हेडक्वार्टरले हस्तक्षेप नगरेको भए नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले गत असोजमै नेतृत्व पाइसकेको हुन्थ्यो।
सकसपूर्ण तरिकाले चार महिनापछि नेतृत्व चयनको निर्वाचन गरेको अखिल (क्रान्तिकारी) ले परिणाम पाउन उस्तै सकस बेहोर्यो। निर्वाचनको पाँच दिनपछि आएको परिणाममा अध्यक्षमा विजयप्रकाश सापकोटा ६८६ मतसहित निर्वाचित भएका छन्।
उनले निकटमत प्रतिद्वन्द्वी हेमन्त राईलेभन्दा ७१ मत बढी ल्याए। यो परिणामले माओवादी केन्द्र भित्रको शक्ति सन्तुलनमा केही पुराना मानक भत्काएको छ, केही नयाँ मानक स्थापित गरेको छ। त्यसको चर्चा गर्नुअघि पृष्ठभूमि नै हेरौं।
गत असोजमा अखिल (क्रान्तिकारी) को निर्वाचन तय भएको थियो। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को मनमा थिए, तत्कालीन महासचिव दिपेश पुन। प्रचण्डले पुनलाई बोलाएर अब क्रान्तिकारीको अध्यक्ष हुने हो भन्दै तयारी गर्न भनेका थिए।
तर सुन प्रकरण र सहकारी प्रकरण छानबिनमा परेका पुनलाई अखिल (क्रान्तिकारी) को अध्यक्ष बनाउँदा त्यसले संगठनलाई राम्रो नहुने भन्दै पूर्वविद्यार्थी नेताहरूले नै विरोध जनाएपछि अध्यक्ष प्रचण्ड हच्किए।
भोलिपल्टै दिपेशका बुवासमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई बोलाएर अध्यक्ष प्रचण्डले उनलाई अध्यक्ष बनाउन गाह्रो हुने भन्दै सम्झाइदिन आग्रह गरे। त्यसैबेला प्रचण्ड र नन्दबहादुरका बीचमा बरू नन्दबहादुर नै माओवादी केन्द्रको सक्रिय राजनीतिमा आउने र पार्टी उपाध्यक्ष बन्ने समझदारी बन्यो। भलै त्यो समझदारी अझै कार्यान्वयन भएको छैन।
अखिल (क्रान्तिकारी) मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षबाट पवन कार्की, उपमहासचिव वर्षमान पुनबाट ईन्द्र भुसाल, उपमहासचिव जनार्दन शर्माबाट नारायण खनाललगायत नेतृत्वका आकांक्षी थिए। तर त्यसबेला अध्यक्ष प्रचण्डकै आफ्नै उम्मेदवार भएनन्। गुटका नेताहरूलाई विद्यार्थी संगठनको नेतृत्व दिँदाको सकस प्रचण्डले यसअघिका दुई कार्यकालमा ब्यहोरिसकेकाले पनि उनी सचेत देखिन्थे।
त्यसपछि अखिल (क्रान्तिकारी) मा सुरू भएको हो- ३२ वर्षे उमेर हदको बहस।
आफू उम्मेदवार बन्न नसक्ने भएपछि महासचिव दिपेश पुनले उमेर हदमा समेत जान सकिने गरी बैठकमा प्रस्ताव पेस गरे। त्यही बेला अध्यक्ष प्रचण्डले अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशका अध्यक्ष सुदिन पौडेललाई खुमलटारमै बोलाएर ‘अबको अध्यक्ष तपाईं हो, उमेर हदको पक्षमा लाग्नुस्’ भनेका थिए।
हेडक्वार्टरबाटै आश्वासन पाएपछि सम्मेलनमा उमेर हदको बारेमा सबैभन्दा मुखरित पौडेल नै थिए। उपमहासचिवसमेत रहेका सुदिनले यसै वर्ष अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्ष जितेका थिए। ३२ वर्ष माथिकालाई ‘काका समूह’ नामाकरण गर्ने पनि उनै हुन्। उनी सुरूवातदेखि नै प्रष्टै उपमहासचिव वर्षमान पुन पक्षका हुन्।
