नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा विवाद हुँदा काठमाडौंमा मतगणना सुरू हुन सकेको छैन।
शनिबार मतदान सम्पन्न भएकामध्ये भूगोलका सात प्रदेशको गणना सकिइसकेको छ। तर गैरभूगोलका उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको गणना भने सुरू नै हुन सकेको छैन।
काठमाडौंको भृकुटीमण्डपमा रहेको वाल्मीकि क्याम्पसमा दुई प्रदेशको मतदान भएको थियो। त्यहाँ ५२२ मत खसेको छ। मतदान सकिएर गणना सुरू गर्ने छलफल क्रममा भएको विवाद अहिलेसम्म समाधान नहुँदा तीन दिनदेखि मतपेटिका वाल्मीकिमा थन्किएको हो।
शनिबार मतगणना सुरू गर्न अध्यक्षका उम्मेदवार र प्रतिनिधिसँग निर्वाचन समितिले छलफल गरेको थियो। छलफल क्रममा सदर मत र बदर मत कस्तोलाई मान्ने भन्ने विषयमा प्रतिनिधिहरूबीच कुरा मिलेन।
त्यसमा विवाद आउनुको कारण मतदानमा मतदाताले प्रयोग गरेको मसी हो।
अखिल (क्रान्तिकारी)को निर्वाचन निर्देशिकामा मतदानका लागि कस्तो मसी प्रयोग गर्ने भनेर तोकिएको छैन। त्यसैले निर्वाचन समितिले वाल्मीकिमा मतदानका लागि रातो साइनपेन राखिदिएको थियो। छलफल क्रममा एक प्रतिनिधिले मतदानका क्रममा केही विद्यार्थीले आफैले ल्याएको कलमले रेजा लगाएको पाइएको बताएका थिए। केहीले त सुरूमा आफूले ल्याएको कलमले रेजा लगाएको र पछि बुथमा खटिएका प्रतिनिधिले भनेपछि मात्रै रातो प्रयोग गरेको विषय समेत छलफलमा उठेको थियो।
त्यसो हुँदा केहीले फरक मसी प्रयोग गरेको तथा केहीले दुवै मसी प्रयोग गरेको खुलेको थियो। त्यस्तो भेटिए के गर्ने भनेर निर्वाचन समितिले उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल गरेको थियो।
छलफलका क्रममा रातो मसीबाहेक अरू मसीको हकमा मतपत्रमा एउटै मसी प्रयोग भएको छ भने त्यसलाई सदर मान्ने भन्ने पक्ष एउटा देखियो भने रातो मसीबाहेक अर्को मसी प्रयोग भएकोलाई बदर मान्नुपर्ने अडान अर्कोले राख्यो।
अध्यक्षमध्येका तीन प्रत्यासीहरू; हेमन्त राई, सुदिन पौडेल र उपदेश यादवका प्रतिनिधि एउटै मसी प्रयोग भएको मतपत्र मात्रै सदर गर्नुपर्ने पक्षमा थिए भने विजयप्रकाशका प्रतिनिधिहरूले रातोबाहेक एउटै मसीले रेजा लगाएका छन् भने त्यस्तोलाई पनि सदर गर्नुपर्ने अडान राखे।
'तीन उम्मेदवारहरू एक ठाउँमा हुँदा उहाँहरूले अडान नछाडेपछि विवाद सुरू भयो। त्यसमा सहमति नजुट्दा गणना अझै सुरू हुने अवस्था छैन,' अध्यक्षका उम्मेदवार उपदेश यादवले सेतोपाटीसँग भने।
सदर र बदर मतबारे दुइटा तर्क आएपछि निर्वाचन समितिले छुट्टाछुट्टै छलफल पनि गरेको थियो।
'तर त्यसरी पनि निकास निस्किएन। उल्टै झडपको अवस्था सिर्जना भएपछि हामीले प्रहरीलाई बोलाएर सबै प्रतिनिधिको रोहबरमा मतपेटिकालाई सिल गरी सुरक्षित गर्यौं,' निर्वाचन समितिका एक प्रतिनिधिले भने।
त्यसपछि निर्वाचन समितिले विज्ञप्ति जारी गरी आइतबार बिहान ११ बजेदेखि मतगणना सुरू हुने बताएको थियो।
'त्यतिन्जेलसम्म दुईपक्ष एउटा निष्कर्षमा पुग्ने अनुमान थियो तर सहमति नजुट्दा निर्धारित समयमा मतगणना सुरू हुन सकेन,' ती सदस्यले भने।
आइतबार पनि मतणना सुरू नभएपछि निर्वाचन समितिले अर्को सूचना जारी गरी सोमबार मध्याह्न १२ बजेदेखि मतगणना सुरू हुने जानकारी गराएको थियो। तर सोमबार पनि मतगणना सुरू हुन सकेन।
