नेपाली कांग्रेसले पार्टी एक ढिक्का रहेको सन्देश दिन संसद बैठकअघि पूर्वतयारी गरेको छ।
समसामयिक राजनीति, एमालेसँगको समीकरण र सरकारका कामकारबाही लगायतबारे असन्तुष्टि भए पार्टीकै आन्तरिक फोरममा राख्न सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्।
कांग्रेसले शनिबार संसदीय दल कार्यसमिति, पदाधिकारी र मन्त्रीहरूसँग छलफल गर्यो।
छलफललाई आइतबार पनि निरन्तरता दिएको कांग्रेसले संसदीय दल बैठक राखेर सरकारले ल्याएका पाँच वटा अध्यादेशका अन्तरवस्तुबारे सांसदहरूलाई पढाएको छ।
यो क्रम सोमबार पनि चल्नेछ।
सोमबार भने सांसदहरूले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्दै संघीय सरकारमा गएका १० मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारका कामकारबाही केन्द्रित प्रश्न सोधेर जबाफ खोज्नेछन्।
संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक यही माघ १८ गते बस्दैछ। संसद बैठकमा पार्टीका सांसदहरू एकैस्वर र एकढिक्का रहेको सन्देश दिन कांग्रेसले निरन्तर कार्यक्रम गरिराखेको हो।
‘पार्टीभित्र धेरै विषयमा छलफल हुन सक्छ, वादविवाद हुन सक्छ, मतमतान्तर पनि हुन सक्छन्, त्यस विषयमा आन्तरिक रूपमा व्यापक र गहन छलफल गर्दैछौं,’ प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने, ‘आन्तरिक बैठकमा नेतृत्वको आलोचना गर्न पाइन्छ, कुरा उठाउन पाइन्छ। तर पार्टीले अन्तिममा एउटा निष्कर्ष निकाल्छ, कांग्रेसमा प्राय सहमतिमै निर्णय हुने गरेको छ। त्यो निर्णयलाई बोकेर हिँड्नुपर्ने जबाफदेहीता पदाधिकारी, सांसद, नेता र कार्यकर्ताको पनि हुन आउँछ।’
पार्टीका आन्तरिक बैठकमा आफूलाई लागेका कुरा उठान गर्न पाइने पनि घिमिरेले बताए।
‘सांसदहरूका लागि फ्लोर ओपन भइसकेको छ, सोमबार उहाँहरूले आफ्ना कुरा राख्नुहुन्छ, मन्त्रीहरू र नेताहरूले त्यसमा जबाफ दिएपछि यो टुंगिन्छ,’ प्रमुख सचेतक घिमिरेले भने।
आइतबारको संसदीय दल बैठकमा प्रमुख सचेतक घिमिरेले बैठकका उद्देश्यबारे प्रकाश पारेका थिए।
महामन्त्री गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुझाव दिन कांग्रेस-एमालेले बनाएका संयन्त्र र त्यसले गरेका कामबारे सांसदहरूलाई ब्रिफिङ गरे भने गृहमन्त्री रमेश लेखकले सरकारले गरिराखेका कामकारबाही र सरकारले ल्याएका अध्यादेशबारे कुरा राखेका थिए।
साथै संयन्त्रको कार्यादेशअनुसार कानुनी सुधारका लागि काम गरेका योजनाविद् प्रताप पौडेल, अधिवक्ताहरू सेमन्त दाहाल र अरूण पौडेलले अध्यादेशका अन्तरवस्तुबारे सांसदहरूलाई जानकारी गराएका हुन्।
यो पनि: गगन र शंकरको टिमले तयार गरेको सुधारका सूची
‘अध्यादेश ल्याउनुपर्ने आवश्यकता किन थियो, अध्यादेशका अन्तरवस्तु के-के छन् र अन्तरवस्तुमा समस्या छन् भने पनि त्यसमा खुलेर कुरा राख्ने काम भयो,’ प्रमुख सचेतक घिमिरेले भने।
कांग्रेसले संसदीय समितिहरूमा विचाराधीन विधेयकहरूबारे पनि छलफल गर्दै अब यी विधेयक तीव्रताका साथ अघि बढाउनेबारे पनि छलफल गरेको छ।
साथै समसामयिक राजनीतिक घटनाक्रममा पनि नेताहरूले धारणा राखेका छन्।
सांसद रामहरि खतिवडाका अनुसार आगामी अधिवेशनमा कांग्रेस एक भएर अघि बढ्नेछ।
‘आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दा उठान गर्नेछ’, संसदीय दल बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘२०८४ सम्म यो एमालेसँगको समीकरण अघि बढ्छ भन्नेबारे पनि छलफल भएको छ।’
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार धेरै नटिक्ने दाबी गर्दै आएकोले कांग्रेसले सदनमा आफ्ना सांसदहरूको स्वर एकै बनाउने र एकढिक्का रहेको सन्देश दिन खोजेको छ।
सरकारले आवश्यकता र औचित्यका भरमा विगतमा पनि अध्यादेश ल्याएको र अहिले पनि सरकारले अध्यादेश ल्याएको उनले बताए।
अध्यादेशलाई लिएर केही नेताले गरेका थिए विरोध
कांग्रेसका कतिपय नेताहरूले कांग्रेस सम्मिलित सरकारले अध्यादेश ल्याउने निर्णय गरेकोमा विरोध गरेका थिए।
नेता शेखर कोइरालाले माघ ९ गते विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यादेशका अन्तरवस्तु (कन्टेन्ट) खराब नरहे पनि गलत प्रक्रियाबाट ल्याइएको भन्दै विरोध गरेका थिए।
‘अध्यादेशको भित्रको कन्टेन्टहरू खराब छैन, धेरै अध्यादेशहरू ठिकै छन्, राम्रै छ भन्छु म। तर संसद बोलाएर गर्नुपर्थ्यो नि त, कांग्रेस र एमालेको बहुमत छ। बहुमतले पास गर्ने हो नि, दुई तिहाइ त चाहिँदैन ऐन बनाउन,’ कोइरालाको भनाइ थियो।
केन्द्रीय सदस्य एनपी साउदले बुटवलमा आयोजित कार्यक्रममा अध्यादेशबाट कानुन बनाउने विषयलाई सकारात्मक मान्न नसकिने बताएका थिए। ‘अध्यादेशबाट कानुन बनाउनु संविधानसम्मत छैन,’ साउदले भनेका थिए।
सांसदहरूले माघ १८ देखि सुरू हुने संसद बैठकमा पनि अध्यादेशबारे कुरा राख्न सक्ने भएकोले कांग्रेसले पहिले नै मन माझामाझ गर्न आन्तरिक बैठक राखेको हो।