त्यसपछि काका समूहले उनलाई सबैभन्दा धेरै लक्षित गरे। सबैभन्दा पहिले अध्यक्ष प्रचण्डले पौडेललाई दिने भनेको अध्यक्षको टिकट खोसिदिए। उपमहासचिव शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्यहरू हिमाल शर्मा र पञ्चा सिंहको कार्यदलले हेडक्वार्टरको उम्मेदवार भनेर तत्कालीन सचिव विजय शर्मा सापकोटालाई अघि सारे। त्योसँगै अध्यक्ष प्रचण्डले विद्यार्थी संगठनमा आफ्नै उम्मेदवार पाए भने शक्तिबहादुर बस्नेतले नयाँ गुटको सुरूवात गरे।
औपचारिक रूपमै शक्ति समूहको उदय
२०७४ को भदौमा रञ्जित तामाङ अखिल (क्रान्तिकारी) को अध्यक्षमा निर्वाचित भए। उक्त संगठनमा तामाङ नै पहिलो निर्वाचित अध्यक्ष हुन्। त्यसअघिसम्म माओवादीको विद्यार्थी संगठनमा निर्वाचन गरेरभन्दा पनि सहमतिमै अध्यक्ष बनाउने चलन थियो। त्यसबेला भने प्रभावशाली नेताहरू जनार्दन शर्मा र वर्षमान पुनले आ-आफ्ना उम्मेदवार खडा गरेपछि सहमतिको प्रयास सफल हुन सकेन।
शर्माका तर्फबाट अनिल शर्मा र पुनका तर्फबाट तामाङले गरेको प्रतिष्पर्धामा पुनको नै पल्लाभारी भयो। योसँगै माओवादी केन्द्रमा शर्मा र पुनका आ-आफ्ना गुटहरूको उदय भयो। दुवैतिर नलाग्नेहरूले आफ्नो सम्बन्ध सिधै हेडक्वार्टरमा छ भन्न थाले। उनीहरूले गुटको अभ्यास पार्टीका अरू संगठनहरूमा पनि गर्न थाले।
आफ्ना समकालीन तर फरक समूहको अभ्यास गरिरहेका नेताहरू मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा 'बादल'हरू छुटेर गइसकेकाले पार्टीमा गुट छैन भनिरहेका अध्यक्ष प्रचण्डलाई यसबेला धक्का लाग्यो। उनले त्यसैको क्षतिपूर्तिका लागि भनेर २०७८ असोजमा जनार्दन शर्मा निकट पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाए।
तर यसले विद्यार्थी संगठनमा एकता हैन थप फुट ल्यायो। पञ्चालाई अस्वीकार गर्नेहरूले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकटका पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटीको अभ्यास गरे। यसपटकको निर्वाचनमा पनि श्रेष्ठ, शर्मा र पुनका आ-आफ्नै उम्मेदवार पहिले नै खडा थिए।
केन्द्रीय सदस्यहरू हिमाल शर्मा र पञ्चा सिंहको सहयोगमा अर्का उपमहासचिव शक्ति बस्नेतले अखिल (क्रान्तिकारी) का तत्कालीन सचिव विजय सापकोटालाई अखिल (क्रान्तिकारी) अध्यक्षमा उठाए। उनले जिते पनि। योसँगै अखिल (क्रान्तिकारी) मा शक्ति बस्नेतको गुटको उदय भयो। यद्यपि अध्यक्षमा पराजित भएता पनि अरू पदाधिकारीहरूमा भने उपमहासचिव जनार्दन शर्माकै पल्लाभारी देखिएको छ।
प्रचण्डलाई जनार्दनको टक्कर
पार्टीमा आन्तरिक लोकतन्त्र हुनुपर्ने र त्यसका लागि सबै कमिटीका नेताहरू चुनिएर आउनुपर्ने माग उपमहासचिव जनार्दन शर्माले आठौं महाधिवेशनदेखि नै उठाउँदै आएका छन्।
२०७८ को पुसमा भएको आठौं महाधिवेशनमा उनले महासचिवमा उम्मेदवारी दिन चाहेका थिए। तर महाधिवेशनले अध्यक्षमात्रै टुंगो लगाएर अरू पदाधिकारी पछि छान्ने निर्णय गरेपछि जनार्दनलाई स्वभाविक रूपमा पछि हट्नुपर्यो। त्यसयता पनि उनले पार्टीमा बारम्बार अध्यक्ष प्रचण्डको कार्यशैली र पार्टी सञ्चालन विधिमाथि प्रश्न उठाउँदै आएका छन्।
उनले गत साउनमा भएको स्थायी कमिटी बैठकमा फरक प्रतिवेदननै पेस गरे। अध्यक्ष प्रचण्डसँग स्पष्टै मतभेद राखिरहेका शर्माले यसपटक विद्यार्थीको निर्वाचनमा पनि प्यानल नै उठाइदिए। अध्यक्षमा उनले उठाएका उम्मेदवार हेमन्त राई ७१ मतले पराजित भएका छन् तर अरू पदाधिकारीमा शर्मा प्यानलको नै वर्चश्व छ।