सोमबार विवाद समाधान गरी पेरिसडाँडामा मतगणना गर्ने तयारी थियो। त्यसका लागि मतगणनास्थलमा रहने केही प्रतिनिधिहरू पेरिसडाँडा समेत पुगेका थिए।
'सहमति भयो, मतगणना केन्द्रीय कार्यालयमा सुरू गर्ने भनिएको थियो। सोही अनुसार हामी यहाँ आयौं। सबै तयारी पनि गरिएको रहेछ। तर मतपेटिका वाल्मीकिबाट यता ल्याउनै दिइएन,' एक प्रतिनिधिले भने।
अध्यक्षका उम्मेदवार उपदेश यादव विवाद थाति राखी बाकस मात्रै सारेर मतगणना सुरू हुने अवस्था नरहने बताउँछन्। 'त्यसैले पहिले सहमति गर्नुपर्छ भनेर दिनभरि छलफल भयो तर मतैक्य हुन सकेन,' अध्यक्षका उम्मेदवार यादवले भने।
'मतपत्रमा रातोबाहेकका अरू मसी प्रयोग छ भने त्यसलाई बदर गरौं भनेका हौं। त्यति सामान्य विषयमा विवाद झिक्नु आवश्यक थिएन,' उनले अगाडि भने।
प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले सहमति जुटेपछि मतगणना सुरू हुने बताए।
'सहमति हुन्छ। फरक-फरक पार्टी पनि होइन। एउटै पार्टी भएकाले सहमति नहुने भन्ने हुँदैन। हामीले सहमति गर्नू भनेर समय दिएका छौं। त्यो भएपछि गणना सुरू हुन्छ,' उनले भने।
सात प्रदेशको गणना सकिँदा सापकोटा र राईबीच टक्कर
भूगोलका सात प्रदेशको गणना हुँदा अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा टक्कर देखिएको छ।
सापकोटा ४८५ र राईले ४६१ मत ल्याएका छन्। त्यस्तै उपदेश यादवले २२१ र सुदिन पौडेलले १४४ मत प्राप्त गरेका छन्।
विजय प्रकाश सापकोटाले कोशीमा ५७, मधेसमा ४२, बागमतीमा ८७, गण्डकीमा ६०, लुम्बिनीमा ८७, कर्णालीमा ८० र सुदूरपश्चिममा ७२ मत पाएका छन्।
हेमन्त राईले कोशीमा १२६, मधेसमा ४१, बागमतीमा ४८, गण्डकीमा ३९, लुम्बिनीमा ६६, कर्णालीमा ८२ र सुदूरपश्चिममा ५९ मत पाएका छन्।
त्यस्तै उपदेश यादवले कोशीमा ५१, मधेसमा ६७, बागमतीमा ५१, गण्डकीमा १४, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा २३ मत ल्याए।
सुदिन पौडेलले कोशीमा १९, मधेसमा १, बागमतीमा १७, गण्डकीमा ६१, लुम्बिनीमा २२, कर्णालीमा ८ र सुदूरपश्चिममा १६ मत ल्याए।
अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत चयन गर्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले भरमग्धुर प्रयास गरेका थिए। त्यसका लागि उनले अध्यक्षका आकांक्षीहरूलाई खुमलटार नै बोलाएर छलफल गरेका थिए। सहमति नजुटेपछि प्रचण्डले उम्मेदवारहरूलाई प्रतिस्पर्धाका आधारमा नेतृत्व छान्न निर्देशन दिँदै विद्यार्थीको चुनावमा पार्टीको पदाधिकारीले हस्तक्षेप नगर्ने भनेका थिए।
तर मनोनयन दर्तासम्म पुग्दा पदाधिकारी तहका नेतैपिच्छेका उम्मेदवार खडा गरियो।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षले उपदेश यादवलाई अघि सार्यो। उपाध्यक्ष कृष्णबहादुर महरा पक्षले योगेन्द्र बुढालाई, पम्फा भूसाल पक्षले विश्वमणि थापा, उपमहासचिवहरू वर्षमान पुन पक्षबाट सुदिन पौडेल, जनार्दन शर्मा पक्षले हेमन्त राई र शक्ति बस्नेत पक्षले विजय सापकोटालाई अघि सारेको थियो।
दाबी विरोध र उम्मेदवारी फिर्तासम्म आइपुग्दा विश्वमणि र योगेन्द्रले फिर्ता लिएर विजय प्रकाशलाई समर्थन गरेका थिए। उनीहरूलाई हेडक्वार्टरकै आग्रहमा उम्मेदवारी फिर्ता गराइएको थियो।