार पठाइरहेको सूचना दिएर केनेडीलाई मद्दत गरेका थिए।
तर पनि उनको सिआइएसँग सम्बन्ध राम्रो नरहेको भन्दै सिआइएले नै उनको हत्या गराएको हल्ला आजसम्म पनि चल्ने गर्छ। ट्रम्पले पहिलेदेखि नै केनेडीको हत्यामा सिआइएको संलग्नता रहेको हुनसक्ने भन्ने गरेका छन्।
आफ्नो ठूलोबुवालाई सिआइएले मारेको ठोकुवा गर्ने र बुवाको हत्यामा पनि उसको संलग्नता हुनसक्ने भन्ने रोबर्टका छोरा रोबर्ट एफ. केनेडी जुनियरलाई ट्रम्पले स्वास्थ्य मन्त्रीका लागि चयन गरेका छन्।
आफ्नो ठूलो-बुवाको हत्यासम्बन्धी खुलासा गर्नकै लागि भनेर रोबर्टले सिआइएमा पहिले काम गरेकी आफ्नी बुहारी एमरिलीस फक्सलाई सिआइएको उप-प्रमुख बनाउन खोजेका थिए। तर ट्रम्पले उनलाई नियुक्त गरेनन्।
केनेडीको हत्यामा सिआइएको संलग्नता लगायत धेरै खाले हल्ला चलेपछि १९९२ मा बनेको कानूनले राष्ट्रिय सुरक्षालाई हानी हुने संवेदनशील सूचना बाहेक अरू सबै दस्तावेज २५ वर्ष भित्र सार्वजनिक गर्नुपर्ने भन्यो।
त्यसको २५ वर्ष पुग्दा २०१७ मा ट्रम्प आफ्नो पहिलो कार्यकालमा भर्खरै राष्ट्रपति भएका थिए। उनले त्यस सम्बन्धी झण्डै तीन हजार गोप्य कागजातहरू सार्वजनिक गरेका थिए। खुफिया निकायहरूले अरू संवेदनशील सूचनाहरू सार्वजनिक नगर्न आग्रह गरेकाले उनले बाँकी दस्तावेजहरू सार्वजनिक गरेका थिएनन्।
उनी पछि राष्ट्रपति बनेका जो बाइडेनले २०२३ मा अरू धेरै दस्तावेजहरू सार्वजनिक गरे। तर उनले पनि करिब २१०० दस्तावेज सार्वजनिक गरेनन्। त्यसबाहेक झण्डै २५०० दस्तावेज पनि अदालतको आदेश, गोपनीयता सम्बन्धी सीमा लगायत कारणले गर्दा राष्ट्रपतिले सार्वजनिक गर्न मिल्दैन भनिन्छ।
ट्रम्पले बिहीबार त्यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेर आफ्ना महान्यायाधिवक्ता र खुफिया अधिकारीहरूलाई १५ दिनभित्र त्यस सम्बन्धी सबै दस्तावेजहरू सार्वजनिक गर्ने योजना प्रस्तुत गर्न निर्देशन दिएका छन्।
त्यस्तै ४५ दिनभित्र रोबर्ट र किङको हत्या सम्बन्धी सबै दस्तावेजहरू सार्वजनिक गर्ने योजना पनि ल्याउन आदेश दिएका छन्। रोबर्ट र किङको हत्यामा भने सिआइएको संलग्नताबारे केनेडीको हत्याको जस्तो हल्ला चलेका छैनन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)