९ मध्ये ५ उपाध्यक्ष, महासचिव, ९ मध्ये ७ उपमहासचिव र ११ मध्ये ६ सचिव र कोषाध्यक्षमा शर्मा पक्षका उम्मेदवारहरूले जितेका छन्। यसले अध्यक्ष प्रचण्डसँग शर्माको नै टक्कर बलियो भएको देखाएको छ।
अखिल (क्रान्तिकारी) मा वर्षमान कमजोर
आन्तरिक बैठकहरूमा अध्यक्ष प्रचण्डले उपमहासचिव वर्षमान पुननिकट सुदिन पौडेललाई अध्यक्ष बनाउने बचन दिएका थिए। प्रचण्डले पौडेलनै आफ्नो पनि उम्मेदवार हुने भन्दै चुनावका लागि तयारी गर्न निर्देशनसमेत दिएका थिए। पुनले पनि अध्यक्ष प्रचण्डले नै चाहेको उम्मेदवारलाई आफूले समर्थन गर्ने प्रतिक्रिया दिँदै आएका थिए। पौडेल अध्यक्ष प्रचण्ड र उपमहासचिव पुनको नै समर्थन पाएपछि ३२ वर्षीय उमरेहदको पक्षमा खुलेर लागे।
तर उमेर हदको पक्षमा परिणाम आएपछि संगठनबाट बिदाइ हुनुपर्ने विद्यार्थी नेताहरूले सुदिनलाई साथ दिएनन्। चार जना अध्यक्षका उम्मेदवारमध्ये सुदिनको सबैभन्दा कम मत आएको छ। मधेसमा त उनको एक मतमात्रै आयो।
अरू पदाधिकारीमा पनि पुन पक्षका नेताहरूले जित्न सकेनन्। उनको पक्षबाट उपाध्यक्षमा एक, उपमहासचिवमा एक र सचि जितेका दुई जना पुन पक्षका हुन्। योसँगै विद्यार्थी संगठनमा २०७४ मा रञ्जित तामाङ निर्वाचित हुँदा प्राप्त गरेको शक्ति पुनले यसपालि भने गुमाएका छन्।
वरिष्ठ उपाध्यक्ष र दुई उपमहासचिव मिले भने हुन सक्छ ‘धोविघाट’ पुनरावृत्ति
माओवादी केन्द्रले आन्तरिक निर्वाचनमार्फत् आफ्ना संगठनमा नेताहरूको शक्तिको लेखाजोखा हम्मेसी गर्दैन। यसपटक विद्यार्थीको निर्वाचनमा भने उसले आन्तरिक लोकतन्त्रको भरपुर प्रयोग गर्यो।
३२ वर्ष मुनिका नेताहरू संगठन हाँक्न सक्ने भएर पनि आए। अध्यक्ष प्रचण्डको पनि साथ पाएका उपमहासचिव शक्ति बस्नेतले गुट बनाएर प्रवेश गरे भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्माको समूह पहिलेदेखि नै सक्रिय थियो।
अध्यक्षमा उपाध्यक्ष पम्फा भूसालले विश्वमणि थापा र कृष्णबहादुर महराले योगेन्द्र बुढालाई उठाएका थिए। उनीहरूले पछि उम्मेदवारी फिर्ता लिए। योसँगै निर्वाचनले माओवादी केन्द्रमा शक्तिको अभ्यास गर्ने विभिन्न गुटहरूको उदय पनि भयो। प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटा पनि यस कुरालाई स्वीकार गर्छन्।
पार्टीभित्र विचार होइन, गुट उपगुट विकास भइरहेको छ। विद्यार्थीको निर्वाचनसम्म आइपुग्दा यो स्पष्टै देखिन्छ,’ सापकोटाले मंगलबार प्रेस सेन्टरको एउटा कार्यक्रममा भनेका थिए। यसको असर सिधै हेडक्वार्टरलाई पर्न सक्ने आकलन माओवादी नेताहरूको छ। शान्ति प्रक्रिया पछि अध्यक्ष प्रचण्डबाट पेलानमा परेका मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापा बादललगायत नेताहरूले उनकाविरूद्ध धोविघाट भेला गरेका थिए।
माओवादी नेताहरूका बीचमा धोविघाट भेलाको प्रसंग अहिले पनि बेला-बेला निस्किन्छ। यसपटक पनि प्रचण्डबाट पेलिएकाहरू एक ठाउँमा भए भने अध्यक्ष प्रचण्डमाथि थप चुनौती थपिन सक्छ। यद्यपि अहिले नै त्यस्तो सम्भावना नभएको माओवादीका नेताहरू बताउँछन्।